बीपी र पुष्पलालका दुस्मनहरू


■ देवप्रकाश त्रिपाठी

काङ्ग्रेस र कम्युनिस्टले यो वर्ष पनि बीपी र पुष्पलालको सम्झना गरे । साउन पहिलो साता दुवै विचारहरूको ‘मुक्ति’ दिवस परेकोले हरेक साल काङ्ग्रेस र कम्युनिस्टका नेता–कार्यकर्ताहरू बीपी र पुष्पलालको भजनकीर्तन गर्छन् र, सालभर बिर्सनका निम्ति दिनभर सम्झना गर्दछन् । नेपालमा जन्मिएका पुरुषमध्ये सबैभन्दा सुन्दर या ‘ह्यान्डसम’ ठानेर तिनको स्मरण गरिएको हो भने त्यसमा टिप्पणी गरिरहनुको औचित्य नरहला । यदि विचार, दर्शन, सिद्धान्त, सङ्घर्ष र तिनले देखेका सपनाका कारण सम्झना गर्नुपरेको हो भने काङ्ग्रेसले बीपी र कम्युनिस्टले पुष्पलालको यसरी धज्जी नउडाइदिएको भए उनीहरूप्रति सच्चा सम्मान गरिएको हुन्थ्यो भन्ने बुझाइ आमनागरिकको छ ।

काङ्ग्रेसले काङ्ग्रेस छोडेको दशक नाघिसकेको छ, बीपीका विचारबाट च्यूत भइसकेको काङ्ग्रेसले कुनै प्रचण्डजस्ता रहस्यमयी पात्रहरूलाई गुरु थापेर यात्रा तय गरिरहँदा कम्तीमा बीपीको नाम लिन छोडिदिएका भए सम्भवतः बीपीप्रति सबैभन्दा सम्मान गरेको ठहर हुन सक्थ्यो । शेरबहादुरदेखि गगनसम्मका अन्तर्राष्ट्रिय खेतालाहरू जसले बीपीको विचार र व्यवहार अनुशरण गर्न कहिल्यै खोजेनन्, जो भूमिगत मालिकको इसारामा ताण्डवनृत्य प्रस्तुत गर्दै छन्, यिनैले बीपीको समेत प्रशंसा गरिदिँदा चार्ल्स शोभराजहरूले भगवान् रामको भक्त भएको दाबी गरेजस्तै देखिएको छ ।

चार्ल्स शोभराजले भगवान् रामको, दीप बस्न्यातले इमान र निष्ठाको, बगरेले खसी–बोकाका जीवनरक्षाको र प्रचण्डले सदाचारका पक्षमा प्रवचन दिँदा उत्पन्न हुने स्तरको ‘इरिट्रेसन’ काङ्ग्रेस नाममा हाल सङ्गठित जमातको अगुवाइ गरिरहेका व्यक्तिहरूले बीपीको स्मरण गर्दा पैदा भएको छ ।

बीपीको राजनीतिक जीवन उतारचढावपूर्ण रह्यो, उनको मूल राजनीतिक विचारदर्शनमा स्थिरता रहे पनि कतिपय विषयमा प्रकट धारणाले बीपीलाई विवादास्पद पनि बनाएको हो । ०१७ सालअघिका बीपी र त्यसपछिका बीपीलाई एकै रूपमा बुझ्न तथ्यहरूले दिँदैन । वि.सं. २०१५ सालसम्मका बीपी केवल प्रजातन्त्रप्रति चिन्तित र चिन्तनशील देखिन्छन्, २०१७ पछिका बीपीले राष्ट्रियता र प्रजातन्त्र दुवैलाई महत्व दिएका छन् । बीपीले राष्ट्रियताको एउटा आधारभूत तत्वका रूपमा राजसंस्थालाई आत्मसात् गरेका छन् र, राजाबाट सर्वाधिक सताइएका बेला राजसंस्थाको अपरिहार्यतालाई उनले अकाट्य महसुस गरेका छन् ।

आफूले अवलम्बन गरेको दर्शन, विचार, सिद्धान्त र मूल्यमान्यताबाट स्खलित भएर काङ्ग्रेस पार्टी कम्युनिस्टको जड्यौरी विचारमा डुबुल्की मार्न पुग्ला भन्ने अनुमानसम्म पनि बीपीले गरेनन् । राजाबाट प्रजातन्त्रलाई चुनौती हुन सक्थ्यो, तर कम्युनिस्टबाट राष्ट्रियता र प्रजातन्त्र दुवै सङ्कटमा पर्न सक्छ भन्ने बीपीको बुझाइ हो ।

२०३९ सालमा बीपीले भनेका थिए, ‘नेपालमा राजतन्त्रको आवश्यकता छ भनेको राजसंस्थासँग पल्टन छ, त्यसकारण राजाको तारिफ गर भन्ने हिसाबमा होइन । किन आवश्यक छ त्योचाहिँ मलाई मात्रै आवश्यकता छैन, हाम्रो पार्टीलाई मात्रै आवश्यकता छैन, देश राख्न खोज्ने हरेकलाई आवश्यक छ ।’ दुईतिहाइ बहुमत प्राप्त सरकारलाई अपदस्थ गरी बिना कुनै गल्ती आठ वर्षसम्म काराबासमा राखेको, स्वदेशमा सहज गतिविधि गर्न नसकिने भएपछि प्रवासमा जान बाध्य हुनुपरेको, मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि पनि अनेकौँ मुद्दामामिला र सास्ती व्यहोर्नुपरेको पृष्ठभूमिमा बीपीलाई सबैभन्दा खाँटी गणतन्त्रवादी बन्ने ‘अधिकार’ थियो । तर, राजाबाट चरम व्यवधान र यातना भोगेपछि पनि बीपीले नेपालमा राष्ट्रियताका निम्ति राजतन्त्रको अपरिहार्यता रहेकोबारे आमनेपाली र संसारकै ध्यानाकर्षण गरे ।

गणतन्त्रबारे जानकारी नभएर, राजासँग डराएर या राजालाई ‘केमोफ्ल्यास’ गर्दै ‘छलाङ मार्ने’ रणनीतिक चाल चलेर बीपीले राजतन्त्रको पक्षमा अभिव्यक्ति दिएका थिएनन् । नेपालमा राजतन्त्र एउटा वैचारिक विषय भएको यथार्थलाई आत्मबोध गर्दै बीपीले राजतन्त्रलाई सैद्धान्तीकरण गरेका हुन् । बीपी कहिल्यै राजावादी थिएनन्, राष्ट्रवादी थिए त्यसैले त्यसैले राजसंस्थाको महत्व बुझ्दथे । बीपी नास्तिक थिए, तर हिन्दूराष्ट्रको अवधारणाविरुद्ध कुनै एजेण्डा उनले ग्रहण गरेनन् । बहुदलीयतामा आधारित संसदीय प्रजातन्त्रप्रति बीपीको अटुट प्रतिबद्धता थियो । समाजवादी कार्यक्रमले पछाडि परेका जनताको मूलप्रवाहीकरण गर्छ भन्ने उनको विश्वास थियो ।

राजनीति पनि कुनै बेला आम्दानीको राम्रो व्यवसाय बन्न सक्छ भन्ने अनुमान बीपीले सायद गरेका थिएनन् । आफ्नो भण्डार रित्याउँदै पार्टी र प्रजातन्त्रको भविष्य सुनिश्चित गर्ने सुवर्णशमशेरजस्ता मानिस काङ्ग्रेसमा हुन्छन् भन्ने महसुस गरेका बीपीले भविष्यमा काङ्ग्रेस र प्रजातन्त्रलाई भँजाएर आफ्नो भण्डार भर्ने मानिसका हालिमुहाली काङ्ग्रेसमा चल्छ भन्ने सङ्केत मात्र पाएको भए गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईले झैँ बीपीले काङ्ग्रेस परित्याग गर्ने थिए कि काङ्ग्रेस पार्टी नै भङ्ग गरिदिने थिए भन्ने विषयलाई अब अनुमान मात्र गर्न सकिन्छ ।

न काङ्ग्रेस पार्टी काङ्ग्रेसजस्तो छ, न कम्युनिस्ट पार्टी नै कम्युनिस्ट आदर्शअनुरूपको व्यवहारमा देखिन्छ । सबै विचार समूहहरू आ–आफ्ना मौलिक पहिचानबाट स्खलित भएका छन् । अचेलका काङ्ग्रेस र कम्युनिस्टका नेता–कार्यकर्ताहरूको सोच, व्यवहार, नैतिकता र आचरण बीपी र पुष्पलालद्वारा प्रतिपादित मूल्य–मान्यताभन्दा ठ्याक्कै विपरीत भएकोले काङ्ग्रेस र कम्युनिस्टले बीपी र पुष्पलाललाई देखाएर आफ्नो व्यवसाय चलाइरहेको अनुभूति गराउँदै छ ।

कुनै बेला काङ्ग्रेस र आफ्नै मुलुकविरुद्ध ज्यालामा खटिएका पराया खेतालाहरूको खेलमैदान बन्ने आभास मात्र पनि भएको भए सम्भवतः बीपीले समयमै इतिहास स्मरणीय कदम चाल्ने थिए । आफूले अवलम्बन गरेको दर्शन, विचार, सिद्धान्त र मूल्यमान्यताबाट स्खलित भएर काङ्ग्रेस पार्टी कम्युनिस्टको जड्यौरी विचारमा डुबुल्की मार्न पुग्ला भन्ने अनुमानसम्म पनि बीपीले गरेनन् । राजाबाट प्रजातन्त्रलाई चुनौती हुन सक्थ्यो, तर कम्युनिस्टबाट राष्ट्रियता र प्रजातन्त्र दुवै सङ्कटमा पर्न सक्छ भन्ने बीपीको बुझाइ हो । काङ्ग्रेस नेतृत्व बीपीको विचार–भावनाप्रति संवेदनशील रहेन । कुण्ठा, प्रतिशोधी भावना र नगदी प्रभावले काङ्ग्रेसलाई यति विचलित र पथभ्रष्ट बनायो कि बीपीद्वारा प्रतिपादित विचार, सिद्धान्त र व्यवहारको अवशेषसम्म उक्त पार्टीमा भेटिँदैन ।

बीपी विचारको अपव्याख्या गर्दै शेरबहादुरदेखि गगनसम्मले बीपीलाई गिज्याइरहेका छन् । काङ्ग्रेस मात्र होइन, कुनै पनि राजनीतिक दल आ–आफ्नो मौलिक विचार र सिद्धान्तको परिधिबाट मुक्त देखिन्छन् । न काङ्ग्रेस पार्टी काङ्ग्रेसजस्तो छ, न कम्युनिस्ट पार्टी नै कम्युनिस्ट आदर्शअनुरूपको व्यवहारमा देखिन्छ । सबै विचार समूहहरू आ–आफ्ना मौलिक पहिचानबाट स्खलित भएका छन् । अचेलका काङ्ग्रेस र कम्युनिस्टका नेता–कार्यकर्ताहरूको सोच, व्यवहार, नैतिकता र आचरण बीपी र पुष्पलालद्वारा प्रतिपादित मूल्य–मान्यताभन्दा ठ्याक्कै विपरीत भएकोले काङ्ग्रेस र कम्युनिस्टले बीपी र पुष्पलाललाई देखाएर आफ्नो व्यवसाय चलाइरहेको अनुभूति गराउँदै छ ।

काङ्ग्रेस–कम्युनिस्टले आफ्नो विचार र व्यवहार यथावत् राख्ने हो भने उनीहरूले पुष्पलाल र बीपीको नाम नलिइदिँदा उनीहरूमाथि न्याय र सम्मान गरेको ठहर्न सक्थ्यो । आफूलाई यस्तै गैरनैतिक एवम् गैरवैचारिक व्यवहारमा राखेर काङ्ग्रेस–कम्युनिस्टले बीपी र पुष्पलालको नाम भजाइरहन्छन् भने काङ्ग्रेस–कम्युनिस्टका नेता–कार्यकर्तालाई ‘फलोअर’ नभई बीपी र पुष्पलालको सबैभन्दा घातक दुस्मनका रूपमा बुझ्नुपर्ने हुन्छ ।

प्रतिक्रिया