भीषण वर्षापछि मकवानपुरमा बाटो अबरुद्ध, गाडी खोलाले बगायो

भीषण वर्षापछि मकवानपुरमा बाटो अबरुद्ध, गाडी खोलाले बगायो


गए रातिदेखि मकवानपुरमा भीषण वर्षा भएको छ । वर्षाले मकवानपुरका कतिपय बाटोहरु अवरुद्ध गरेको जनाइएको छ ।

असारमा आएको बाढीले बगाएर १२ दिनपछि सञ्चालनमा आएको हेटौँडा-पदमपोखरी सडकको डाइभर्सन बगाएपछि पदमपोखरी तथा मनहरि गाउँपालिकाका कतिपय वडाहरुको हेटौँडा आवतजावत बन्द भएको छ ।

त्यस्तै, हेटौँडाको कर्राखोलामा आएको बाढीले एक भारतीय गाडी बगाएको प्रहरीले जनाएको छ । शिवम् सिमेन्टको कच्चा पदार्थ पुऱ्याएर फर्कने क्रममा गाडीलाई खोलाले बगाएको हो । गाडीका चालक तथा सहचालक भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पहिरोका कारण १० दिन अवरुद्ध भएर भर्खरै सञ्चालनमा आएको हेटौँडा फाखेल काठमाडौं सडकखण्ड भने अहिलेसम्म सञ्चालनमै रहेको बताइएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले उत्तरी क्षेत्रमा राति पानी नपरेका कारण अहिलेसम्म बाटो सञ्चालनमै रहेको तर भर्खर पानी पर्न थालेकाले सावधान हुनुपर्ने सुझाव दिएका राससले जनाएको छ । पानी थप केहीबेर परे बाटो अवरुद्ध हुनसक्ने उनको भनाइ छ ।