यस्ता छन् जोनसनसँग जोडिएका महत्वपूर्ण मिति

यस्ता छन् जोनसनसँग जोडिएका महत्वपूर्ण मिति


कन्जर्भेटिभ पार्टी (बेलायत)का नेता बोरिस जोनसनले पार्टीको नेतृत्वका लागि भएको निर्वाचनमा मङ्गलबार विजय प्राप्त गरेपछि उनको चर्चा चुलिएको छ । बोरिसले आज (बुधबार) बेलायती प्रधानमन्त्रीको रूपमा सपथ लिँदैछन् ।

नेता जोनसनको जन्म सन् १९६४ जुन १९ मा अमेरिकाको न्यूयोर्क शहरमा भएको थियो । सन् १९८३ मा एटन कलेजमा विद्यालयस्तरको शिक्षा प्राप्त गरी उनले अक्सफोर्ड बालिओल कलेजबाट चारबर्ष पछि स्नातक पास गरेका थिए । उनले सन् १९८७ देखि करिव दुई बर्ष द टाइम्स पत्रिकामा काम गरे ।

यस्तै, जोनसनले सन् १९८९ देखि १९९४ सम्म टेलिग्राफको युरोपेली संघको सम्वाददाताका रूपमा पनि काम गरेका थिए । यस्तै, उनले सन् १९९९ देखि २००५ सम्म द स्पेक्टेटर नामक खबर पत्रिकामा काम गरे तर सन् २००१ मा नै उनी लण्डन नजिकैको हेन्ली क्षेत्रबाट संसद् सदस्य बनेका थिए । उनी सन् २००५ मा उक्त क्षेत्रबाट पुनः निर्वाचित भए ।

सन् २००८ मा विपक्षी नेता केन लिभिङ्सटनलाई पराजित गर्दै लण्डनको नगर प्रमुख (मेयर) बनेका उनी सन् २०१२ मा पनि लण्डनको मेयरका रूपमा निर्वाचित भएका थिए ।

उनले सन् २०१५ मा अक्सब्रिज र साउथ रस्लीप क्षेत्रबाट संसद््मा प्रतिनिधित्व गरे भने सन् २०१७ मा पनि सोही क्षेत्रबाट निर्वाचित भए ।

सन् २०१६ मा भएको ब्रेक्जिटको पक्षमा मतदान गरेका बेलायतीहरूलाई सक्रिय अभियानका साथ नेतृत्व गरेका उनले तत्कालिन प्रधानमन्त्री डेभिड क्यामरूनको राजिनामापछि भएको सरकारमा विदेशमन्त्रीको जिम्मेवारी सम्हाले । तर प्रधानमन्त्री टरिजा मेका ब्रेक्जिटसम्बन्धी रणनीतिप्रति विमति राख्दै सन् २०१८ जुलाई ९ मा बोरिसले राजीनामा दिए ।

उनी सन् २०१९ को जुलाई २३ अर्थात् हिजो मङ्गलबार प्रधानमन्त्री मेको स्थानमा पार्टी नेताको जिम्मेवारीका लागि निर्वाचित बनेका छन् । आज हुने महारानी एलिजावेथ द्वितीयसँगको भेटघाट र औपचारिक समारोहबीच बोरिस जोनसनले बेलायती प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने कार्यक्रम तय भएको छ ।