‘नेपाल र जर्जिया सम्बन्ध सुमधुर’

‘नेपाल र जर्जिया सम्बन्ध सुमधुर’


परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल र जर्जियाबीच सुमधुर सम्बन्ध रहेको तथा त्यसलाई अझ सुदृढ तुल्याउन दुवै देश क्रियाशील रहेका बताएका छन् । जर्जियाको राष्ट्रिय दिवसका अवसरमा सोमबार राजधानीमा उक्त देशका अवैतनिक वाणिज्यदूत शिवरतन शारडाले आयोजना गरेको स्वागत समारोहमा उनले नेपाल र जर्जियाबीच पहिलोपटक राजनीतिकस्तरमा परामर्श हुनुले दुवै पक्षको क्रियाशीलतालाई प्रतिविम्बित गर्छ भने ।

गणतन्त्रात्मक शासन पद्धति अँगालेका दुवै देशका विकासका आकाङ्क्षा समान रहेका बताउँदै मन्त्री ज्ञवालीले युरोपको पहाडी मुलुक जर्जिया र एशियाको अर्को पहाडी देश नेपालबीच सन् २००५ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता दुवै राष्ट्रले अन्तराष्ट्रिय र क्षेत्रीय मञ्चमा साझा हित एवम् चासोका विषयमा सहकार्य गर्दै आएका बताए ।

पर्यटन, जलस्रोत, जलवायु परिवर्तन, व्यापार तथा लगानीका क्षेत्रमा जर्जिया र नेपालबीच साझेदारीका प्रशस्त सम्भावना रहेका भन्दै उनले सरकारीस्तरमा मात्र नभई जनस्तरमा पनि दुई मुलुकबीचको सम्बन्ध क्रमशः उन्नत हुँदै गएको बताए ,

जर्जियाका परराष्ट्र सचिव अर्चिल जुलियासिभ्लीले जर्जियाको भौगोलिक अखण्डता र सार्वभौमिकताका पक्षमा नेपालले गरेको समर्थनको सराहना गर्दै जर्जियाली पर्यटन व्यवसायी नेपाल आउन इच्छुक रहेको बताए ।

दुवै देशको समान हिमाली संस्कृतिको चर्चा गर्दै उहाँले क्षेत्रीय र अन्तराष्ट्रिय मञ्चमा नेपालसँग निकट सम्पर्क र समन्वयमा रहेर काम गर्न चाहेको बताए । अवैतनिकदूत शारडाले जर्जिया–नेपाल सम्बन्धलाई व्यापार–वाणिज्यका क्षेत्रबाट थप मजबुत तुल्याउन आफू प्रतिबद्ध रहेको बताए ।