कांग्रेसका बागी उम्मेदवार र तिनका समर्थक–प्रस्तावकलाई कारबाही

कांग्रेसका बागी उम्मेदवार र तिनका समर्थक–प्रस्तावकलाई कारबाही


नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले पार्टी अनुशासनविपरीत काम गर्ने १९ जना नेता–कार्यकर्तालाई अभिलेखबाट हटाउने निर्णय गरेको छ । समितिले ०७४ मा भएको तीनै तहका निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवार बनेका र तिनका प्रस्तावक तथा समर्थक बनेका नेता–कार्यकर्तालाई अभिलेखबाटै हटाउने निर्णय गरेको हो ।

सोमबार अनुशासन समिति संयोजक भीष्मराज आङदेम्बेद्वारा हस्ताक्षरित विज्ञप्तिमा पार्टी हितविपरीत काम गरेका नेता–कार्यकर्तालाई नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ३४को उपधारा ४(क) बमोजिम कारबाही निर्णय गरिएको उल्लेख छ ।

आङदेम्बेद्वारा जारी विज्ञप्तिमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवार बन्ने, अन्य पार्टीमा गएर उम्मेदवार बन्ने र प्रस्ताव र समर्थक बन्ने अन्य नेता तथा कार्यकर्ताको नामावली पनि तत्काल केन्द्रीय अनुशासन समितिमा पठाउन पनि जिल्ला समितिहरूलाई पनि निर्देशन गरिएको छ ।