सेनाद्वारा निर्मित पर्खाल र डिप बोरिङ समुदायलाई हस्तान्तरण

सेनाद्वारा निर्मित पर्खाल र डिप बोरिङ समुदायलाई हस्तान्तरण


■ हेमशंकर सिंह, राजविराज

नेपाली सेनाले सप्तरीको महादेवा गाउँपालिका–२ स्थित आधारभूत विद्यालयमा पर्खाल र गाउँमा डिप बोरिङ तथा खानेपानी टयाङ्की निर्माण गरेको छ ।

पृतनापति उपरथी नरेशचन्द्र भट्टले आइतबार एक समारोहबीच डिप बोरिङ, खानेपानी टयाङ्की र पर्खालको उद्घाटनसँगै समुदायलाई हस्तान्तरण गर्नुहुँदै सेना र नागरिकको सम्बन्ध नौलो नभई माछा र पानीको सम्बन्धजस्तै रहेको बताउनुभयो । उहाँले सेना पनि यही समुदायको मानिस भएकोले समुदायलाई हेर्ने पनि हाम्रो धर्म रहेको समेत बताउनुभयो ।

सामाजिक सहयोग कार्यक्रमअन्तर्गत मध्यपूर्व पृतना नं. २७ बाहिनीद्वारा ३५ लाख रुपियाँको लागतमा विद्यालयको पर्खाल र डिप बोरिङ तथा खानेपानी टयाङ्की निर्माण गरी आइतबार हस्तान्तरण गरिएको बाहिनीपति सहायक रथी बाबुराम श्रेष्ठले जानकारी दिनुभयो ।

सेनाद्वारा निर्मित डिप बोरिङ तथा खानेपानी टयाङ्कीको सञ्चालन र संरक्षणको जिम्मेवारी लिन आग्रह गर्नुहुँदै पृतनापति उपरथी नरेशचन्द्र भट्टले स्थानीय समुदायलाई साँचो हस्तान्तरण गर्नुभयो । रु. ३५ लाखको लागत भए पनि नेपाली सेनाको आफ्नै लगानी र श्रमदानबाट निर्मित संरचनाको मूल्यांकन त्योभन्दा निकै बढीको भएको र समयमै सम्पन्न समेत भएको भन्दै स्थानीय जगत पैकराले सेनाको कामको प्रशंसा गर्नुभयो ।

दुई सय ४० फिट गहिरो डिप बोरिङमा ३० फिट उचाइको आरसिसी ओभर हेड ट्याङ्की बनाइएको खानेपानी आयोजना १० हजार लिटर क्षमताको रहेको भिम दल गणका प्रमुख सेनानी गुप्तबहादुर कुँवरले जानकारी दिनुभयो ।

हेड ट्याङ्कीका साथै पाइप बिछ्याई विभिन्न १३ स्थानमा धाराहरु बनाइएको छ । डिप बोरिङ तथा खानेपानी वितरण आयोजनाले महादेवा गाउँपालिका वडा नम्बर २ का पाँच सय परिवार लाभान्वित हुने वडाअध्यक्ष जगदीश मण्डलले बताए ।

यसैगरी भूकम्पले भत्काएको आधारभूत विद्यालयको तीन सय फिट लम्बाई पर्खाल समेत सेनाले बनाएको छ । सोही अवसरमा पृतनापति उपरथी भट्टले स्थानीयवासीलाई दुई थानका दरले सुपानेट झुल जितरण गर्नुभयो । झुल पाँच सय परिवारलाई दुई थानका दरले वितरण गरिने उहाँले जानकारी दिनुभयो ।

गत कात्तिक १८ गते वडा नम्बर २ मा नेपाली सेनाद्वारा सम्पन्न स्वास्थ्य शिविर पश्चात आयोजित अन्तरक्रियामा स्थानीयवासीले खानेपानी र औलोको समस्या समाधान गर्न तथा आधारभूत बिद्यालयको पर्खाल निर्माण गरिदिन अनुरोध गरेका थिए ।

प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले फागुनमा निर्माणका लागि स्वीकृति दिँदै वैशाख १२ गते ३५ लाख बजेट निकासा गरिदिएपछि वैशाख १७ गतेबाट मध्यपूर्व पृतना न. २७ बाहिनीले निर्माण कार्य आरम्भ रहेको हो । मध्यपूर्व पृतनाले ३५ लाखको बजेटमा आफू मातहत रहेको चारवटै गणका नेपाली सेनाको श्रमदानबाट संरचना निर्माण गर्नुका साथै एक हजार सुपानेट झुल खरिद गरी वितरण गरेको हो ।

कार्यक्रममा महादेवा गा.पा.का अध्यक्ष दीपक यादव, प्रधानाध्यापक गंगाराम इसर र स्थानीय सुर्यनारायण अधिकारी लगायतले समेत सेनाको कार्यको प्रशंसा गरेका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, नेपाल प्रहरीका एसपी मनोज कुमार यादव, सशस्त्र प्रहरीका एसपी खेमबहादुर थापा लगायत स्थानिय, संचारकर्मी तथा नेपाली सेनाका विभिन्न ओहदाका अधिकृत तथा जवानहरुको सहभागिता रहेको थियो ।