पाकिस्तानमा दुई आक्रमणमा सातको मृत्यु

पाकिस्तानमा दुई आक्रमणमा सातको मृत्यु


पाकिस्तानको उत्तर पश्चिमी प्रान्त डेरा इस्माइल खानमा आइतबार तालिवान समूहले गरेका दुईवटा आक्रमणमा परी सातजनाको मृत्यु भएको छ ।

स्थानीय प्रहरीका अनुसार कोट्ला सेडानस्थित प्रहरी जाँचचौकीमा तालिवानी बन्दुकधारीले आइतबार बिहान ७ः४५ बजे आक्रमण गर्दा दुई प्रहरीको ज्यान गएको थियो । सोही आक्रमणका क्रममा केही प्रहरी र सर्वसाधारणसमेत घाइते भएका थिए ।

मृतक र घाइतेको उपचारका लागि स्थानीय अस्पतालमा राखिएकोमा त्यहाँ तालिवान समूहमा आबद्ध एक आत्मघाती महिलाले बम विस्फोट गराउँदा अरू दुईजना प्रहरी र तीन सर्वसाधारणको मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त दुवै आक्रमणको जिम्मेवारी पाकिस्तानमा सक्रिय तालिवान समूहले लिएको छ ।

जिल्ला प्रहरी प्रमुख सलिम रियाजले तालिवानको आक्रमणमा ज्यान गुमाएका दुई प्रहरीको शव अस्पतालबाट बाहिर निकाल्ने क्रममा अस्पतालको प्रवेशद्वारमा अर्को आत्मघाती विस्फोट गराइएको बताए । उनले भने– करिब २८ वर्षकी आत्मघाती महिला खाली खुट्टामा अस्पताल परिसरमा आएकी थिइन् । घाइतेहरूमा आठजना प्रहरी र पाँचजना सर्वसाधारण रहेका छन् ।

तेहरिक–ए–तालिबान पाकिस्तानका प्रवक्ता मुहम्मद खुरासानीले स्थानीय सञ्चारमाध्यममा एक वक्तव्य पठाई घटनाको जिम्मेवारी लिएका छन् । प्रहरीले घटनाको अनुसन्धान शुरु गरेको छ । पछिल्ला वर्षमा पाकिस्तानको सुरक्षा व्यवस्थामा उल्लेखनीय सुधार आएको छ, तर सानास्तरका आक्रमणहरू भने जारी छन् । यी आक्रमण प्रायः उत्तरपश्चिमी तथा अफगानिस्तानसँग सीमा जोडिएका आदिवासी इलाकामा हुने गरेका छन् ।

एएफपी