सेलिब्रेटीहरू ! साम्राज्ञीसँग सिक्नुस् प्रेम कसरी गर्नुपर्छ !!

सेलिब्रेटीहरू ! साम्राज्ञीसँग सिक्नुस् प्रेम कसरी गर्नुपर्छ !!


■ राजन घिमिरे

केही वर्षअघिको सन्दर्भ हो । एक रेष्टुरेण्टमा नेपालकी एक सिनेनायिकासँग जम्काभेट भयो । उनीसँगै एकजना पुरूष पनि थिए, कलाक्षेत्रसम्बन्धित नभएकाले पङ्क्तिकारका निम्ति ती अपरिचित थिए । उक्त जम्काभेटका क्रममा ती नायिकाले निकै आत्तिंएको भावमा जबर्जस्ती सम्हालिँदै एकाएक भनिन्– ‘उहाँ मेरो दाजु । बाहिरबाट आउनुभएको, यसो सँगै लन्च गरौँ भनेर … !’

ती अभिनेतृको ब्यवहार र प्रष्टिकरणबीच तालमेल मिलिरहेको थिएन । पङ्क्तिकारको कुनै जिज्ञासाविना नै उनी एकोहोरो स्पष्टीकरण दिइरहेकी थिइन् । मैले बुझिसकेको थिएंँ कि ‘दाल मे कुछ काला हे’ । नभन्दै तीन वर्षपछि दाइ भनेर चिनाइएका तिनै ‘दाजु’सँग ती अभिनेतृले विवाह गरिन् र, मैले पनि भोज खाएँ । नेपाली समाजमा ‘दाजु’सँग विवाह गर्न मिल्छ ? दाजु–बहिनीबीच बिहे हुन्छ त ? ब्यवहार एकातिर परिणाम अर्कोंतिर ।

यस्तो कायर तथा दोधारे व्यवहार अब हाम्रा सेलिब्रेटीहरूले त्याग्नुपर्छ । समाज, मूलुक, समय र विश्व धेरै अगाडि बहिसकेको छ । ‘प्यार किया तो डरना क्या’ भनेजस्तो ब्यवहार र जीवन हुनुपऱ्यो अब । भित्र–भित्र विभिन्न फूल फुलाउने तर बाहिर खुलेर आउन र प्रस्तुत हुन नसक्ने पनि प्रेम र माया हुन्छ त ? माया गर्नुस् तर गलत सोच, उद्देश्य र अरूलाई भ्रममा पारे भन्ने सोचेर अन्ततः आफै भ्रममा पर्ने ब्यवहार नदेखाउनुस् । तपाईं कसैको प्रेममा हुनुहुन्छ वा उसँगै जीवन बिताउने सोच वा अभीष्ट राख्नुभएको छ भने खुल्लम खुल्ला भन्न सक्नु पर्छ ।

‘उ मेरो ब्वायफ्रेण्ड/गर्लफ्रेण्ड हो ।’ कतै सार्वजनिक ठाउँमा सँगै जाँदा शानका साथ हिँड्नुस्, जसले गर्दा तपाईंको पाटर्नरमा पनि आत्मविश्वास बढोस् । पार्टनरपछि अनि आफू अगाडि, पाटर्नरलाइ मास्क लगाउन लगाएर उसको चोखो माया र प्रेमको खिल्ली नउँडाउनुस् । कि त मायाको नाटक नै नगर्नुस् र कसैको प्रममा नपरी एकैपटक ‘एरेन्ज म्यारिज’ गर्नुस् । पहिले नभएको नाता भजाएर पछि त्यो नाताको अपमान गर्ने स्तरहीन काम नगर्नुस् । आफ्नो पार्टनरसँग के हो नाता ? सहमतिमा लिभिङ टुगेदर हो कि साथी मात्र ? टाढाको साथी हो कि नजिकको ? के ‘रिलेसन’मा यसरी प्रस्तुत भएकाहरूको विवाह भएको छैन र ? अरूलाई ढाँट्दा तपाईंको प्रेममा स्वार्थ, खोट र शङ्का देखिन्छ । यदि तपाईंहरूबीच चोखो माया, जीवनमा साथ दिने बाचा र उद्देश्य छ वा छैन भने पनि सम्बन्धलाई स्पष्ट पार्नुस्, नत्रभने नातालाई धमिल्याएर गलत नबोल्नुस् । प्रेम जोसँग पनि हुन सक्छ, नटिक्न या ब्रेकअप पनि हुन सक्छ । ब्रेकअप हुनु भनेको जीवन नै समाप्त हुनु त होइन, आकाशै खसेको त होइन !

यो भूमिकाका साथ प्रसङ्ग अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको उठाउन खोजिएको हो । प्रेम गर्नुस् त साम्राज्ञीको जस्तो खुलेर, बिन्दास भएर, रमाएर र खुल्लमखुल्ला गर्नुस् । विदेश जाँदा पनि पहिले आफ्नो ‘पार्टनर’लाई पठाएर पछि आफू लुकी–लुकी नजानोस् । यो पाठ जल्दीबल्दी नायिका साम्राज्ञीबाट सिम्दा हुन्छ । उनले आफ्नो ‘रिलेसन’लाई के–के न हो भनेजस्तो गरी हाउगुजी बनाइनन्, न त गुम्स्याएर राख्ने जरुरत नै देखिन् । सिक्नुस् उनीसँग खुल्ला प्रेम, संगत र बिन्दास जीवन जिउने तरिका । कुरालाई जति गुम्साउनुहुन्छ, पछि त्यो बिस्फोट हुँदा भयानक परिणाम ल्याउन सक्छ । धेरै त्यस्तै पनि भइहेको छ यहाँ । पहिला भित्र–भित्र प्रेमीजस्तो ब्यवहार गर्ने अनि पछि त्यस्तो होइन भनेर भाग्न खोज्दा सँगै जीवन जिउने सपना देखेको पार्टनरले सहन सक्छ त ? तपाई कसैसँग नजिक हुनुहुन्छ भने पहिले नै स्पष्ट भन्नुस् र आफू पनि स्पष्ट हुनुहोस् । साथी हो ! नजिकको साथी हो या जीवन बिताउने साथी हो ? साम्राज्ञीले जोसँग प्रेम गरिन् र उ मेरो प्रेमी हो भनेर चिनाइन्, उसैसँग बिन्दास भएर प्रस्तुत भएकी छिन् । उनले कहिले पनि आफ्नो प्रेमीको नाम लिन हिच्किचाइनन् । सगौरव प्रेमी देवांग राणाको नाम लिन सक्ने हिम्मत र हैसियत बनाइन् उनले । साम्राज्ञीले आफ्नो प्रेमीसँगको तस्बिर सार्वजनिक गरेपछि लुकेर प्रेम गर्ने केही सेलिब्रेटीहरूलाई पनि ढाडस मिलेको चर्चाले यतिबेला सिनेमा बजार गर्माएको छ ।

तस्बिर : साम्राज्ञीको फेसबुक वाल एवम् सामाजिक सञ्जाल