मोहन बस्नेतको प्रत्यारोप- ‘बदनाम गराउन स्रोत नखुलेको रकमको प्रचार’

मोहन बस्नेतको प्रत्यारोप- ‘बदनाम गराउन स्रोत नखुलेको रकमको प्रचार’


नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले आफूलाई राजनीतिक र सामाजिक हिसाबले बदनाम गराउन सहकारीमा स्रोत नखुलेको रकम छ भनी प्रचार गरिएको दाबी गरेका छन् ।

पूर्वमन्त्रीसमेत रहेका कांग्रेस नेता बस्नेतको नामका महाबौद्धस्थित प्रणामी बचत तथा ऋण सहकारी संस्थामा ६१ करोड स्रोत नखुलेको रकम रहेको भन्ने समाचार केही सञ्चारमाध्यममार्फत सार्वजनिक भएको थियो । त्यस विषयमा पत्रकार सम्मेलन आयोजना गरी नेता बस्नेतले स्रोत नखुलेको रकम छ भनी सार्वजनिक गरिएको सहकारीमा आफ्नो खाता नभएको प्रष्टिकरण दिएका हुन् ।

सहकारीमा स्रोत नखुलेको रु ६१ करोड छ भनी प्रचार गर्नुलाई आफूले बदनाम गर्ने प्रयासकै कडीका रुपमा लिएको पूर्वमन्त्री बस्नेतको दाबी छ । समाचार तथ्यहीन र कपोलकल्पित भएकाले त्यसलाई विश्वास नगर्न उनले आग्रह गरे ।

यसैबीच सहकारीका प्रमुख कार्यकारी अधिकृत दीपकविक्रम थापाले पनि विज्ञप्ति जारी गर्दै पूर्वमन्त्री बस्नेत र उनको परिवारका सदस्यको सहकारीमा खाता नभएकाले स्रोत नखुलेको पैसासमेत नराखेको जानकारी दिएका छन् ।