प्रकोपका बेला पनि सरकार जनताप्रति संवेदशील भएन : देउवा

प्रकोपका बेला पनि सरकार जनताप्रति संवेदशील भएन : देउवा


  • हेमशंकर सिंह, राजविराज

नेपाली कांग्रेसका सभापति एवं पुर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपीडितहरूको उद्धार र राहतमा सरकार उदासिन देखिएको भन्दै आक्रोस पोखेका छन् । सुरूङ्गा नगरपालिका ८ धाँतीका बाढीपीडित परिवारलाई शुक्रबार भेट्ने क्रममा संचारकर्मीहरूसँग देउवाले प्राकृतिक प्रकोपका बेला पनि सरकार जनताप्रति संवेदशील नभएको आरोप लगाए ।

बाढीका कारण सुरुङ्गां नगरपालिका ८ धाँती टोलका ६ परिवारको ९ घर बगाएका त्यस परिवारका ३० जना विस्थापित परिवार छिमेकीको घरमा बस्दै आएको समस्या पुर्वप्रधानमन्त्री देउवासँग बाढीपिडितले राखेका थिए । गत शनिवार आएको बाढीले सुरूङ्गा नगरपालीका ८ धाँती बजारका मोहम्मद आवास मियाँ, दुनिया लाल सदा, चण्डी सदा, बद्री सदा, देबुराम, प्रदिप सदाको आठवटा घर बाढीले बगाएको छ । बाढीले सबै कुरा बगाएपछि बिस्थापित ६ घरपरिवारका ३० जना अहिले छिमेकीको घरमा आश्रय लिँदैै आएको स्थानिय समाजसेवी श्यामप्रसाद साहले जानकारी गराए ।

यसैगरी सभापति देउवाले सप्तकोशी नगरपालीका १ फतेपुरमा बाढीपीडित र सुरूङ्गा नगरपालीका वडा ४ मौवाहा बेल्हीमा बलान नदिले कटान गरेको नदिको स्थलगत निरीक्षण गरे । निरीक्षणको क्रममा संचारकर्मीसँग कुरा गर्दै सदनको नियमित एजेण्डा स्थगित गरेर बाढीपीडितलाई सहयोग गरौं भन्ने प्रस्ताव राख्दा सत्तापक्षले सूचना टाँसेर संसद बैठक स्थगित गरेको उनले आरोप लगाए ।

कांग्रेस सभापति देउवाले भने, ‘विपदका बेला एकजुट हुनुपर्छ तर सरकार आफ्नै दम्भमा हिँडेको छ ।’ सरकारमै भएका मधेसकेन्द्रित दलले पनि मधेसका जनताको भावनाको दुरुपयोग गरेको आरोप लगाउँदै उनले चुनावका बेला मधेसी भन्दै मत मागेका नेताहरूले जनता पाँच दिनदेखि भोको र अनिदो रहँदा पनि वास्ता नगरेको आरोप लगाए । सभापति देउवाले बाढीपीडितहरूका लागि कांग्रेसका सांसदहरूले पाँच दिन बराबरको तलब दिने निर्णय गरेको सुनाए। उनले राहत र पुनर्स्थापना तथा दिगो रुपमा समस्या समाधानका लागि संसदमा जोडदार आवाज उठाउने बताए ।

हरेक वर्ष बाढीबाट जनधनको क्षति भइरहदा यहाँका जनतालाई जोगाउन ठोस् पहल हुनुपर्ने र पीडितलाई पुर्नस्थापनाका लागि ठोस् काम गर्नुपर्ने आवश्यकता उनले औल्याए । नेपाली काँग्रेस प्रतिपक्षको भूमिकामा रहेर पनि बाढीपीडितका लागि आफूसहित काँग्रेसबाट निर्वाचित स्थानिय, प्रदेश र संघीय सरकारमा रहेकाहरुले पनि आ–आफ्नो तलब पारिश्रमिकबाट सहयोग गरिरहेको उनले बताए ।

बाढीपीडितका लागि कांग्रेसबाट निर्वाचित संघीय सांसदले ५ दिन र प्रदेश सांसदले १० दिनबराबरको तलब दिने घोषणा गरेको उनले जानकारी दिए । स्थानीय कांग्रेसी नेता तथा कार्यकर्तालाई उनले बाढीप्रभावित क्षेत्रमा सक्रिय भई पीडितको सहयोगमा जुट्न निर्देशन दिए ।

यता बाढीका कारण सप्तरीमा ३ हजार ५ सय परिवार बाढी प्रभावित भएका छन् भने त्यसमध्ये एक हजार परिवार बिस्थापित भई बाँध, विद्यालय तथा छिमेकीको घरमा आश्रय लिएर बसेका छन् ।

बाढी प्रभावित क्षेत्रमा निरीक्षण गर्ने क्रममा सभापतिसँगै संघीय सांसद तेजुलाल चौधरी, नेपाली कांग्रेस महेन्द्रप्रसाद यादव, कृष्ण यादव, आन्नद ढुंगाना, जिल्ला सभापति दिनेशकुमार यादव, प्रदेश संसदीय दलका नेता रामसरोज यादव, मोहम्मद समिम, गतिा यादव, भगवती यादव, रामदेव साह, युवा नेता नन्दकिसोर यादब, लगायतको उपस्थित रहेको थियो ।