काबेली करिडोर प्रसारण लाइन चार्ज गर्ने तयारीमा प्राधिकरण

काबेली करिडोर प्रसारण लाइन चार्ज गर्ने तयारीमा प्राधिकरण


निर्माणाधिन १३२ केभी काबेली करिडोर प्रसारण लाइन आगामी दुई साताभित्रै सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । विश्व बैङ्कको ऋण सहयोगमा नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइन निर्माण गरेको हो ।

निर्माणााधिन यो आयोजनाको तेस्रो चरणअन्तर्गत १ किलोमिटर तार तान्ने काम बाँकी रहेको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकार दिए । उनका अनुसार आयोजना निर्माणको काम तीव्र गतिमा भइरहेको छ ।

बाँकी रहेको १ किलोमिटर तार तान्ने काम दुई साताभित्रै सम्पन्न गरी लाइन चार्ज गर्ने तयारी भइरहेको आयोजना प्रमुख दीपेन्द्रराज द्विवेदीले जानकारी दिए । उनका अनुसार वर्षा नपरे तोकिएको समयमै निर्माण सकेर लाइन चार्ज गरिने छ । ‘प्रसारण लाइन निर्माण भएपछि त्यस क्षेत्रमा निर्माण हुने जलविद्युत् आयोजनाबाट २०० मेगावाटसम्म बिजुली प्रवाह हुनेछ ।’ उनले भने, ‘अहिले हामीले कामको गति बढाएका छौं ।’

तेस्रो चरणमा इलामको गोदकदेखि पाँचथरको फिदिमसम्म १३.३ किलोमिटरमध्ये अधिकांश काम सम्पन्न भइसकेको आयोजनाको दावी छ । बाँकी १ किलोमिटर वनक्षेत्र परेकोले समय लागेको आयोजनाले जनाएको छ । आयोजनाको कुल ४० टावरमध्ये ३९ वटा टावर गाडिसकिएको र १२ किलोमिटर तार तान्ने काम सकिएको आयोजना प्रमुखको भनाई छ ।

१० वर्षअघि सुरु गरिएको यो आयोजना लामो समय स्थानीयको अवरोध, जग्गा र वन समस्यामा फस्यो । पछि विसं २०६९ देखि आयोजना निर्माणले गति लिएको हो । आयोजनाको कुल लागत २ अर्ब ७५ करोड रुपैयाँ छ । हालसम्म झन्डै २ अर्ब ४६ करोड रुपैयाँ आयोजना निर्माणमा खर्च भइसकेको आयोजनाको दावी छ ।