नेकपाभित्र कसलाई कुन विभागको जिम्मेवारी ?

नेकपाभित्र कसलाई कुन विभागको जिम्मेवारी ?


सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को संगठन, विदेश र नीति तथा प्रतिष्ठान विभागमा लगभग टुंगो लागिसकेको बुझिएको छ । नेकपाको ३२ मध्ये संगठन र विदेशसहित १८ एमालेले प्रचार र अर्थसहित १४ विभाग माओवादीले लिने सहमतिअनुसार भागवण्डा भएको बुझिएको हो ।

नेकपाले संगठन, विदेश र नीति तथा प्रतिष्ठान विभागमा क्रमशः बादमेव गौतम, माधवकुमार नेपाल र झलनाथ खनाल रहने गरी सहमति भएको नेताहरुले बताएका छन् । साउन ५ गते बस्ने सचिवालय बैठकले टुंगो लगाउने बताइएको छ ।

तर, स्कुल विभागलाई लिएर तत्कालीन एमाले र माओवादीबीच मतभेद भइरहेको छ । नेकपाले
विभागीय प्रमुखहरु तोक्न साउन ५ गतेका लागि सचिवालय बैठकसमेत डाकेको छ ।

आफ्नो भागमा परेका विभागीय प्रमुखहरु टुंगो लगाउन पूर्वएमाले र पूर्व माओवादीका नेताहरु निरन्तर भेटघाट र बैठकमा व्यस्त देखिएका छन् । एक नेताका अनुसार प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली सुरुमा गौतमलाई संगठन विभाग प्रमुख बनाउन तयार भएका थिएनन् । प्रचण्ड–माधव नेपाल गुटले गौतमको नाम लिएपछि ओलीले रामबहादुर थापा बादलको नाम लिएका थिए । तर, बादल गृहमन्त्री रहेको र तत्कालीन माओवादीमा संगठन विभाग प्रमुख हुँदा प्रभावकारी रुपमा काम गर्न नसकेको आरोप नेकपाकै नेताहरुले गरेपछि ओलीले तत्कालीन एमालेका संगठन विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङको नाम लिएका थिए । तर यसप्रति नेकपाका नेताहरु असन्तुष्ट भएका छन् ।

व्यापक रस्साकस्सीपछि ओलीले आफू्सँग असन्तुष्ट बनेका गौतमलाई नजिक ल्याउन संगठन विभाग प्रमुखको जिम्मेवारी गौतमलाई नै दिने सहमति गरेका हुन् । उता, संगठन विभागमा रक्षामन्त्रीसमेत रहेका ईश्वर पोखरेलले पनि दाबी गरेका थिए ।

यसैबीच, नेकपाको महत्वपूर्ण मानिएको स्कुल विभागको जिम्मेवारी रक्षामन्त्री इश्वर पोखरेल र नारायणकाजी श्रेष्ठ दुवैले आफूले पाउनुपर्ने भन्दै रस्साकसी सुरु भएको छ । यस विषयमा सो जिम्मेवारी पोखरेललाई दिने की श्रेष्ठलाई दिने भन्ने विषयमा अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्ड दोधारमा रहेको बुझिएको छ । तर, नेकपा स्रोतका अनुसार श्रेष्ठलाई प्रचार विभाग प्रमुख बनाएर पोखरेललाई स्कुल विभाग दिने तयारी अध्यक्षद्धय ओली र प्रचण्डको रहेको बुझिएको छ । तर, श्रेष्ठले प्रचार विभागमा आफ्नो इच्छा नभएको बताउँदै आएका छन् । यस्तै, आर्थिक विभाग पनि पूर्व माओवादीको भागमा परेकोले श्रेष्ठलाई आर्थिक विभागमा लैजाने तयारी भएको नेताहरुले बताएका छन् । साउन ५ गते बस्ने बैठकले सबै विषय टुंगो लगाउने तयारीमा अध्यक्षयद्धय छन् ।