कालीमाटी र बल्खुको तरकारी बजारमा विभागको छड्के

कालीमाटी र बल्खुको तरकारी बजारमा विभागको छड्के


वाणिज्य विभागले बल्खु र कालीमाटीको तरकारी तथा फलफूल बजारमा छड्के गरेको छ । र आज बिहान ३ बजेदेखि गरेको छड्के अनुगमनले विचौलिया र तरकारी व्यापारीहरु अत्तालिएका हुन् ।

तरकारी तथा फलफूल बजारमा विभागले हालसम्म दर्जन बढी व्यवसायीमाथि कारबाही सिफारिस गरेको छ । बाढी पहिरो र विषादीको कारण देखाएर तरकारीको मूल्य अस्वभाविक रुपमा बढाइएको गुनासोपछि बल्खु र कालीमाटीको बजार अनुगमन गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले घटना र बिचारलाई जानकारी दिए । उनका अनुसार व्यवसायीले उपभोक्ताको ढाड सेक्ने गरी तरकारी तथा फलफूल बिक्रि वितरण गरेको भेटिएको छ ।

‘बजार अनुगमनका क्रममा कालिमाटीका ७ र बल्खुका ८ गरी १५ वटा तरकारी पसललाई कारबाहीका लागि सिफारिस गरेका छौं ।’ महानिर्देशक गौचनले भने, ‘बिना बिलबिजक कारोबार गरेको तथा बिचौलियको काम गरेको भेटिएपछि कारबाही प्रक्रिया अघि बढाएका छौं । हामी उनिहरुलाई कारबाही गरेर छाड्छौं ।’

अहिले कालीमाटीस्थित तरकारी बजारमा पनि अनुगमन भइरहेको विभागका शाखा अधिकृत दिपक पोखरेलले बताए । पोखरेलको संयोजकत्वमा रहेको टोलीले अहिलेसम्म ७ वटा पसललाई कारवाही गरिसकेको छ । छड्के अनुगमनका क्रममा बल्खु तरकारी बजारका ८ व्यापारीलाई ५ देखि २० हजारसम्म जरिवाना गरेको विभागका शाखा अधिकृत पोखरेलले जानकारी दिए ।

सरकारले कृत्रिम मूल्यवृद्धि गर्ने व्यापारी, व्यवसायीमाथि कारवाही गर्न सकेको छैन । गत वर्ष पनि सरकारले कालीमाटीस्थित तरकारी बजारमा बिचौलिया हावी भएको भन्दै अनुगमन गरे पनि कारवाही गर्न सकेको थिएन ।

विगत एकसाता यता तरकारी तथा फलफूलमा अस्वभाकि रुपमा मुल्यबृद्धि भएको छ । व्यापारीले बाढी पहिरो र विषादीको कारण देखाएर तेब्बरसम्म मूल्य बढाएका छन् ।
जसका कारण आम सर्वसाधारणको भान्छासमेत निकै महङ्गो बनेको छ ।