एनआरएनए जापानले पोखरामा पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने

एनआरएनए जापानले पोखरामा पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने


■ श्याम क्षेत्री, जापान

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले पहिलोपटक पोखरामा गण्डकी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । विभिन्न क्षेत्रमा आफ्नो सहभागिता देखाउँदै आएको एनआरएनए जापानले खेलकुद क्षेत्रमा सक्रियता देखाउँदै प्रथम एनआरएनए जापान गण्डकी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गर्न लागेको हो ।

एनआरएनए अध्यक्ष टासी वाङ्दी लामाले खेलले देशको बाह्य मात्र नभएर आन्तरिक पर्यटन वृद्धिलाई पनि महत्वपूर्ण भूमिका खेल्ने हुँदा यसमा एनआरएनए जापानले बढी चासो दिएको जानकारी दिनुभयो।

प्रथम एनआरएनए जापान दण्डकी प्रदेशस्तरीय पुरुष भलिवल प्रतियोगिता आयोजनाका लागि मुख्य प्रायोजनसँगै जापानबाट रासपले सहजिकरण र आर्थिक ब्यवस्थापनको लागि क्रमशः परिषदका उपाध्यक्ष शिवप्रसाद पौडेल, महिला उपाध्यक्ष अनिता गुरुङ, महासचिव बुद्धिराज घिमिरे, खेलकुद विभाग प्रमुख लिल गुरुङ, मानार्थ परिषद सदस्य श्री गुरुङ र नेपाल जापान भलिबल संघका अध्यक्ष नवीन गुरुङ समितिमा रहने गरी ६ सदस्यीय समिति गठन गरेको छ । सो समितिले शिवप्रसाद पौडेललाई संयोजक चयन गरेको महासचिव बुद्धिराज घिमिरेले जानकारी दिनुभयो । संयोजक पौडेलले परिषदलाई कुनै आर्थिक भार नपर्ने गरी आर्थिक स्रोत जुटाइने बताउनु भयो ।

नेपाल जापान भलिबल संघका अध्यक्ष नवीन गुरुङको विशेष भूमिका र प्रस्ताव रहेको उक्त भलिबल खेलमा गण्डकी प्रदेशका ११ जिल्लाका खेलाडीको सहभागिता रहने छ । पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघ पोखराको आयोजनामा राजकुमार गुरुङले कार्यक्रम संयोजकको ज़िम्मेवारी लिनुभएको सो आयोजना सम्पन्न गर्न करिव २३ लाख १२ हजार ८ सय ६६ रुपैयाँ लाग्ने अनुमान छ ।

प्रतियोगितामा प्रथम पुरस्कार एक लाख ११ हजार १ सय ११ रुपैयाँ, दोस्रो पुरस्कार ७५ हजार, ५ सय ७५ रुपैयाँ, तेस्रो पुरस्कार ५५ हजार, ५ सय ५५ रुपैयासंगै शिल्ड, मेडल र प्रमाण पत्र उपलब्ध गराइने छ भने सान्त्वना पुरस्कारमा २५ हजार, ५ सय २५ रुपैयाँ रहेको छ ।

पोखरा रंगशालामा हुने उक्त आयोजना २७ असोजबाट कार्तिक २ गतेसम्म हुने नेपाल जापान भलिबल संघका अध्यक्ष नवीन गुरुङले जानकारी दिनुभयो ।

यसैगरी एनआरएनए जापानले नेपालमा हुने महिला तथा बालबालिकामाथि हुने हिंसा विरुद्ध न्यायिक सहयोगको लागि ५ लाखको स्रोत जुटाई माइतीसँग समन्वय गर्ने गरी कार्य गरिसकेको छ । नेपालका विभिन्न जिल्लाका ५० जना विद्यार्थीको लागि छात्रवृत्तिसँगै बारा पर्सामा हावाहुरीबाट प्रवावित क्षेत्रमा सहयोगको लागि ६ लाख येन आईसीसीमार्फत प्रवावित क्षेत्रमा सहयोग गरिसकेको छ।