सरकारलाई सकसमा पार्न मादुरोपुत्रलाई निमन्त्रणा !

सरकारलाई सकसमा पार्न मादुरोपुत्रलाई निमन्त्रणा !


प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध जुनसुकै हथकण्डा अपनाउन तयार रहेका प्रचण्डले भेनेजुएलाका तानाशाह निकोलस मादुरोका छोरालाई नेपालमा झिकाएर अर्को आशङ्का पैदा गराउने प्रयास गरेका छन् । यतिबेला नेकपा युवा सङ्घको नेतृत्व प्रचण्डका निकटस्थ मानिने रामप्रसाद सापकोटा दीपशिखाको हातमा रहेको छ र, मादुरोपुत्रलाई नेपाल झिकाउने र नेताहरूको घर–घरमा डुलाउने काम पनि सापकोटासहित युवा सङ्घका नेताहरूबाट भइरहेको छ ।

मादुरोपुत्र निकोलस मादुरो गुयराको जम्बो टोलीले नेपाल भ्रमणका क्रममा प्रचण्ड, माधवकुमार नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठलगायतका नेताहरूसँग भेटवार्ता गऱ्यो । गत सोमबार (असार ३०) प्रतण्डसँगको भेटमा मादुरोपुत्रले अमेरिकी साम्राज्यवादका कारण आफ्नो मुलुकको अर्थतन्त्र सङ्कटमा परेको बताउँदै साम्राज्यवादविरुद्ध विश्वभरिका मुक्तिकामी जनता एकजुट हुनुपर्ने धारणा प्रकट गरेका थिए ।

पहिले तेल खानी रहेसम्म देशको अर्थतन्त्र सुदृढ रहने विश्वासमा भएकोले अन्य क्षेत्रको विकासतर्फ आफूहरूले त्यति ध्यान पुऱ्याउन नसकेको स्मरण गर्दै मादुरोपुत्रले साम्राज्यवादी अमेरिकाद्वारा नाकाबन्दी लगाइएपछि सङ्कट पैदा भएको बताउँदा प्रचण्डले सहमति जनाएका थिए । आफूहरू सधैँ साम्राज्यवादविरुद्धको लडाइँमा रहेको स्पष्ट गर्दै प्रचण्डले भेनेजुएला र नेपाल दुवै मुलुक यतिबेला उस्तैउस्तै अवस्थामा रहेको धारणा प्रकट गरेका थिए । प्रचण्डले दुई मुलुकका दुई पार्टीबीच मित्रवत् रहेको सम्बन्धलाई थप सुदृढ बनाउन आवश्यक भएको बताउँदै राष्ट्रपति निकोलस मादुरोलाई आफ्नो शुभकामना सन्देश सुनाइदिन आग्रह गरेका थिए ।

ज्ञातव्य छ, केही महिनाअघि भेनेजुएलामा तनाव पैदा हुँदा प्रधानमन्त्री केपी शर्मा ओली युरोप भ्रमणमा रहेका बेला प्रचण्डले अमेरिकाविरुद्ध कडा वक्तव्य दिँदै भेनेजुएलाको समर्थन गरेका थिए । उक्त वक्तव्यका कारण सरकार अप्ठ्यारोमा परेको थियो र अमेरिकासँगको सम्बन्धमा तनाव पैदा भएको थियो । करिब डेढ महिनाअघि आफ्नो युवा सङ्घको टोलीलाई भेनेजुएला पठाएर तिनकै निमन्त्रणामा मादुरोपुत्रलाई प्रचण्डले नेपाल झिकाएका हुन् । यसो गर्दा अमेरिका केपी नेतृत्वको सरकारप्रति थप सशङ्कित हुने र केपीलाई सत्ताबाट विस्थापित गर्न सहज हुने विश्वासमा प्रचण्ड रहेको बुझिन्छ ।

यद्यपि मादुरोपुत्रको टोेलीलाई भेट्न प्रधानमन्त्री ओलीले कुनै रुचि लिएनन् । भेटका निम्ति राखिएको प्रस्तावमा केपी सहमत नभएको बताइन्छ । सरकारले मादुरोपुत्रको भ्रमणबारे अनभिज्ञ भएको सन्देश दिएको छ । सरकारले मादुरोपुत्रको भ्रमणलाई महत्व नदिएको भए पनि यसले अमेरिका र केपी ओलीबीच आशङ्का बढाउने विश्वास भने प्रचण्डले गरेका छन् ।