मन्त्रीबाट हटेपछि अमेरिकाको राजदूत बन्ने ताकमा

मन्त्रीबाट हटेपछि अमेरिकाको राजदूत बन्ने ताकमा


अर्थमन्त्री रहेका युवराज खतिवडाले मन्त्री पद सकिएपछि अर्को महत्वपूर्ण पदीय जिम्मेवारी पाउन प्रयास गरिरहेको जानकारी प्राप्त भएको छ । आगामी माघसम्म मात्र (दुई वर्ष) राष्ट्रिय सभा सदस्य पदमा कायम रहने र उक्त पदावधि सकिएलगत्तै अर्थमन्त्रीको पद पनि जाने भएकोले खतिवडामा अब कुन पद लिने भन्ने छटपटी बढेको उनका निकटवर्तीहरूबाट थाहा भएको छ ।

नेकपा एमालेका तर्फबाट नेपाल राष्ट्र बैंकका गभर्नर बनाइएका खतिवडा राजाको शासनकालमा राष्ट्रिय योजना आयोगको सदस्य, त्यसपछि उपाध्यक्ष र अहिले अर्थमन्त्री बनाइएका उनी माघपछि कुन पद लिने भन्ने कुरालाई लिएर अहिल्यैदेखि चिन्तित बनेका हुन् । खतिवडाको पारिवारिक सूत्रबाट प्राप्त जानकारीअनुसार उनी आगामी फागुन महिनामा अमेरिकाको लागि नेपाली राजदूत भएर जान चाहन्छन् र त्यसनिम्ति प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्तालाप पनि भइसकेको छ । अमेरिकास्थित विवादास्पद राजदूत अर्जुन कार्कीको कार्यकाल सकिएपछि पनि अर्को व्यवस्था नहुन्जेलका लागि भनी कार्कीलाई नै निरन्तरता दिइएको छ । अब युवराज खतिवडाको सांसद र मन्त्री पदको कार्यकाल समाप्त नहुन्जेल कार्कीले नै राजदूतको जिम्मेवारी पूरा गर्ने सम्भावना छ ।

नेकपाभित्र युवराज खतिवडाको व्यापक आलोचना भएको र जनतामा सरकार अलोकप्रिय हुनुको मुख्य कारण पनि खतिवडाको कार्यनीति र व्यवहार हो भन्ने बुझिएकोले प्रधानमन्त्री केपी युवराजलाई अर्थमन्त्रीको जिम्मेवारीबाट बिदा दिने निष्कर्षमा पुगेको, तर खतिवडाले माघसम्म अर्थमन्त्री रहेर त्यसपछि अमेरिकाको निम्ति राजदूत भएर जाने भन्दै अनुनयविनय गरेपछि ओलीले माघसम्म खतिवडालाई नै अर्थमन्त्रीमा निरन्तरता दिने सम्भावना बढेको छ । कुनै अप्रत्यासित व्यवधान पैदा भएन भने खतिवडा वासिङ्गटन डीसीमा राजदूत भएर जाने निश्चित मानिएको छ ।

आध्यात्मिक चेतका मानिसबाहेक अन्यले धन, पद, सत्ता, सुखभोग र मनोरञ्जनमा आफ्नो मन अड्याएका हुन्छन् भन्ने महसुस धेरैले गरेका हुन सक्छन्, तर कतिपय मानिस पदबिना बाँच्नै नचाहने मनोवृत्तिका हुन्छन् भन्ने तथ्यको एक रोचक दृष्टान्त युवराज खतिवडा बनेका छन् । विद्यार्थी कालमा राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलमा आबद्ध भएर पढाइ पूरा गर्नेबित्तिकै उच्च अवसर निश्चित गर्ने योजनामा रहेका खतिवडाले त्यसबेला नेपाल राष्ट्र बैंकमा जागिर पाए । र, त्यहीँ रहेर ‘करिअर’ बनाए, अध्ययन गर्ने मौका पाए ।

पञ्चायतको अन्त्यसँगै वामपन्थीहरूतिर लहस्सिएका खतिवडा राजाले शासनाभार लिएपछि राष्ट्रिय योजना आयोगको सदस्य बनाइए । जब राजाको शासन सकियो, त्यसपछि खतिवडा एमालेमै फर्किए । एमालेले खतिवडालाई राष्ट्र बैंकको गभर्नर र योजना आयोगको उपाध्यक्ष बनायो । अहिले एमाले कित्ताबाट उनी अर्थमन्त्री बनाइएका छन् र यसपछि अमेरिकाको राजदूत पदले खतिवडालाई ‘कुरेर बसिरहेको’ छ । कदाचित पदविहीन भएर रहनुपऱ्यो भने यिनले के गर्लान्, खतिवडालाई नजिकबाट चिन्नेहरूले यस्तै जिज्ञाशा राख्ने गरेका छन् ।