झुटको पुलिन्दा र मेरो देश

झुटको पुलिन्दा र मेरो देश


■ स्वयम्भुनाथ कार्की

कुनै पनि मुलुकको निर्णायक पद कर्मको फल होइन । तर, मेरो देशमा सबै राजनीतिक पदहरू कर्मको पुरस्कार मानिन्छन् । भनिन्छ राम्रो कर्म गरेमा स्वर्ग प्राप्ति हुन्छ । यस अर्थमा मेरो देश स्वर्ग भएको छ । तर, मेरो देश स्वर्ग भएकोमा म भने खुसी छैन । किनभने स्वर्ग कर्म गर्ने स्थान होइन कर्मफलको रूपमा भोगविलास प्राप्त गर्ने स्थान हो । त्यसैले म र मेरा देशवाशीहरू ती राजनीतिक पद प्राप्त गर्नेहरूले कुनै बेला गरेको त्याग तपस्या (?)मार्फत पेलिएका छौँ । उनीहरूको त्यो त्याग तपस्याको सुखभोग निमित्त मेरा देशवाशीहरूको रगतपसिनाको कमाइ खर्च भइरहेको छ । निश्चय नै त्यो खर्च जुटाउनमा मेरो पनि भागीदारी छ ।

स्वर्गका अधिपति इन्द्र कर्मफल भोग गर्न स्वर्ग पुगेका होइनन् । त्यस्तै अप्सराहरू, गन्धर्वहरू पनि कर्मफल भोग्न त्यहाँ पुगेका होइनन् । ती त त्यो कर्मफल भोग गराउने जिम्मेवारी बोकेर बसेका हुन् । त्यसैले स्वर्गको प्रबन्ध, व्यवस्था आदिमा कर्मफल भोग्नेहरूले चिन्ता वा चासो लिनुपर्दैन । तर, मेरो देश भने अलि फरक छ, यहाँ सेवा गर्न अप्सरा, गन्धर्वसरहका जनता छौँ, जो बरु गाँस काटेर भए पनि ती राजनीतिक पदधारीहरूको चाहना आवश्यकता पूरा गर्दछौँ । तर, इन्द्रको स्थानमा पनि त्यही कर्मफल भोग्नेहरूमध्येबाटै छन् । त्यसैले उनीहरूले स्वर्गमा पनि कर्म गर्दै गरेको स्वाङ पार्नु छ । यही स्वाङमा झुटको पुलिन्दा पस्किने गरिन्छ । ती झुट पनि यस्ता झुट कि त्यसको कुनै आधार नै हुँदैन ।

भनिने गरिन्छ ‘साँचो डग्दैन, झुटो टिक्दैन’ । तर, मेरो देशमा भने साँचोले टिक्न पाउँदैन । लगातार झुट साबित भइरहँदा पनि थप नयाँ झुट आउँछन् । विडम्बना ! हामी त्यसलाई पनि पत्याइदिन विवश छौँ । हाम्रा प्रधानमन्त्रीले कुर्लेर भाषण गरे कि उनको सरकारमा खान बिछ्याउनामा सुतिसुती पुऱ्याइन्छ । ढाँटको निम्तो खाई पत्याउनु अरे । तर, सुतिसुती त के पसिना चुहाएर पनि पेट भर्न कठिन छ । त्यसैले यो कुरा खै त भनेर सोधियो । उनका रफ्फुकारले भने हो पुऱ्याइन्छ, तर त्यसका निमित्त काम गर्नुपर्छ । अब भन्नुस् कहाँ सुतिसुती खुवाउने अनि कहाँ काम गरेर खुवाउने । शायद उनलाई अलि ठूलै भ्वाङ रहेछ सानो रफ्फु भयो भन्ने लाग्यो होला, थपे त्यो अर्कै सन्दर्भमा भनिएको थियो ।

चीनबाट तुरुन्तै रेल आइपुग्यो भनेर हल्ला चलाएको चीनलाई पनि असह्य भएछ क्यार आफैंले जवाफ दियो अहिले सम्भव छैन भनेर ।

यो अर्को सन्दर्भ वा फरक सन्दर्भ अहिलेसम्म जत्रो पनि भ्वाङ टाल्न सकिने टालो भएको छ । आफ्ना भजनेहरूबाट स्तुति गायन गरायो जनतालाई पच्यो भने ठीक नत्र भन्नेले के–के भन्छन् भन्यो पानीमाथिको ओभानो सर्लक्क । आज ओलीले इतिहासमा कसैले नगरेको फलाना काम गरे भन्ने हल्ला चलायो जवाफदेही हुनै परेन । चीनबाट तुरुन्तै रेल आइपुग्यो भनेर हल्ला चलाएको चीनलाई पनि असह्य भएछ क्यार आफैंले जवाफ दियो अहिले सम्भव छैन भनेर । स्तुति गायकहरू चुप, त्यो प्रसङ्ग कसैले कोट्यायो भने अनेक स्तरका कारबाही । सामाजिक सञ्जालमा जथाभावी भुक्ने ट्यापे, ट्यापिनीहरूको त कुरा गरेर नै साध्य छैन । यस्ताका कुरा गरिएको पनि होइन । तर, आफैंलाई राज्यको चौथो अङ्ग दाबी गर्ने सञ्चार जगत् त आफूले भनेको कुराप्रति जिम्मेवार हुनुपर्ने ।

हुन त संसारको कुन देशको संविधानमा सञ्चार जगत्लाई राज्यको चौथो अङ्ग भनिएको छ त्यो अहिलेसम्म मैले त भेटेको छैन । अनौपचारिक नै भए पनि आफूलाई सरकारका अरू तीन अङ्गसरह मान्ने भएपछि जनताप्रति जिम्मेवार हुनुपर्दैन र ? हमेसा पत्रकारिता भनेको हतारको साहित्य भनेर मात्र धर पाइन्न । यसैगरी गैरजिम्मेवारी काममा सरकारी मानिएको राष्ट्रिय संवाद समिति अर्थात् रासस पनि देखिएको छ । उसले त बिहारमा बाढी पस्न नदिन भारतले कोसी ब्यारेजको ढोका बन्द गर्न दबाब दिएको, तर ओलीले त्यो दबाब नमानेको भनेर झुट फिँजायो । कोसी सम्झौता पढेर के कसको नियन्त्रणमा छ त्यो हेर्न त योग्यता पनि हुनुपऱ्यो ।

तर, यस्तै झुटले ओली खुसी होलान् भनेर हुनुपर्छ ब्यारेजको पूर्वी भागमा पुग्ने जोकसैले पनि देख्न सक्ने ब्यारेजको कन्ट्रोल रुम र त्यसमा भारतीय स्वामित्व पनि हेरेन । त्यसैले ओलीज्यू झुटबाट बच्नुस् नत्र अब तपाईंका भजने–किर्तनेहरूले पनि तपाईंलाई झुुट नै मन पर्छ भनेर झुटको पुलिन्दा बनाउन थाले । हे दैव झुटको पुलिन्दा र मेरो देश, छिट्टै यिनीहरूको त्यागतपस्याको फल देऊ र नेपाललाई स्वर्ग होइन धरती नै बनाऊ ।