शिल्पा र छविको अडानको अर्थ !

शिल्पा र छविको अडानको अर्थ !


एक भारतीय निर्माताले कुनैबेला भनेका थिए, ‘मुह मे चुना पोतने वालोंका कोही भरोसा नहीँ करना होगा ।’ उनको भनाइको आसय सिनेमामा काम गर्ने कलाकारको कुनै भरोसा हुँदैन भन्ने थियो । उनले आफ्नै कुनै कारणले यस्तो अभिव्यक्ति दिएका भए पनि सो अभिव्यक्तिले वलिउडमा त्यतिबेला राम्रै चर्चा पाएको थियो । अर्थात्, प्रकारान्तरले उक्त अभिव्यक्तिको भावलाई सबैले स्वीकार गरेका थिए ।

वलिउड निर्माताको उक्त भनाइ यतिबेला निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलबीच छेडिएको पारिवारिक लडाइँको प्रसङ्गबीच पुनः एकपटक सान्दर्भिक बन्न पुगेको छ । आफूमाथि घरेलु हिंसा भएको उजुरी बोकेर शिल्पा एकाएक प्रहरीको ढोका ढकढक्याउन पुगेपछि छवि र शिल्पाबीच महिनौँदेखि चल्दै आएको असमझदारी र विवाद छताछुल्ल हुन पुग्यो । छविले कानको जाली फुट्ने गरी चड्कन दिएपछि बाध्य भएर प्रहरीको शरण परेको अभिव्यक्ति शिल्पाले दिएकी छिन् भने आफूले त्यस्तो दुष्कर्म नगरेको जिकिर छविले गरेका छन् । ‘८ असारमा कुटपिट गरेको दाबी गर्नेले शिल्पा पन्ध्र दिनपछि मुद्दा हाल्न पुगेकी छिन्, उनको कुरामा कति सत्यता छ आफँै बुझौँ’ भन्ने तर्क छ उनको । तर ढिलो गरी उजुरी गरेकै आधारमा उनले शिल्पामाथि हात हालेनन् होला भनी पत्याउन मिल्दैन ।

यसअघि तीन–तीन पत्नी व्यहोरिसकेका छवि ओझाको छवि श्रीमतीसँगको व्यवहारको मामलामा नराम्रोसँग खराब भइसकेको छ र पनि शिल्पालाई फकाएर घर फर्काउन उनी उद्यत् देखिएका छन् । ५५ वर्ष पूरा भएका छविले जीवनमा अब अर्को बिहे नगर्ने प्रण गरेका छन्, शिल्पालाई नै घर फर्काउने, नसके एक्लै जीवन बिताउने बताएका छन् । उता शिल्पा अब कुनै हालतमा छविसँग बस्न नसक्ने र कुनै पनि बेला आफ्नो हत्या हुन सक्नेसम्मको ठहरमा पुगेकी छिन् । छविले मारेरै छोड्ने धम्की दिएको गम्भीर आरोप उनले लगाएकी छिन् । अब डिभोर्सबाहेकको विकल्प आफूसँग नरहेको उनको एकसूत्रीय भनाइ छ ।

यसरी श्रीमान्ले घर फर्काएरै छोड्ने, डिभोर्स नदिने र श्रीमतीले चाहिँ कुनै हालतमा घर नफर्किने, डिभोर्स नै गर्ने भनी आ–आफ्नो अडान चर्काइरहेकै बेला छवि र शिल्पा दुवैलाई राम्रैसँग चिनेजानेकाहरूबीच बेग्लै कानेखुसी चल्न थालेको बुझिन्छ । एउटाले छोड्दैनछोड्ने र अर्कोले अब सँगै बस्दैनबस्ने भनी अडान लिनुको आ–आफ्नै मकसद रहेको बुझाइ छ उनीहरूको । ती सिनेकर्मीहरूका अनुसार शिल्पाले छविसँग जीवन गुजार्ने हिसाबले विवाह गरेकै थिइनन्, दुई–चार वर्ष उनलाई अलमल्याएर सिनेमा क्षेत्रमा पाउ जमाउने र डिभोर्स गरी आफ्नो अंश–सम्पत्ति लिएर अर्कै व्यवस्था गर्ने उद्देश्यबाट भित्रभित्रै प्रेरित थिइन् उनी । शिल्पाको यही मकसद बुझेर नै छविले कुनै हालतमा डिभोर्स नदिने बरु एक्लै बस्ने प्रण गरेका हुन् । ‘गाँठ भी गुमाना बेवकुफ भी बनना’ भन्ने उक्तिलाई आफ्नो जीवनमा चरितार्थ हुन नदिने अठोटमा उनी पुगेका छन् ।

सिनेक्षेत्रमा अनेक अनुमान र अफवाह चल्ने हुनाले शिल्पामाथि गरिएको यो अनुमान स्वाभाविक जस्तो लागे पनि यथार्थभन्दा धेरै पर हुन पनि सक्छ । उमेरका हिसाबले अनमेल विवाह, त्यसमाथि दिनहुँ शारीरिक हिंसा सहेर खाउँ–खाउँ र लाउँ–लाउँको उर्वर उमेरमा छविसँग कसरी दिन कटाउन् शिल्पाले ? यी दुईबीचको असमझदारी कुन मोडमा पुगेर टुङ्गिने हो– केही समय प्रतीक्षा गर्नुको विकल्प छैन ।