अवैधानिक असुलीमा कुरा नमिल्दा निर्दोषलाई कैद

अवैधानिक असुलीमा कुरा नमिल्दा निर्दोषलाई कैद


■ मुक्तिनाथ भुसाल, अर्घाखाँची

‘समृद्ध नेपाल सुखी नेपाली’ वर्तमान सरकारको मुख्य नारा छ । यो सुन्दर नारा साकार पार्न मुलुकमा कृषि, पर्यटन, उद्योग, कलकारखानाको विकास र विस्तार हुनु एउटा अनिवार्य सर्त हो । साना या ठूला जुनसुकै स्तरका उद्यमी–व्यवसायीलाई व्यवसायको निम्ति माहोल बनाइदिने, तिनको व्यवसायको सुरक्षाको ग्यारेन्टी गरिदिने, ऋण सुविधा उपलब्ध गरिदिनेजस्ता कार्य राज्य या राज्यका निकायहरूको दायित्व हो । तर, यहाँ ठीक उल्टो छ । उल्लिखित दायित्व निर्वाह गर्नुको साटो राज्यका प्रशासनिक एवम् सुरक्षा निकायहरू उल्टै व्यक्तिगत अनुचित लाभका लागि व्यवसायीलाई दबाब दिने, आफूले भनेअनुसार नभए विभिन्न दुःख दिएर हतोत्साहित पार्ने र यहाँसम्म कि झुटा अभियोग लगाएर पेसाबाटै पलायन गराउने, मुद्दा–मामलामा फसाएर जेलमै सडाउनेसम्मका हर्कत गर्नसमेत पछि पर्दैनन् ।

यस्तै नियति व्यहोर्न बाध्य एक व्यवसायी हुन्– सन्धिखर्कको पुरानो बजार चुत्राबेंसीमा भुसाल फनिर्चर सञ्चालन गरी एक सफल व्यवसायीको छवि बनाएका हरिप्रसाद भुसाल । करिब १३ महिनाअघि प्रहरी–प्रशासनको षड्यन्त्रको सिकार बनेका उनी ‘जबर्जस्ती करणी’को आरोपमा यतिबेला जेलमा थन्किन विवश भएका छन् । राज्य नै बक्री बनेपछि नागरिकले कसरी आफ्नो पेसा–व्यवसायका साथै इज्जत–छविसमेत गुमाउनुपर्दोरहेछ, अन्याय सहेर कतिसम्म विवश बन्नुपर्दोरहेछ भन्ने हजारौँ उदाहरणमध्येको एक ज्वलन्त उदाहरण हो– ६ वर्षको जेल सजाय तोकिएर राजधानीको केन्द्रीय जेलमा कैदी बनेका व्यवसायी भुसालसँग सम्बन्धित मामला ।

सर्सर्ती नियाल्दा घमण्डी र रुखो स्वभावका व्यक्तिझैँ लाग्ने हरि आफ्नो कारोबारमा पनि उत्तिकै खरो र सपाट थिए । अवैध कारोबार गर्नेहरूको सार्वजनिक विरोध गर्न उनी पछि पर्दैनथे । अनियमित कारोबार नगर्ने भएकाले कसैलाई अनुचित कमिसन आदि दिएर खुसी पार्नुपर्ने कुनै बाध्यता नभएको ठान्दथे उनी । तर, आफ्नो यही खरो व्यवहार नै उनका लागि अभिशाप बनिदियो । हरिको स्वभाव चिनेका स्थानीयवासीहरू उनबाट परस्त्रीगमन या जबर्जस्ती करणी हुन सक्ने कुराको कल्पनासम्म पनि गर्दैनन्, तर उनमाथि यही अभियोग जबर्जस्ती साबित गराइएको छ । गत ०७५ जेठ २७ गते दिउँसो १ बजे आफ्नै फर्निचर उद्योगभित्र आफ्नै कामदार १८ वर्षीया महिलामाथि जबर्जस्ती करणी गरेको अभियोग साबित गराएर उनलाई जेल पठाइएको हो ।

प्युठानको मल्लरानी गाउँपालिका–२ घर भई अर्घाखाँचीमा रहेको हरि भुसालकै होटेलमा मजदुरी गर्दै आएकी कथित अविवाहित महिलालाई फर्निचर उद्योगभित्र बोलाएर भुसालले बलात्कार गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले ०७५ जेठ ३१ मा उनलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले लगाएको अभियोगका आधारमा महिलाको शारीरिक परीक्षणपछि अर्घाखाँची जिल्ला अस्पतालका चिकित्सकले ‘No recent injuries noted. Deflorate hymen. Above examination finding suggested that sexual intercourse had occured but recent or old event could not be confirmed’ भन्ने प्रतिवेदन दिएका थिए । यसै आधारमा अविवाहित भनिएकी कथित पीडित महिलाको प्रतिवेदनमा ‘Sexual intercourse had occured’ ‘Deflorate hymen’ शब्दलाई आधार बनाएर हरिप्रसाद भुसाललाई जबर्जस्ती करणी मुद्दामा राज्यका तत्कालीन स्थानीय हर्ताकर्ताहरूले कारागारसम्म पुऱ्याएका थिए ।

यस मामलामा रोचक त के छ भने पीडित भनिएकी महिला स्वयम्ले यस मामलामा कुनै चासो या सरोकार दर्शाएकी छैनन् । यतिबेला उनी अर्घाखाँचीमा पनि छैनन् । उनलाई सुनियोजित ढङ्गले भुसालविरुद्ध उजुरी दर्ता गर्न लगाएको घटनाक्रमले देखाउँछ ।

उनको जन्मघर प्युठानको मल्लरानी–२ स्थित मोरुङ विद्यालयनजिक पुगेर बुझ्दा एसआर मगर (परिवर्तित नाम) भनेर चिनिने उनी अविवाहित महिला नभएको जानकारी मिल्यो । उनले पहिलो विवाह स्थानीय सोनाल्ना गाउँका एक घर्तीमगरसँग गरेकी रहिछिन् । पहिलो बिहेको चार महिनापछि नै एसआरले अर्का एक पुनमगरसँग विवाह गरी एक वर्ष उनैसँग बिताएकी र त्यसपछि फेरि घरनजिकैको चुन्द्रीखोला गाउँमा रहेका एक रोकामगरसँग बिहे गरेकी उनले तीन महिनापछि उनलाई पनि छोडेको उनका बाजे बुद्धबहादुर राउ मगरको भनाई छ । यसरी १९ महिनाभित्रै तीनवटा विवाह गरेकी एसआर मगरले पछिल्लोपटक प्युठानको चुजाँठाटी बजार पुगी एक सवारीचालकलाई अपनाएर ०७५ वैशाखमा अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क प्रवेश गरेको जानकारी मिलेको छ ।

यसरी अर्घाखाँची प्रवेश गरेको करिब डेढ महिनामै उनी प्रशासनिक निकायको ‘हतियार’ बनेकी स्थानीय सचेतजनको भनाइ छ । बकपत्र गर्ने दिन उनलाई ‘सेफ हाउस’मा राखिएको थियो भने सरकारी वकिलका विरुद्ध आउन सक्ने कुनै पनि प्रश्न सोध्न तथा मिसिलमा घुसाउन नदिँदा इजलासको कामसमेत केही समय ठप्प भएको त्यतिबेलाका प्रत्यक्ष जानकारहरू बताउँछन् । प्रहरी फन्दाबाट उम्किएलगत्तै एसआर मगरले रोल्पा पुगेर अर्को बिहे गरेकी र त्यसको दुई महिना बित्न नपाउँदै उनलाई पनि छोडेर सुर्खेतमा विवाह गरेको र त्यसपछि हालसम्म आफन्तको सम्पर्कमै नरहेको जानकारी प्राप्त भएको छ । यसप्रकार बारबार पुरुष परिवर्तन गर्ने महिलालाई अविवाहित भनेर पेस गरिनु र उनको शारीरिक परीक्षणको प्रतिवेदनमा ‘शारीरिक सम्पर्क त भएको तर ताजा हो या पुरानो भन्ने पुष्टि गर्न नसकिएको’ उल्लेख भएबाट हरि भुसाल सुनियोजित षड्यन्त्रको सिकार भएको स्पष्टै छ ।

‘सत्य सेवा सुरक्षणम्’लाई मूलमन्त्र मान्ने जिप्रका अर्घाखाँचीका तत्कालीन उच्चपदस्थ प्रहरी कर्मचारीहरूले तयार पारेका कागजातअनुसार बलात्कार अपराह्न १ बजे भुसाल फनिर्चरमा भएको उल्लेख गरिएको छ । ज्ञातव्य के छ भने घटना भएको भनिएको बेला बिजुली नभएको कारण उक्त फनिर्चर र बगलमै जोडिएको सफल स्टिल फर्निचरमा कार्यरत करिब ढेड डर्जन कामदार त्यहीँ एकठाउँ भेला भई आराम गरिरहेका थिए । बजारको बीचभागमा रहेको सो स्थानमा मध्यदिनमै बलात्कार गरिएको थियो भने आरोपी भुसाल पक्कै उम्कन सक्ने थिएनन् । त्यसमाथि सोही दिन अर्घाखाँची वन पैदावार उद्योग व्यवसायी सङ्घको बैठक भएकोले बिहान ११ देखि ५ बजेसम्म केन्द्रीय सदस्यको हैसियतमा हरिप्रसाद भुसाल बैठकमा आफूहरूसँगै सहभागी भएको वन पैदावारका जिल्ला अध्यक्ष बाबुराम श्रेष्ठको भनाइ छ ।

यस विषयमा केन्द्रित भई हरिप्रसादकी श्रीमती गीता भुसालसँग जिज्ञासा राख्दा आफ्ना श्रीमान्लाई नियन्त्रणमा लिएसँगै ‘प्रहरी प्रशासनलाई ४० लाख दिए सबै कुरा मिल्ने’ भन्ने प्रस्ताव आएको खुलासा गरिन् । स्थानीय बिचौलियाहरूबाट गरिएको सो प्रस्ताव पछि १५ लाखमा झरेको थियो भने निर्दोष व्यक्तिलाई जबर्जस्ती झुटो मुद्दामा फसाएर रकम असुल्न खोजेको स्पष्ट भएकोले रकम दिन इन्कार गरिएको श्रीमती भुसालको भनाइ छ । बलिन्द्र धारा आँसु बगाउँदै उनले भनिन्, ‘मेरा श्रीमान् कुनै पनि अनैतिक र अवैधानिक कार्यको विरोधी भएकाले प्रहरी–प्रशासनको बक्रदृष्टिमा परेका र उहाँलाई फसाउनका लागि मोटो रकम सापटी लगेका व्यक्तिहरूसमेत परोक्ष तवरबाट लागिपरेको मैले बुझेकी छु । उहाँलाई फसाएर जेल पठाउन सके सापटी रकम तिर्न नपर्ने उनीहरूको सोच हुन सक्छ । प्रशासनले पनि आफ्नो व्यवसायमा सफल रहेका व्यक्तिलाई अभियोग लगाएर इज्जतको बदला रकम अँठ्याउने प्रपञ्च रचेको हुन सक्छ ।’

कारोबारको लागि बैंकबाट लिएको लाखौँ ऋणको ब्याज र किस्ता तिर्न नसक्दा आफ्नो परिवार ठूलो समस्यामा परेको भन्दै उनी भक्कानिइन् । श्रीमान्लाई बलात्कारको अभियोगमा जेल सजाय दिएपछि आफ्ना तीन सन्तानमाथि पनि मानसिक असर परेको उनको दुःखेसो छ । विद्यालयमा समेत साथीभाइबीच हीनता बोध गर्नुपरेकोले एक छोरी र दुई छोराहरूको पढाईमा दुष्प्रभाव परेको उनले बताइन् । अर्घाखाँचीमै कारागार हुँदाहुँदै काठमाडौं पु¥याइनुलाई पनि उनले षड्यन्त्रकै हिस्सा ठानेकी छिन् । श्रीमान्को जेल सरुवा गरेर अर्घाखाँची ल्याइदिए भेटघाट गर्न सहज हुने उनको अनुरोधका कारण प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले यसमा सक्दो सहयोग गर्ने वचन दिएको जानकारी गराउँदै उनले आफ्ना श्रीमान्लाई झुटो मुद्दामा फसाइएको समयमा जिप्रका अर्घाखाँचीमा प्रनाउ नवराज मल्ल र सरकारी वकिलका रूपमा हरिप्रसाद घिमिरे कार्यरत रहेको स्मरणसमेत गरिन् ।