केपी हटाउने प्रयास असफल भएपछि निराश प्रचण्डको नयाँ योजना

केपी हटाउने प्रयास असफल भएपछि निराश प्रचण्डको नयाँ योजना


संसदीय दलमा बहुमत जुटाएर केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्तावमार्फत दलको नेता पदबाट हटाउने, त्यसपछि पार्टीको सचिवालय, स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठकमा दुईतिहाइ मत जुटाएर केपीलाई पार्टी अध्यक्षको जिम्मेवारीबाट पनि मुक्त गर्ने प्रचण्डको योजना तत्कालका लागि असफल भएपछि नेकपाभित्रको राजनीति अब कसरी अघि बढ्ला भन्ने चासो सर्वत्र प्रकट भएको छ ।

‘एमाले’ नेताहरू प्रचण्डसँगको भेटमा केपी ओलीप्रति चरम आक्रोश प्रकट गर्दै सरकारको नेतृत्व बदल्नुपर्ने धारणा राख्ने गर्दथे । केपीप्रतिको आक्रोश र आलोचना नै आफ्नो पुँजी भएको ठम्याइ प्रचण्डको थियो । माधवकुमार नेपालदेखि घनश्याम भुसाल र वामदेव गौतमदेखि योगेश भट्टराईसम्मबाट केपीका प्रति प्रकट आक्रोशबाट प्रचण्ड निकै उत्साही बनेका थिए । वास्तवमा केपीप्रतिको उनीहरूको आक्रोश केपीको विस्थापन र प्रचण्डलाई स्थापित गर्ने उद्देश्यबाट प्रेरित रहेको देखिएन । प्रधानमन्त्री केपी ओलीले सबै असन्तुष्ट नेताहरूसँग अलगअलग छलफल गरेपछि प्रचण्डले महिनौँ लगाएर तयार गरेको ‘घर’ भताभुङ्ग भएको छ । अब प्रचण्डले के गर्लान् भन्ने विषयमा सबैको ध्यान आकर्षित भएको छ । प्रचण्ड स्वयम् भने अब के गर्ने भन्ने विषयमा अन्योलमा परेको देखिएको छ ।

प्राप्त जानकारीअनुसार पार्टीका सबै असन्तुष्ट नेताहरूसँग अलगअलग कुराकानी गरेपछि प्रधानमन्त्री ओली मन्त्रिमण्डल पुनर्गठन गरी अघि बढ्ने तयारीमा लागेका छन् । पुनर्गठनले केपीका आलोचक भनेर चिनिएका कतिपय नेताहरूलाई समेत मन्त्रिमण्डलमा समेट्ने सङ्केत देखिएपछि प्रचण्ड पुनर्गठनप्रति सकारात्मक हुन सकेका छैनन् । पुनर्गठनपछि सरकारमा थप गति पैदा भई केपीको निरन्तरताका पक्षमा वातावरण बन्न सक्ने र पार्टीको आन्तरिक शक्ति सन्तुलन पनि केपीकै अनुकूल रहने देखिएपछि प्रचण्ड मन्त्रिमण्डल पुनर्गठनप्रति उत्साही बन्न खोजेका छैनन् । प्रचण्डले मन्त्रिमण्डलमा सामेल गर्न कुनै व्यक्तिको नाम सिफारिस नगर्ने र माधव नेपाललाई पनि त्यस निम्ति ‘प्रोवोक’ गर्ने सोच बनाएको बुझिएको छ ।

मन्त्रिमण्डलमा नालायक ठहर भएका चन्द्रकान्त खनाल, मातृका यादव र विना मगरलगायतलाई हटाइने, रघुवीर महासेठ र प्रदीप ज्ञवालीलगायतको विभाग परिवर्तन हुन सक्ने सम्भावना रहेको छ । तर, प्रचण्डले बदल्न चाहेको गृह र सञ्चारमन्त्री यथावत् रहने बुझिन्छ । अर्थ मन्त्रालयको जिम्मेवारी पाएका युवराज खतिवडालाई हटाउन चौतर्फी दबाब भए पनि उनले आफूलाई आगामी माघसम्म यथावत् राखेर ‘इज्जत जोगाइदिन’ प्रधानमन्त्रीसँग पटक–पटक रोई–कराई गरेकोले अर्थ मन्त्रालयबारे के गर्ने भन्ने विषयमा एकप्रकारको द्विविधा रहेको बताइन्छ ।

राष्ट्रिय सभा सदस्यको कार्यकाल आगामी माघसम्म मात्र कायम रहेको र त्यसपछि स्वतः मन्त्री पदबाट हट्नुपर्ने भएकोले ‘माघसम्म खान दिएर इज्जत जोगाइदिन’ खतिवडाले आग्रह गरेकोले प्रधानमन्त्रीमा द्विविधा पैदा भएको बुझिन्छ । होइन भने सरकार अलोकप्रिय हुनुमा युवराज खतिवडाको नीति र व्यवहार मुख्य कारण रहेको प्रधामन्त्रीको पनि बुझाइ रहेको बताइन्छ ।

पुनर्गठनले सुरेन्द्र पाण्डे र योगेश भट्टराईसमेतलाई समेट्ने सम्भावना देखिएको र त्यसो भएमा केपीविरुद्धको अभियान पुनर्जीवित गर्न झनै मुस्किल हुने भएकोले प्रचण्ड मन्त्रिमण्डल पुनर्गठनप्रति सकारात्मक हुन नसकेको प्रचण्डनिकट सूत्रको भनाइ छ । प्रचण्डले चासो नराखे पनि केही दिनभित्रै मन्त्रिमण्डल पुनर्गठन गर्ने गृहकार्यमा केपी लागेका छन् ।

बाह्य शक्तिको बलियो साथ भए पनि आन्तरिक व्यवस्थापन गर्न नसक्दा प्रचण्ड यसपटक ‘मच्चिएर पनि थच्चिने’ अवस्थामा पुगेका छन् । तत्काल केपीका हरेक आगामी योजनाप्रति उदासीन रहने, सहयोग नपुऱ्याउने र पार्टी एकता प्रक्रियालाई द्रुतगतिमा टुङ्ग्याउने मानसिकतामा प्रचण्ड रहेको उनका निकटवर्तीहरूको भनाइ छ । वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, झलनाथ खनाल र रामबहादुर थापा पार्टी एकताको पक्षमा उभिएको र माधव नेपालको भूमिका अभरपर्दो रहेकोले प्रचण्ड तत्काल पछि हट्ने र केपी हटाउन नयाँ योजना बनाउनुपर्ने बाध्यात्मक अवस्थामा पुगेका हुन् । यसबीचमा प्रचण्ड नयाँदिल्लीको भ्रमण गर्न इच्छुक रहेको र त्यसनिम्ति आवश्यक पहल भइरहेको बुझिएको छ ।