‘बाढी-वेदना’को अर्को पाटो

‘बाढी-वेदना’को अर्को पाटो


प्रत्युत्पादक राजनीतिका कारण हरदम दुःखको आहालमा पर्दै आएको मुलुक यतिबेला बाढी–पहिरोप्रदत्त वेदनामा चुर्लुम्म डुबेको छ । बाढीले यस वर्ष तराई मात्र नभनी पहाड, उपत्यका सबैतिर दुष्प्रभाव पारेको छ । पौने सयको सङ्ख्यामा नागरिकले ज्यान गुमाएका छन् भने बाढीमा बेपत्ता भएकाको सङ्ख्या पनि सानो छैन । हजारौँ परिवार विस्थापित हुनुपरेको छ । भौतिक क्षतिको आकलन अर्बौंमा गरिएको छ । जनधनको क्षतिका अलावा बाढीको ‘बाइप्रोडक्ट’को रूपमा आमजनजीवनमा आइपरेको कष्ट, मानसिक प्रताडना, शोक, भोक र रोगादिको प्रहार उत्तिकै वेदनायुक्त छ । एकप्रकारले देश यतिबेला महासङ्कटमै परेको छ ।

तर, व्यक्ति, समाज र सरकारसम्ममा हुर्कंदै गएको संवेदनहीनताका साथै निरन्तर झेल्नुपरेका यावत् समस्यासँग अभ्यस्त भएका कारण विकराल सङ्कटले पनि नछोएकोजस्तो निर्मग्नता आमतहमा छाउनु, अनि ‘यस्तै हो… चलिरहन्छ’ भन्ने उदासभाव सरकारीस्तरमा जागृत भएको महसुस गरिनु नेपालको वर्तमान नियति हो ।

बाढीपहिरोको प्रकोप एकपटक या यदाकदा मात्र उत्पन्न हुने नभई वर्षेनी व्यहोर्नुपर्ने दुःखको रूपमा स्थापित भएको छ र पनि वर्षेनी एउटै–उस्तै कोकोहोलो मच्चाउँछौँ हामी । वर्षा हुनु अनि वर्षात्ले भेलबाढी ल्याउनु प्राकृतिक नियमितता हो र पनि यसको प्रकोप नियन्त्रण तथा दुष्प्रभाव कम गर्न मानवीय प्रयास, सचेतना, विकास–निर्माणमा प्रकृतिसम्मत तौरतरिकाको अवलम्बनजस्ता व्यवहार अपरिहार्य रहेकोचाहिँ बिर्सन्छौँ । नेपालमा सङ्घीय शासन लागू भएपछि स्थानीय तहमा ‘विकास’को एउटा अभूतपूर्व लहर पैदा भएको छ । गाउँ–गाउँ, निकट–विकट, डाँडाकाँडा र पहाड–कन्दरा जताततै अन्धाधुन्ध रूपले डोजर/स्काभेटरजस्ता आधुनिक उपकरण प्रयोग गरी ‘सडक’ निर्माण गर्ने यो अत्यासलाग्दो लहरले विकासभन्दा ज्यादा विनास निम्त्याइरहेको चेत खुलाइदिने कसले ? यसरी सडक नाममा अवैज्ञानिक तवरले जथाभावी खोतलिएका/खोक्र्याइएका डाँडाकाँडा र नदीनालाले मनसुनको मौसममा विध्वंसात्मक रूप देखाइदिन्छ । पहिरो आउँछ, पाखा–पखेराका घरगोठ बग्छन्, नदीनाला उर्लन्छ, पहाडका ढुङ्गामाटो बगेर तराईका फाँटबस्ती डुबाउन/पुर्न पुग्छन् ।

भारतका जनताले डुबान खेपुन् र नेपालीले चाहिँ जसरी पनि जोगिनैपर्छ भन्ने सोच सरकारको नहोला, हुनु हुँदैन । तर, भारतका गाउँबस्ती डुब्नबाट जोगाउने नाममा नेपालले मात्रै मूल्य चुकाउनुपर्ने कुरा पनि मान्य हुन सक्दैन । यो मनन गर्दै दुवैतर्फको हित प्रवर्द्धन हुने गरी दीर्घकालीन ढङ्गको तटबन्धलगायत संरचना निर्माण गर्न कूटनीतिक तवरले सहमति खोज्ने सवालमा नेपाल चुकिरहेको छ ।

यस्तो विपत्तिका बेला एकातिर प्रभावित जनजीवन आहत भएर दयनीय अवस्थामा पुग्छ भने अर्कोतिर एउटा तप्काबाट ‘भारतले गर्दा नेपाल डुब्यो’ भन्ने अरन्य प्रलाप शुरु गरिन्छ । बाढीबाट बेहाल बनेका नागरिकको उद्धार र राहतको प्रयासले भन्दा ज्यादा छिमेकतर्फ धारेहात लगाएर अपवाक्य ओकल्ने र त्यस अटपटे व्यवहारसँगै ‘राष्ट्रवाद’को नयाँ मुकाम कायम गर्ने होडबाजी चल्छ । सामाजिक सञ्जालका भित्ता ‘सत्तोश्राप’मै विकृत बनेका देखिन्छन् । यसले एउटा महारोगकै रूप लिएको छ ।

सीमाक्षेत्रमा भारतले बाँधेका कतिपय बाँधका कारण नेपालको तराई भूखण्डका विभिन्न भागमा बाढीको विशेष प्रकोप पैदा हुने गरेको कुरा पूरै असत्य छैन । तथापि, बाढी नेपाल र भारत दुवै देशको निम्ति साझा समस्या भएकोले भारतले आफ्ना नागरिक तथा बस्ती बचाउन विविध उपायहरू अपनाउनु अस्वाभाविक छैन । अस्वाभाविक चाहिँ यो छ कि नेपालले आफ्ना नागरिक, गाउँबस्ती या जमिन जोगाउन किन व्यावहारिक उपायहरू अवलम्बन गर्न सकिरहेको छैन र किन बाढीको बहानामा अस्वस्थ ‘राजनीति’ शुरु गरिन्छ ? भारतका जनताले डुबान खेपुन् र नेपालीले चाहिँ जसरी पनि जोगिनैपर्छ भन्ने सोच सरकारको नहोला, हुनु हुँदैन । तर, भारतका गाउँबस्ती डुब्नबाट जोगाउने नाममा नेपालले मात्रै मूल्य चुकाउनुपर्ने कुरा पनि मान्य हुन सक्दैन । यो मनन गर्दै दुवैतर्फको हित प्रवर्द्धन हुने गरी दीर्घकालीन ढङ्गको तटबन्धलगायत संरचना निर्माण गर्न कूटनीतिक तवरले सहमति खोज्ने सवालमा नेपाल चुकिरहेको छ । आफ्नो शक्तिका कारण भारतले हेपचेप गऱ्यो भनी उठे–उठाइएका आवाजमै सरकार बहकिएर बस्नु दुर्भाग्यपूर्ण छ ।

यसर्थ, नदीको स्वाभाविक बहाव नबिथोलिने गरी तटबन्धलगायत संरचनाहरू निर्माण तथा पुनर्निर्माण गर्नेतर्फ गम्भीर पहलकदमी यतिबेलाको आवश्यकता हो । यस्तै, नदी तथा खोलानालाको किनार अतिक्रमण गरी घर–बस्ती बसाउने घातक प्रवृत्तिको उत्कर्षताले काठमाडौं उपत्यकामा समेत बाढीको विनाश बढेको छ र हरेक वर्ष यो समस्या बढेर विकराल रूप लिँदै छ । भूबनोट या अवस्थितिका कारण नदीको बहाव उत्तरबाट दक्षिणतर्फ रहेको र पहाडको प्रभाव नै नेपालको तराई भूभाग हुँदै भारतको बिहारमा समेत पर्ने हुँदा वर्षेनी बाढी–प्रकोपबाट यथाशक्य जोगिन नेपाल र भारतबीच गम्भीर एवम् संयमित कूटनीतिक प्रयास हुनु जरुरी छ । एकले अर्कोलाई दोषी देखाएर बाझाबाझ गर्ने वर्षौंवर्षको ‘संस्कार’ तोड्दै मन माझामाझ गर्ने माहोल अब पैदा गर्नैपर्छ । बाढीले पनि यस्तै सन्देश प्रवाह गरेको छ ।