तीस घर डुबानमा, थातथलो छाड्दै स्थानीय

तीस घर डुबानमा, थातथलो छाड्दै स्थानीय


विराटनगरस्थित सिङ्घिया खोलाको बाढी बस्तीमा पसेपछि यहाँको ३० घर अझै डुबानमा परेको छ । विराटनगर र कटहरी गाउँपालिका भएर बग्ने सिङ्घिया खोलाको बाढीका कारण कटहरी गाउँपालिका–१ का दुई टोल पूरै डुबानमा परेका हुन् ।

यहाँका बाढीपीडित नजिकैको नारी विकास संस्थाको भवनमा बस्दै आएका छन् । ‘एक रात छिमेकीको घरमा आश्रय लिए, अर्को दिन त्यो घर डुबानमा परेपछि संस्थाको भवनमा बसाइँ सर्नु परेको हो’, पीडित चर्खादेवी पण्डितले भने । संस्थाको भवनमा हाल बाढीपीडित भेडाझैँ खाँदिएर बस्दै आएका छन् । ‘बालबालिकाले राम्रोसँग खान र सुत्न पाएका छैनन्’, उनले भने, ‘बालबालिकाको पढाइ चौपट भएको छ ।’

बाढीपीडितलाई सुत्न समस्या भएको छ । एउटै ठाउँमा धेरै जना खाँदिएर सुत्नु परेको पीडित बताउँछन् । विभिन्न संस्था तथा वडा कार्यालयले खानाको व्यवस्था गर्दै आएको छ । बाढीका कारण बालबालिका र वृद्धवृद्धा बढी समस्यामा परेका छन् । उनीहरु धेरै दिनदेखि चाउचाउ र चिउराका भरमा बस्दै आएका छन् ।

बाढीले घरका सबै सामान नष्ट गरेको छ भने नगदसमेत बगाएकाले खाद्यान्न तथा आवश्यक सामान खरिद गर्न समस्या भएको बाढीपीडित पण्डित बताउँछन् ।