अवैध नेटवर्किङ्ग व्यवसायमार्फत ठगी

अवैध नेटवर्किङ्ग व्यवसायमार्फत ठगी


अवैध नेटवर्किङ्ग व्यवसायको नाममा ठगी गर्दै आएका ११ जनालाई कपिलवस्तु प्रहरीले प्रक्राउ गरी पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा आयोजित पत्रकार सम्मेलनमा फेसबुक र जागिरको प्रलोभनमा ठगी गर्ने भारतको गोरखपुरमा रहेको फ्युचर मेकरका एजेण्ट एकजना र पचपेडवामा रहेको एम स्टेपका एजेष्ट र सञ्चालक गरी १० जनालाई सार्वजनिक गरिएको हो ।

प्रहरीले नियन्त्रणमा लिएकाहरुमा दैलेखका कर्ण सलामी मगर, नवलपरासीका अशोक अधिकारी, झापाका खगेन्द्र निरौला, सप्तरीका मिथलेस यादव, रौटहटका मुकेश राउत, बाकेका हेमराज थापा, रामेछापका सुभाष बस्नेत, उदयपुरकी मन्जुला राई, सप्तरीका कमलेश यादव, धादिङ्गकी दिपा पुरी र रोल्पाका क्षितिज खरेल रहेका छन् ।

सो नेटवर्किङ्ग व्यवसायमार्फत ठगिएका ४१ पीडितको उजुरीका आधारमा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । उजुरीकर्ताको मात्रै १ करोड ३२ लाख ५१ हजार ३ सय रहेको खुल्न आएको छ ।

पचपेडवा, बनारस र गोरखपुरमा ठगिनेको संख्या २ हजार ४ सय ८० रहेको र उनीहरुबाट पछिल्लो १३ महिनाको अवधिमा करिव ६ करोड बढि रकम ठगी भएको खुल्न आएको छ । पीडितको उजुरीका आधारमा पछिल्लो दुई साता यता चलाएको अप्रेशनमा ११ जनालाई नियन्त्रणमा लिइएको र अन्यलाई नियन्त्रणमा लिनका लागि प्रहरी प्रधानकार्यालय र सिआईबीसँग समन्वय गरिएको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिए ।