अमेरिकासँग वार्ता गर्न इरान तयार

अमेरिकासँग वार्ता गर्न इरान तयार


इरानका विरुद्धमा लगाइएको नाकाबन्दी हटाउने हो भने इरान अमेरिकासँग वार्ताको टेबलमा बस्न तयार रहेको इरानी राष्ट्रपति हसन रौहानीले बताएका छन् । यदि अमेरिकाले इरानका विरुद्ध लगाइएका नाकाबन्दीहरूलाई हटाउँछ भने अमेरिकी प्रतिनिधिहरूसँग वार्ताको टेबलमा बस्न तयार रहेको उनले जानकारी दिएका हुन् ।

‘हामी सधैँ वार्ताकै पक्षमा हो र जुनसुकै समयमा पनि वार्तामा बस्न हामी तयार नै छौँ तर पनि अरुलाई होच्याउने काम छोड्नुपर्छ र हामीमाथि लगाइएका नाकाबन्दीहरु सबै खारेज हुनुपर्छ’– राष्ट्रपति रौहानीले आइतबार जानकारी दिएका छन् । अमेरिका तर्कका साथ प्रस्तुत हुनुपर्ने पनि उनले शर्त राखेका इरानी समाचार समिति मेहर न्युज एजेन्सीले जनाएको छ ।

सन् २०१५ मा भएको इरानसँगको आणविक सम्झौताका पक्षराष्ट्रहरू जर्मनी, फ्रान्स र युरोपेली युनियनका अरु नेताहरुले पनि आइतबार पछिल्लो समयमा इरानमा बढ्दो बिवादबाट आफूहरुको गम्भीर ध्यानाकर्षण भएको बताएका थिए ।

उनीहरुको सो प्रतिक्रियापछि आइतबार इरानी राष्ट्रपति रौहानीको सो भनाई बाहिर आएको छ । उनले यसअघि जस्तै आइतबार पनि इरान सधैँ वार्ताको पक्षमा रहेको धारणा राखेका छन् ।

गएको मे महिनामा अमेरिकाले इरानसँग सन् २०१५ मा भएको आणविक सम्झौता एकतर्फी रुपमा तोडेको थियो । सो वार्ता तोडेपछि अमेरिकाले इरानमाथि एकलौटी रुपमा नाकाबन्दी लगाएको थियो । अमेरिकाको सो निर्णयपछि इरानले पनि ६० दिनको चेतावानी दिएको र त्यतिबेला पनि युरोप र अमेरिकाले उक्त निर्णय नसच्याएपछि इरानले पनि सो सम्झौता तोडेको घोषणा गरेको थियो ।

गत केही महिनायता अमेरिका र इरानबीचको विबाद बढ्दै गएको छ । इरानमाथि युरोपेली राष्ट्रहरुले वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न आग्रह गरिरहेका छन् । यसै दबाबका कारण पनि इरानका राष्ट्रपति रौहानीले यो पछिल्लो वार्ताको प्रस्ताव गर्नुभएको अनुमान गरिएको छ । इरानको यो वार्ताप्रस्तावपछि अमेरिकाको तर्फबाट भने कुनै प्रतिक्रिया आएको छैन ।

इरानी विदेशमन्त्रीलाई संयुक्त राष्ट्रसंघको भ्रमण गर्न प्रवेशाज्ञा

यसबैची अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले इरानी विदेशमन्त्री मोहमद जाभेद जारिफलाई संयुक्त राष्ट्रसंघीय मुख्यालय भ्रमणको लागि प्रवेशाज्ञा प्रदान गरिएको जानकारी दिएका छन् ।

यो पछिल्लो समाचारले इरान र अमेरिका बीच चलिरहेको पछिल्लो वाकयुद्धका बारेमा सकारात्मक सन्देश जाने अनुमान गरिएको छ ।

इरानी प्रतिनिधिमण्डलका अन्य सदस्यहरूको टोलीसहित आइतबार न्यूयोर्क पुगेका इरानी विदेश मन्त्री जारिफलाई संयुक्त राष्ट्रसंघको मुख्यालय र त्यहाँ रहेको संयुक्त राष्ट्रसंघको लागि इरानी मिसनको कार्यालयसम्म यात्रा गर्न अनुमति दिइइएको पोम्पोओले वासिङ्टन पोस्ट पत्रिकालाई बताएका सिन्ह्वाले जनाएको छ ।

तर इरानी कूटनीतिज्ञको यो भ्रमणलाई न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघीय मुख्यालय वरपर मात्र सीमित गराइने भएको पनि अमेरिकी विदेश मन्त्रालयले जानकारी दिएको छ ।

अमेरिकी कूटनीतिज्ञहरु तेहरानको वरपर भ्रमण गर्दैनन् त्यसैले इरानी कूटनीतिज्ञहरुलाई पनि न्यूयोर्क शहरको आसपास स्वतन्त्र रूपमा भ्रमण गर्नुपर्ने कुनै कारण नदेखिएको पोम्पेओलाई उद्धृत गर्दै सो पत्रिकाले जनाएको छ ।

हालैका केही महिनायता वासिङ्टन र तेहरानबीच सैन्य विवाद सहितको वाकयुद्ध जारी रहेको छ । इरानमाथिको अमेरिकी अमेरिकी नाकाबन्दीका कारण पनि सम्बन्ध बिग्रिएको बताइएको छ ।