जेष्ठ नागरिकको रकम फिर्ता गर्न माछापुच्छ्रे बैँकलाई राष्ट्र बैँकको निर्देशन

जेष्ठ नागरिकको रकम फिर्ता गर्न माछापुच्छ्रे बैँकलाई राष्ट्र बैँकको निर्देशन


■ पुनहरि बेलबासे, भैरहवा

नेपाल सरकारले प्रदान गर्दै आएको वृद्धभत्ता रुपन्देहीको सम्मरीमाई गाउँपालिकामा रहेको माछापुच्छ्रे बैँकको शाखारहित बैँकिङ्ग सेवाले हिनामिना गरेको समाचार बाहिरिएपछि नेपाल राष्ट्र बैँकले जेष्ठ नागरिकको रकम फिर्ता गर्न सो बैँकलाई निर्देशन दिएको छ ।

नेपाल राष्ट्र बैँक भैरहवाका निर्देशक राजेन्द्र भट्टराईले सम्मरीमाई गाउँपालिकामा रहेको माछापुच्छ्रे बैँकको शाखारहित बैँकिङ्ग सेवाले वृद्धवृृद्धाको रकम हिनामिना गरेकोले उक्त रकम फिर्ता गर्न माछापुच्छ्रे बैँकलाई निर्देशन दिएको बताए ।

यसबारे माछापुच्छ्रे बैँक भैरहवा शाखाका प्रबन्धक अनुज सिग्देलले यो इस्यूमा आफू केही बोल्न नमिल्ने बताए । उनले बैँकका सम्पूर्ण सूचना प्रवक्ताले दिने उल्लेख गर्दै सम्मरीमाईमा रहेको शाखारहित बैँकिङ्ग सेवाको सूचना पनि प्रवक्ताबाटै खोज्न सुझाव दिए ।

उता माछापुच्छ्रे बैँकका प्रवक्तासमेत रहेका नायव प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले यस विषयमा अनुसन्धान गर्नका लागि समिति बनाएर स्थलगत निरीक्षण समेत गरिसकेको दाबी गरे । उनले समितिको प्रतिवेदनको आधारमा शाखारहित बैँकिङ्ग सेवाले वृद्धवृद्धाको रकम हिनामिना गरेको भए बैँकिङ्ग नियमानुसार कारवाही गरिने र उक्त एजेण्टलाई सेवामुक्त गरिने बताए ।

राष्ट्र बैँकको निर्देशनपछि बैकले उक्त रकम फिर्ता त गर्ला तर गलत काम गर्ने शाखारहित बैँकिङ सेवाका कर्मचारी (एजेन्ट) लाई कारवाही गर्छ कि गर्दैन ? प्रतिक्षाको विषय बनेको छ ।

रुपन्देहीको सम्मरीमाई गाउँपालिकामा शाखारहित बैँकिङ सेवा राखेको माछापुच्छ्रे बैंकले राष्ट्र बैंकको आँखा छलेर जेष्ठ नागरिकलाई नेपाल सरकारले चौमासिक रुपमा प्रदान गर्दै आएको सामाजिक सुरक्षा भत्ताको रकम मध्येबाट एक चौमासिकमा प्रत्येक व्यक्तिबाट रु ५ सय उक्त एजेन्टले आफैले राखेको वृद्धवृद्धा र उनीहरुका परिवारका सदस्यहरुको दाबी रहँदै आएको छ । सम्मरीमाई गाउँपालिकाबाट २ हजार २ सय बढीले सामाजिक सुरक्षा भत्ता पाउँदै आएका छन् ।