बंगलादेशका पूर्वराष्ट्रपति एर्सादको निधन

बंगलादेशका पूर्वराष्ट्रपति एर्सादको निधन


बंगलादेशका पूर्वराष्ट्रपति एवं सैनिक प्रमुख हुसेन मोहम्मद एर्सादको ८९ वर्षको उमेरमा आइतबार निधन भएको छ । सन् १९९० मा सत्ता छाड्नुअघि एर्सादले सन् १९८३ देखि १९९० सम्म बंगलादेशको सत्ता सम्हालेका थिए । एर्सादले सन् १९८२ अप्रिल २४ मा जननिर्वाचित राष्ट्रपति अब्दुस सत्तारलाई सत्ताच्युत गरी शासनभार आफूले लिएका थिए ।

सन् १९९० मा भएको जनप्रदर्शनबाट सत्ता छाड्न बाध्य भएका एर्सादलाई त्यसपछि भ्रष्टाचारको आरोपमा केही वर्ष जेल सजाय दिइएको थियो । पछिल्लो समय जातीय पार्टी खोलेका एर्सादको बुढ्यौली उमेरका जटिलताका कारण निधन भएको उनका पूर्वसहकर्मी एवं सांसद काजी फिरोज रसिदले बताए ।

सैनिक जनरल एर्सादले रक्तपातविहीन राज्यविप्लवमार्फत जननिर्वाचित सरकारबाट सत्ता हत्याएका थिए । उनकै शासनकालमा इस्लामलाई बंगलादेशको राज्यधर्म बनाइएको थियो । सन् १९९० को दशकमा सत्ताच्युत भए पनि उनको जातीय पार्टीले संसदमा तेस्रो स्थान हासिल गरेको थियो । एर्साद आफ्नो निर्वाचन क्षेत्रमा निकै लोकप्रिय नेता पनि थिए जहाँबाट उनी लगातार ६ पटक संसदीय निर्वाचनमा विजयी बनेका थिए ।