विश्वकपको फाइनलमा आज इंग्ल्यान्ड र न्यूजील्याण्ड भिड्दै

विश्वकपको फाइनलमा आज इंग्ल्यान्ड र न्यूजील्याण्ड भिड्दै


विश्वकप क्रिकेट २०१९ को फाइनल खेल आज (असार २९ गते) आयोजक राष्ट्र इंग्ल्यान्ड र न्यूजील्यान्डबीच हुँदैछ । क्रिकेटको मक्का मानिने ऐतिहासिक लर्डस् मैदानमा फाइनल भिडन्त हुँदैछ । यो भिडन्तमा जसले जिते पनि क्रिकेटले नयाँ विश्व च्याम्पियन पाउने छ ।

इंग्ल्यान्ड २७ वर्षपछि फाइनलमा पुगेको हो । यो भन्दाअघि तीनपटक फाइनलमा पुगे पनि इंग्ल्यान्डले विश्वकपको उपाधि जित्न सकेको थिएन । यसपटक इंग्ल्यान्डलाई विश्वकपको प्रवल दाबेदार मानिएको छ । सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन अष्ट्रेलियालाई ८ विकेटले पराजित गरेपछि इंग्ल्यान्डलाई अहिले प्रमुख दावेदारको रुपमा हेरिएको छ ।

त्यस्तै, सेमिफाइनलमा अर्को प्रवल दाबेदार भारतलाई पराजित गरेर लगातार दोश्रोपटक फाइनलमा प्रवेश गरेको न्युजील्यान्डलाई पनि विश्वकपको दावेदारको रुपमा हेरिएको छ । सन २०१५ को विश्वकपको फाइनलमा न्यूजील्यान्ड अष्ट्रेलियासँग पराजित भएको थियो ।

घरेलु मैदान र उत्कृष्ट ब्याटिङ, बलिङ र फिल्डिङका कारण इंग्ल्यान्डले यो विश्वकपमा बाजी मार्ने अनुमान गरिएको छ । यो विश्वकपमा सर्वाधिक रन पनि इंग्ल्यान्डकै ब्याट्सम्यानले बनाएका छन् । तर विश्वकपमा डाकहर्षको रुपमा परिचित न्यूजील्यान्डले उलटफेर गर्नसक्ने सम्भावना पनि उत्तिकै रहेको छ ।

यो विश्वकपमा जस्ले बाजी मारे पनि क्रिकेटले भने नयाँ विश्व च्याम्पियन पाउने छ । अहिलेसम्म इंग्ल्यान्ड र न्यूजील्यान्डले विश्वकपको उपाधि जित्न सकेका छैनन् । सन २०११ र २०१५ मा भारत र अष्ट्रेलियामा आयोजित विश्वकप आयोजक राष्ट्रले जितेका थिए । यो विश्वकप पनि आयोजक राष्ट्रले नै जित्ने यतिबेला अड्कल काटिएको छ ।