सरकारको साथ नपाएको भोटेवहाल तयारी पोशाक उत्पादक तथा बिक्रेता संघको गुनासो

सरकारको साथ नपाएको भोटेवहाल तयारी पोशाक उत्पादक तथा बिक्रेता संघको गुनासो


भोटेवहाल तयारी पोशाक उत्पादक तथा बिक्रेता संघले सरकारको साथ नपाएको गुनासो गरेका छन् । सरकारले सहयोगभन्दा पनि चौतर्फी रुपमा हमला गर्दै आएकोप्रति उनिहरु चिन्तित भएका हुन् ।

शनिबार संघको चौथो बार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनको उद्घाटन सत्रमा बोल्दै संघमा आवद्ध व्यवसायीहरुले दक्ष कालिगढ र कच्चा पदार्थको अभाव हुँदा पनि व्यवसायी टिकाएर राखेको बताए । संघका अध्यक्ष चन्द्रबहादुर लामिछानेले बढ्दो घरबहा कर, कालिगढलाई तालिम, उद्योग दर्तामा सरकारी ढिलासुस्ती, कच्चापदार्थ आयातमा सरकारी अंकुश, उच्च भन्सार मूल्य र बिचौलियाका कारण साना उद्योग टिकाउन मुश्किल रहेको बताए ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आफूहरु व्यवसायीको पक्षमा रहेको भन्दै समस्या भए सहयोग गर्ने बताए । व्यवसायीहरुले न्यूरोड क्षेत्रमा सुरु गरिएको ‘स्मार्ट पार्किङ’ ले आफूहरुलाई मार परेको भन्दै तत्काल हटाउन माग गरिरहेका बेला मेयर शाक्यले पुनःबिचार गर्ने बताएका थिए । उनले व्यसायीहरुलाई न्यूरोड क्षेत्रको सडक जाम गर्ने गरी व्यवसाय नगर्न अनुरोध गरेका थिए ।

यस्तै कार्यक्रमका बिशेष अतिथि समेत रहेका नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले महानगरकै अव्यवहारिक निर्णयका कारण आम व्यवसायीले सास्ती भोग्नुपरेको बताए । उनले नेपालमा अहिले कृषि, निर्माण र उत्पादनमूलक उद्योगमा दक्ष मात्र होइन, अदक्ष कामदार समेतको अभाव हुन थालेको बताए । ‘ नेपालमै दक्ष जनशक्तिलाई बिदेशको भन्दा राम्रो अवसर हुँदाहुँदै युवा जनशक्ति बाहिरिने क्रम उच्च छ ।’ उनले भने, ‘सरकारले अब कला र सिप भएको जनशक्तिलाई नेपाल मै बस्ने महोल सृजना गर्नुपर्छ ।’

उनले सरकार व्यवसायीप्रति अनुदार बन्दै गएको भन्दै यो वा त्यो बहानामा व्यवसायीलाई दुःख दिएको अध्यक्ष कटुवालको भनाई छ । ‘सरकार हामीप्रति अनुदार भइरहे सबै न्यूरोडका होलसेल व्यवसायीले विकल्प खोज्नुपर्छ’ उनले भने ।
अहिले नेपालको निर्यातमा ठुलो भूमिका निर्वाह गर्दै आएको साना तथा घरेलु उद्योगमा कामदारको चरम अभाव हुन थालेको ब्यवसायीहरु बताउछन् । सरकारले समेत साना उद्योगहरुलाई अघि बढाउन सिपमुलक तामिममा ध्यान दिन नसक्दा नेपालमै रोजगारीको अवसर हुंदाहुंदै पनि लाखौ युवा बिदेश जान बाध्य छन । त्यसो त सरकारले ५ लाख रोजगराी सिर्जना गर्ने दावी गरिरहेका बेला साना तथा घरेलु उद्योगलाई सहुलियत ऋण समेत नदिएको व्यवसायीको गुनासो छ ।

लामिछानेको नेतृत्वमा नयाँ कार्यसमिति चयन
भोटेवहाल तयारी पोशाक उत्पादक तथा बिक्रेता संघको चौथो बार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले चन्द्र बहादुर लामिछानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । समितिको वरिष्ठ उपाध्यक्षमा शान्ता मणि रेग्मी र महासचिवमा विष्णुप्रसाद गौतमलाई चयन गरिएको निर्बाचन मण्डलका संयोजक हरि बहादुर गौतमले जानकारी दिए । उनका अनुसार उपाध्यक्षमा कुमार बस्नेत, तिलक प्रसाद अधिकारी, कुसुम महर्जन, विकास पोडे, घनश्याम नेपाल, प्रविन्द्र देउला र जाकीर हुसेन अन्सारी चयन भएको छन् ।

यस्तै, संघको सचिवमा द्रोण शेखर खनाल, रामजी उप्रेती, मिलन शर्मा, बिजू बज्राचार्य, लक्ष्मी ठकुरी चयन भएका छन् भने कोषाध्यक्षमा मुना रिजाल सह–कोषाध्यक्षमा शिव केसीलाई चयन गरिएको निर्बाचन मण्डलले जानकारी दिएको छ । संघ कार्यसमितिमा १४ जना सदस्यहरु च्यन गरिएको छ ।