ओमानमा मनाइयो २०६औँ भानुजयन्ती

ओमानमा मनाइयो २०६औँ भानुजयन्ती


■ आरके श्रीवास्तव, ओमान

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ओमान च्याप्टरले भानुजयन्ती मनाएको छ । १२ जुलाई २०१९ शुक्रबारका दिन अलरिफ होटेल गोब्रामा एक साहित्यिक कार्यक्रम गरेर २०६औँ भानुजयन्ती भब्यताका साथ मनाइएको हो ।

समाजका अध्यक्ष सुशील पुन विरहीको सभापतित्व र गैरआवासीय नेपाली संघका सचिव डीबी क्षेत्रीको प्रमुख आतिथ्य र एनआरएन सोसल क्लब ओमानका अध्यक्ष सेवन्त पुर्जा पुनको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा अथितिको रुपमा ओमानका क्रियाशील सबै संघ संस्थाका प्रतिनिधिहरु, पत्रकार, साहित्यकार र अन्य साहित्यप्रेमी दर्शकहरुको बाक्लो उपस्थिति रहेको थियो ।

समाजका कोषाध्यक्ष तथा समाजसेवी तोलाकान्त भट्टराईको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा सभापतित्व ग्रहण गर्नुभएका सुशील पुन विरहीले आदिकवि भानुभक्त आचार्यको जीवनी र योगदानको बारे प्रकाश पार्दै श्रद्वा सुमनका शब्दगुच्छाहरु अर्पण गर्नुका साथै आफ्ना गजलहरु पनि प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि क्षेत्रीको मन्तब्य राखिएको थियो भने साहित्य सर्जकहरुको रचना वाचनलाई स्थान दिइएको थियो ।

ओमानमा भएका साहित्यिक कार्यक्रममध्ये सम्भवतः अहिलेसम्मकै भब्य बन्न गएको सो अवसरमा राजु लामा, शालिकराम चापागाई, घनस्याम भण्डारी, तुकबहादुर राम्दान, जीवन कार्की, खेम खड्काथोकी, छबिलाल बस्नेत, कमल पराजुली, इन्दिरा गुरुङ, सुशील पुन विरही, प्रतीक सँग्रामी, सोमकृष्ण श्रेष्ठ, कृष्ण भुसाल प्यासी, तोलाकान्त भट्टराई, ओमकार तामाङ, यामप्रसाद पौडेल, शालिकराम आचार्य, हरि न्यौपाने, रञ्जित आचार्य, लोकेन्द्र सुनुवारसहित २२ जनाले आ-आफ्नो रचना प्रस्तुत गरेका थिए भने लगभग ८० जनाको उपस्थिति रहेको थियो । रचना वाचन गर्ने सबैलाई सम्मानपत्र र खादाद्वारा सम्मानित गरिएको थियो ।

एनआरएन सोसल क्लबको विशेष सहयोग रहेको कार्यक्रममा, समीर श्रेष्ठ (युनिमोनी इष्चेन्ज)को पनि महत्त्वपूर्ण सहयोग रहेको थियो । सुन्दर साहित्यिक माहोलमा सम्पन्न कार्यक्रमको सञ्चालन अनेसासका महासचिव कृष्ण भुसाल प्यासीले गर्नुभएको थियो । सहयोगी र सहभागी सबैप्रति आभार प्रकट गर्दै सभापतिले गजलसहित कार्यक्रमको समापन गर्नुभयो।