मन्त्री पण्डितविरुद्ध कालोझन्डासहित नाराबाजी

मन्त्री पण्डितविरुद्ध कालोझन्डासहित नाराबाजी


संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितविरुद्ध नाराबाजी भएको छ । आदिवासी जनजातिका युवा विद्यार्थीको एक समूहले मन्त्री पण्डितविरुद्ध कालोझन्डासहित नाराबाजी गरेको हो ।

शुक्रबार ललितपुरको जाउलाखेलमा आयोजित आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको १९औँ सञ्चालक परिषद्को बैठकमा मन्त्री पण्डितविरुद्ध सो विरोध भएको हो । सो परिषद बैठकको अध्यक्षता गर्न बोलाइएका मन्त्रीविरुद्ध उनीहरू एक्कासि पुगेर सो नाराबाजी गरेका हुन् ।

आदिवासी जनजाति, मधेसी, दलित, मुस्लिम, महिला, अपांगता भएका, पिछडिएको क्षेत्रविरोधी र आरक्षणविरोधी भन्दै उनीहरूले मन्त्री पण्डितविरुद्ध नाराबाजी गरेका थिए । बैठक स्थलमा कालोझन्डासहित नाराबाजी र होहल्ला भएपछि सुरक्षामा खटिएका अंगरक्षकले मन्त्री पण्डितलाई त्यहाँबाट बाहिर निकालेका थिए ।