चार बर्षपछि तातोपानीबाट आयात शुरु

चार बर्षपछि तातोपानीबाट आयात शुरु


एक महीनाअघि पुनः सञ्चालनमा ल्याइएको चीन जोड्ने उत्तरको मुख्य तातोपानी नाकाबाट चिनियाँ सामग्री नेपाल भित्रिन शुरु गरेको छ । पछिल्लो एक साताबाट शुरु आयात कारोवार विस्तारै बढ्दै गएको छ ।

विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पपछि चार वर्ष बन्द भएको नाका गत जेठ १५ गतेबाट औपचारिकरूपमा पुनः सञ्चालनमा ल्याइएको थियो । नवनिर्मित अत्याधुनिक सुक्खा बन्दरगाह सरेको तातोपानी भन्सार पुनः सञ्चालनको झण्डै तीन साता प्रशासनिक व्यवस्थापन र आन्तरिक तयारीमा जुट्दा व्यापारिक कारोवार हुनसकेको थिएन ।

‘चीनबाट सामग्री भित्रिन थालेको छ’, भन्सार अधिकृत केशवराज ओलीले भने । भन्सारले कारोवार शुरु गरेयता विस्तारै आयात बढ्दै गएको उनले बताए । ओलीका अनुसार यसबीचमा १० कन्टेनर सामान भन्सार जाँचपास भई राजधानी गइसकेको छ । सुक्खा बन्दरगाह भन्सार यार्डमा अझै चार कन्टेनर सामान जाँचपासको पर्खाइमा छन् ।