‘आल्प’ अध्यक्षमा डा. सङ्ग्रौला

‘आल्प’ अध्यक्षमा डा. सङ्ग्रौला


‘एसियन एसोसियसन अफ ल प्रोफेसर्स’ (AALP) को अन्तर्राष्ट्रिय सम्मेलन तथा साधारणसभा धुलिखेलमा सम्पन्न भएको छ ।

यही जुलाई ९ र १० तारिखका दिन सम्पन्न कानूनका अध्यापकहरूको सो सम्मेलन एसियाई कानून अध्यापन संस्थाहरूका बीच कानूनका विषयमा अनुसन्धान र अध्ययनहरूलाई फराकिलो पार्दै एसियाली देशका सर्वोच्च अदालतका फैसलाहरूको अनुवाद र तुलनात्मक अध्ययन गर्ने, एकअर्काका कानूनहरूको तुलनात्मक अध्ययन गर्ने र अन्तर्राष्ट्रिय कानूनको विकासमा एसियाको भूमिका सशक्त बनाउने निर्णयका साथ सम्पन्न भएको सम्बद्ध पक्षले जनाएको छ ।

सम्मेलनमा ४१ वटा कार्यपत्र प्रस्तुत भएका थिए । कार्यपत्रहरू जलवायु परिवर्तन, बेल्ट एण्ड रोड इनिसियटिभ, मानव अधिकार, अन्तर्राष्ट्रिय कानून र संविधानसम्बन्धी विषयमा केन्द्रित थिए ।

१२६ जना प्रतिनिधि प्राध्यापकहरू, अनुसन्धानकर्ता एवम् विज्ञहरू समावेश रहेको सो सम्मेलनले एसियाली कानूनशास्त्रको विकासलाई नयाँ आयाम दिने पहल शुरु गरेको बताइएको छ ।

संस्थाको साधारणसभाले प्राध्यापक डा. युवराज सङ्ग्रौलाको अध्यक्षतामा तीन वर्षका लागि १५ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । कार्यसमितिले प्राध्यापक सङ्ग्रौलालाई निर्विरोध चयन गरेको हो ।

संस्थाका दुई उपाध्यक्षमा चीनका प्राध्यापक डा. लियु जुनरङ, भारतका प्राध्यापक डा. कनवाल डीपी सिंह निर्वाचित भएका छन् । प्रा. जुनरङ ट्रान्स हिमालयन स्टडी सेन्टर लहसान युनिभर्सिटी सिचुवानका निर्देशक हुन् भने प्राध्यापक कनवाल गुरु गोविन्द इन्द्रप्रस्थ विश्वविद्यालय ल स्कूलकी डीन हुन् ।

यस्तै, संस्थाको कार्यकारी सल्लाहकारमा बांगलादेशका प्रध्यापक मीजानुर रहमान निर्वाचित भएका छन् । उनी ढाका विश्वविद्यालयका प्राध्यापक तथा बांगलादेश राष्ट्रिय मानवअधिकार आयोगका पूर्वअध्यक्ष हुन् ।

संस्थाको महासचिवमा प्राध्यापक उपमा गौतम (भारत) निर्वाचित भएका छन् भने चीनबाट एकजना सदस्य, भियतनामबाट एकजना सदस्य, पाकिस्तानबाट एकजनासहित विभिन्न देशको प्रतिनिधित्व हुने गरी पन्ध्र जनाको कार्यसमिति गठन भएको छ ।

संस्थाको अर्को सम्मेलन आगामी वर्ष जुलाईमा कुनै सदस्य देशको शहरमा हुने बताइएको छ ।

संस्थामा हाल ६२ वटा विश्वविद्यालयहरू आबद्ध छन् भने नेपालको काठमाडौं स्कूल अफ ल, बंगलादेशको ढाका विश्वविद्यालय, पाकिस्तानको पाकिस्तान इन्ष्टिच्युट अफ पिस, भारतको गुरु गोविन्द इन्द्रप्रस्थ विश्वविद्यालय स्कूल अफ ल एण्ड लिगल स्टडिज र चीनको लहसान नर्मल युनिभर्सिटी ट्रान्सहिमालय स्टडीज सेन्टर संस्थागत सदस्य रहेका छन् ।

ज्ञातव्य छ, डाक्टर सङ्ग्रौलाको अग्रसरतामा भएको यो सम्मेलन कुनै व्यापारी र सरकारबाट आर्थिक तथा अन्य सहयोग नलिइकन सम्पन्न भएको छ । कानूनका अध्यापकहरूको यस्तै सम्मेलन सानो स्तरमा पहिले पनि भएको तर यस स्तरको सम्मेलनचाहिँ पहिलोपटक भएको हो ।

यो पनि हेर्नुहोस्-

दुईपक्षीय सम्बन्ध सबल बनाउन भारतमा डा. सङ्ग्रौलाको सक्रियता
https://ghatanarabichar.com/141576