कांग्रेसलाई सञ्चारमन्त्रीको प्रश्न– दिनभर बीपी, रातभर विप्लव नै कांग्रेसको नीति हो ?

कांग्रेसलाई सञ्चारमन्त्रीको प्रश्न– दिनभर बीपी, रातभर विप्लव नै कांग्रेसको नीति हो ?


सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाबारे प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको धारणा माग गरेका छन् । मन्त्री बाँस्कोटाले प्रमुख प्रतिपक्षी दल कांग्रेसले सरकारको आलोचनाका नाममा गलत बाटो लिएको आरोप लगाए । उनले हिंसा गर्ने विप्लव समूह र हिंसा नगर भन्ने सरकारलाई एउटै नजरले नहेर्न कांग्रेसलाई सुझाब दिए ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीबार सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले भने, ‘कांग्रेसको शान्तिको एउटा तारा र लोकतन्त्रको अर्को तारा कता हरायो ? हिंसा र निषेधको राजनीतिलाई सँगै लाने कांग्रेसको कस्तो दृश्य ?’ ‘दिनभर बीपी, रातभर विप्लव नै कांग्रेसको नीति हो ?’ बाँस्कोटाको प्रश्न थियो ।

‘हिंसाबारे कांग्रेसको धारणा के हो ? हिंसा बन्द हुनुपर्छ वा विप्लवजीहरूले गरेको हिंसा वैध हो ?’ बाँस्कोटाको प्रश्न थियो । उनले सबैले बाँच्न पाउनुपर्ने बताए । उनले भने, ‘मृत्यु व्यापार होइन । सबैले बाँच्न पाउनुपर्छ भन्ने सरकारको धारणा छ ।’

हिजो (बुधबार) भोजपुरमा प्रहरी मारिएको स्मरण गर्दै उनले हिंसा र आतंकलाई प्रोत्साहित गर्दै जाँदा कहाँ पुगिन्छ भन्ने विगतलाई सम्झिन आग्रह गर्दै हिंसाको सहारा लिएर सरकारलाई घेराबन्दी गर्छु भन्ने नसोच्न कांग्रेसलाई सचेत गराए ।

‘१० वर्ष भयानक हिंसा हुँदा त्यसका मुख्य मतियार को थिए ? उनीहरूको दृष्टिकोण पुरातत्व विभागबाट खोज्नुपर्ने भयो,’ मन्त्री बाँस्कोटाले भने । कुमार पौडेलको मृत्युका सन्दर्भमा उनले भने, ‘सबै घटनामा संसदीय समिति बनाउन सकिँदैन ।’