नमुनाका रूपमा तीन रुटमा साझाको रात्रिकालीन बससेवा शुरु

नमुनाका रूपमा तीन रुटमा साझाको रात्रिकालीन बससेवा शुरु


साझा यातायात सहकारी संस्थाले काठमाडौंका मुख्य सडकमा नमुनाका रूपमा गत साताबाट राति ९ बजेबाट रात्रिबस शुरु गरेको छ ।

नमुनाका रूपमा तीन रुटमा बस शुरु भएको संस्थाका व्यवस्थापक महेन्द्रराज पाण्डेयले बताए । उनका अनुसार न्युरोड गेटबाट नारायणगोपाल चोक हुँदै नयाँ बसपार्क, न्युरोड गेटबाट त्रिपुरेश्वर हुँदै कलंकी र न्युरोड गेटबाट नै नयाँबानेश्वर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नयाँ बसपार्कसम्म गरेर तीन रुटमा अहिले बस शुरु भएको हो । बस विभिन्न स्थानको परिक्रमा गरेर पुनः न्युरोड गेटमा नै फर्किनेछन् । यात्रुलाई रात्रिसेवाबारे जानकारी नभएकाले अहिले यी बसमा यात्रु संख्या कम भएको उनले बताए । उनले भने, ‘यात्रुले जानकारी पाएपछि बिस्तारै बढ्दै जानेछ ।’

परीक्षणका रूपमा तीनवटा बसबाट शुरु गरिएकोमा आगामी दिनमा रात्रिबस विस्तार गर्दै जाने संस्थाले जनाएको छ । संस्था गैरनाफामूलक भएकाले आगामी दिनमा यात्रुको सुविधाका लागि बस थप्ने र रुट अन्यत्र फैलाउने व्यवस्थापक पाण्डेयले बताए । ृनले भने, ‘हामीले यात्रुको सुविधालाई ध्यान दिएर सेवा थप गरिरहेका छौँ ।’

काठमाडौं उपत्यकाका स्थानीय तहसँगको सहकार्य बढाउँदै गएको साझाले जनाएको छ । काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, महालक्ष्मी नगरपालिका, गोदावरी नगरपालिकालगायतले साझाको सेयर खरिद गरेको व्यवस्थापक पाण्डेयले बताए । उनका अनुसार संस्थाले प्रदेश नं. ३, कामनपा र ललितपुर महानगरपालिकासँगको सहकार्यमा रु. ४५ करोडमा विद्युतीय बस खरिद गर्ने भएको छ । विद्युतीय बस खरिदका लागि प्रदेश नं. ३ सरकारबाट रु. ३० करोड, काठमाडौं महानगरपालिकाबाट रु. १० करोड, ललितपुर महानगरपालिकाबाट दुई करोड ५० लाख र साझा आफैँले रु. दुई करोड ५० लाख सेयर लगानी गरेर विद्युतीय बस खरिद गर्ने निर्णय भएको थियो ।

दुई दशक पहिलेसम्म सबैभन्दा भरपर्दाे र विस्तार भएको सेवा प्रदायकका रूपमा साझा यातायात रहेको थियो । बीचमा केही वर्ष सेवा अवरुद्ध भएर पुनः सञ्चालनमा आएपछि साझाले यात्रुलाई सुविधा दिन विभिन्न कुराको शुरुआत गर्दै आएको छ । ठूला र आरामदायी सिट, टिकट, विद्युतीय कार्ड, अपांगता र ज्येष्ठ नागरिकमैत्री बसको शुरुवात साझाले गरेको हो । ०१६ मा स्थापित उक्त संस्थाको लामो समयसम्म सेवा अवरुद्ध भएपछि ०७० मा सेवा पुनः शुरु भएको थियो । अहिले साझाका ७१ बस नियमित सञ्चालनमा छन् । यीमध्ये एउटा लो फ्लोर बस (अपांगता र ज्येष्ठ नागरिकलक्षित बस) र चार उपत्यकाबाहिर चल्ने सुविधासम्पन्न (डिलक्स) बस छन् भने बाँकी शहरी बस रहेका संस्थाले जनाएको छ ।

पेट्रोलियम पदार्थबाट चल्ने बसहरू मात्रै भित्र्याइरहेको संस्थाले प्रदेश सरकार र स्थानीय सरकारसँगको सहकार्यमा विद्युतीय बससमेत खरिद र सञ्चालनको तयारी गरिरहेको बताइएको छ ।

rss