सानोठिमीका प्राध्यापक क्याम्पसप्रमुखको राजीनामा माग्दै आन्दोलनमा

सानोठिमीका प्राध्यापक क्याम्पसप्रमुखको राजीनामा माग्दै आन्दोलनमा


सानोठिमी क्याम्पसका प्राध्यापकहरूले क्याम्पसप्रमुख रामचन्द्र घिमिरेको राजीनामा माग गरेका छन् । क्याम्पसप्रमुख घिमिरेले क्याम्पस र प्राध्यापकहरूको हितविरुद्ध शृङ्खलाबद्ध रूपमा कार्य गर्दै आएको भन्दै उनीहरू क्याम्पसप्रमुख घिमिरेको राजीनामा माग गर्दै चरणबद्ध आन्दोलनमा उत्रिएका हुन् ।

घिमिरेले क्याम्पसको १३ रोपनी जग्गा कौडीको भाउमा अनिश्चित समयका लागि भाडामा लगाएको, सो कार्यको विरुद्ध बोल्ने प्राध्यापकलाई गाली बेइज्जत गर्ने, उनीहरूलाई रातिराति फोन गर्दै धम्की दिने, पूर्वक्याम्पसप्रमुखहरूले क्याम्पसको नाममा जम्मा गरेको ७ करोडभन्दा बढी रुपैयाँ प्रक्रिया नपु¥याई जथाभावी खर्च गरेर क्याम्पसलाई टाट पल्टिने अवस्थामा पु¥याएको विरोधमा उत्रिएका प्राध्यापकको भनाइ छ । त्यस्तै, भवन निर्माण समितिमा आफूअनुकूलका व्यक्तिहरू मात्र राखेर अनियमितता गरेको, भवन निर्माणका लागि अनुदान आयोगको पैसाबाहेक अन्यत्रबाट कुनै स्रोत नजुटाएको, क्याम्पसमा करारमा प्राध्यापक र कर्मचारी नियुक्ति गर्दा आफूअनुकूलका व्यक्ति मात्र नियुक्त गर्न कसैको पहुँचमा नभएका पत्रिकामा विज्ञापन प्रकाशित गर्ने र सो पत्रिका सबै खरिद गरी कसैलाई थाहै नदिने, नियुक्तिको सूचना निकाल्दा हप्ता दिनअघिको मिति राखेर हप्ता दिनपछि मात्र सूचना टाँस गर्नेजस्ता कार्य गर्ने गरेको उनीहरूले बताएका छन् ।

क्याम्पसप्रमुखले क्याम्पसका कामहरू क्याम्पस हाताबाहिर गएर गर्ने गरेको जसका लागि झोलामै क्याम्पसको लेटरप्याड र छाप बोक्ने गरेकोलगायतका काम गर्ने गरेको आन्दोलित प्राध्यापकहरूको भनाइ छ । क्याम्पसप्रमुखको सोही कार्यका विरोध गर्दै सात दिनभित्र राजीनामाको माग गरेको असार १५ गते नेपाल प्रगतिशील प्राध्यापक संगठन, एकाइ समिति सानोठिमीका अध्यक्ष सोमनाथ ढकाल र नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठन, एकाइ समिति सानोठिमीका अध्यक्ष अम्बरजंग लिम्बूद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । उनीहरूले दिएको समयसीमाभित्र पनि क्याम्पसप्रमुख ढकालले रानीनामा नदिएपछि उनीहरू अहिले चरणबद्ध आन्दोलनमा छन् ।

घिमिरेविरुद्धका चरणबद्ध आन्दोलनका क्रममा २३ असारमा उनीविरुद्ध हस्ताक्षर तथा भण्डाफोर अभियान चलाइसकेका छन् भने २४ असारबाट तीन दिन क्याम्पसप्रमुखको कार्यकक्षअघि कालोपट्टीसहितको धर्ना जारी राखेका छन् । २७ असारबाट पठनपाठनबाहेकका सबै गतिविधि ठप्प पार्ने र १ साउनबाट क्याम्पसप्रमुखलाई क्याम्पसमा रोक लगाउने कार्यक्रम उनीहरूले तय गरेका छन् ।