अनुजा प्रधानद्वारा एनआरएनए अध्यक्षमा उम्मेदवारी घोषणा

अनुजा प्रधानद्वारा एनआरएनए अध्यक्षमा उम्मेदवारी घोषणा


बेल्जियम । गैरआवासीय नेपाली संघ (एनआरएनए) एनसीसी बेल्जियमकी उपाध्यक्ष अनुजा प्रधानले एनआरएनए एनसीसी बेल्जियम (२०१९–२०२१) को लागि अध्यक्षमा उम्मेदवारी घोषणा गरेकी छन् ।

व्यवसायी तथा सामाजिक अभियन्ता अनुजा एनआरएनए बेल्जियममा एक होनाहार सक्रिय महिलाका रुपमा परिचित छिन् । एनआरएनए तथा महिला उत्थानका कार्यक्रममा उनले प्रायः नेतृत्वदायी भूमिका निभाएकी हुन्छिन् ।

सामाजिक अभियानहरु हुन् वा महिला समस्याका कुरा् हुन्, अनुजा इमान्दारीपुर्वक भूमिका निभाउन सफल छिन्। उनलाई जुन अभियानले जन्मायो एकपटक त्यो अभियानको नेतृत्वमा लैजादा न्याय हुने देखिन्छ भन्नेहरु समाजमा धेरै छन् ।

‘हामी महिलाहरु कतिन्जेल सहायक भूमिकामा बस्ने ? आदरणीय दिदी र दाजुहरुको पसिनाले हुर्केको एनआरएनए बेल्जियममा हामीले नेतृत्व गर्न किन नसक्ने ? हामी महिलाहरु बेल्जियमको नेपाली समाजको आधि हिस्सा हो। हामी महिलाहरु राजनीतिक रुपले विभाजित नभैकन एक ढिक्का भयौँ भने नेतृत्वमा पुग्न कसैले रोक्न सक्दैन।’ आफ्नो उम्मेदवारी घोषणाको लागि आयोजित कार्यक्रममा अनुजाले भावुक हुँदै भनिन्, ‘अब सम्पूर्ण महिलाहरु एकजुट बनेर नेतृत्वमा पुन हस्तक्षेप गर्ने बेला आएको छ। हामी एक भयौँ भने हामीले जितेर देखाई दिन्छौँ । सम्मानित दिदीलाई अन्तराष्ट्रिय सचिव जस्तो गरिमामय पद कसैले उपहार दिएको हैन। उहाँले लडेर लिनुभएको हो। अन्तर्राष्ट्रिय महिला संयोजक, उपाध्यक्ष, आइसीसीमा समेत धेरै दिदीहरु पुगिसक्नुभएको छ।’

हामी पर्ख र हेर हैन संघर्ष गर, लडाईं जित र पद खोसेर लेउ भन्ने नारासहित चुनावको मैदानमा जानुको विकल्प छैन। हामी हेपिएका छौँ भनेर मात्र हुँदैन उनी बोल्दै गइन, ‘हाम्रो आवाज बुलन्द पारौँ र सम्झौताहीन ब्यालेटको लडाइमा आमा, दिदी बैनी र हाम्रो अभियानलाई साथ दिने सम्पूर्ण दाजुभाइहरु मौरीझैँ एकाकार बनेर लागौं । मेरो सम्पूर्ण आमा, सानिमा, दिदी बहिनी र अग्रजहरुलाई अनुरोध छ अब नारी हिम्मतलाई मर्न नदिउँ।’

अन्तमा उनले सम्पूर्ण महिलाहरुलाई संकेत गर्दै थपिन्- ‘महिलाहरुलाई आरक्षणमुखी निरीह सहयोगी बनाउने चलन बदल्नु छ, नारीलाई नेतृत्व गर्न सक्ने स्वाभिमानी अभियन्ता बनाएर सामाजिक रुपान्तरणमा महिलाहरुको जिम्मेवारी पूरा गर्न मेरो उम्मेदवारी हो। सम्पूर्ण जागृत नारीमनहरुलाई मेरो सम्मान छ, नारी एकता जिन्दावाद !’

यही १० जुलाईमा एक प्रेसमिट गर्दै उनले एनआरएनएका अग्रज अभियन्ताहरु र साथीहरूसँगको परामर्शमा आफूले अध्यक्षमा उम्मेदवारी घोषणा गर्ने मनस्थितिमा पुगेको र कुनै हालतमा आफ्नो उम्मेदवारी नझिक्ने बताइन् ।

अनुजाले एनआरएनए बेल्जियमको महासचिव भएर कार्यकाल पूरा गरी २०१७–२०१९ मा उपाध्यक्ष रही सफलतापूर्वक आफ्नो कार्यकाल पूरा गर्दै छन् ।