श्रीमतीलाई मारेर ड्रममा लुकाएपछि….

श्रीमतीलाई मारेर ड्रममा लुकाएपछि….


नेपालगन्ज उपमहानगरपालिका–२ घरबारीटोल निवासी ३६ वर्षीया ललिताकुमारी लोधको श्रीमानको कुटाइबाट मृत्यु भएको छ ।

श्रीमान शिवकुमार लोधले ड्रममा लुकाएर राखिएको अवस्थामा बुधबार साँझ ललिताको शव फेलापरेको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए । उनका अनुसार विद्यालय गएका छोराले घरमा आउँदा आमालाई नदेखेपछि सोधीखोजी गरी होहल्ला गर्दा मृतकको शव ड्रममा राखिएको अवस्थामा भेटिएको थियो ।

जीवित रहेको अनुमानमा ललितालाई शिक्षण अस्पताल नेपालगन्ज पु¥याइए पनि चिकित्सकले केही घन्टाअघि नै मृत्यु भएको बताएका थिए । सधैँजसो झगडा गर्दै कुटपिट गर्ने शिवकुमारले छोरा अमन विद्यालय गएको बेलामा ललितालाई कुटेर हत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।

प्रहरी उपरीक्षक वलीले घटनाको जानकारी पाएलगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले मृतकका श्रीमान् शिवकुमारसहित दुईलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको बताए । मृतक ललिताको अनुहार, टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ ।