आाँप बोकेर चितवनतर्फ आएको भारतीय ट्रकमा तोडफोड

आाँप बोकेर चितवनतर्फ आएको भारतीय ट्रकमा तोडफोड


भरतपुर महानगरपालिका–२ क्षेत्रपुरमा रहेको तरकारी तथा फलफूल थोक बजारमा आँप ल्याएको भारतीय ट्रकमा आज बिहान आगजनीको प्रयास भएको छ ।

बिहान करीब ३ बजेतिर आँप लिएर बजार क्षेत्रमा प्रवेश गरेको यूपि ४१ एटी २६९१ नम्बरको भारतीय मालबाहक ट्रकमा तीन युवाले तोडफोड गर्नुका साथै आगजनीको प्रयास गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

स्कुटरमा आएका युवाले गाडीको अगाडिको सिसा फुटाइदिएका छन् भने, पेट्रोल छर्किएर आगो लगाउने प्रयास गरेको फलफूल तथा तरकारी व्यवसायी सङ्घका अध्यक्ष थिरप्रसाद धितालले जानकारी दिए । स्थानीयका अनुसार सलाइ ओसिएर नबलेपछि निजहरु भागेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले घटनाको विषयमा अनुसन्धान भइरहेको बताउनुभयो । दोषीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।