मातृभूमिका लागि नेपाली : ढुङ्गेलको संयोजकत्वमा उत्तर अमेरिका समिति

मातृभूमिका लागि नेपाली : ढुङ्गेलको संयोजकत्वमा उत्तर अमेरिका समिति


मातृभूमिका लागि नेपालीको उत्तर अमेरिका समिति हालै गठन भएको छ । नेपाललाई बौद्ध र किराँतलगायतका धर्म संरक्षण गर्ने वैदिक सनातन हिन्दूराष्ट्र बनाउने, विकेन्द्रीकरणसहितको एकीकृत सार्वभौमिकतामा विश्वास गर्ने, जातीय आरक्षणको सट्टा सबलीकरणको नीति अवलम्बन गर्ने र सबै शासक र प्रशासकहरूको सम्पत्ति छानबिन हुनुपर्छ भन्ने धारणा राख्ने नेपालीहरू देशभित्र र विदेशमा समेत सङ्गठित हुने क्रम जारी छ ।

यसैक्रममा शेखर ढुङ्गेलको संयोजकत्वमा ५९ (उनान्साठी) सदस्यीय समिति गठन भएको छ । समितिको सहसंयोजकमा डा. गोविन्दसिंह राउत, बन्दना कोइराला र प्रा. हीराकुमार श्रेष्ठ रहेका छन् ।

सस्दस्यहरूमा प्रा. नवराज बञ्जाडे, रवीन्द्र पाण्डे, सीता पाण्डे, चेत भट्टराई, बीके नेवा, ज्ञानेन्द्र शेरचन, रतन लामा, तारा बराल, रञ्जन शाह, प्रेम चौलागाईं, ज्ञानु रिमाल, मीनबहादुर थापा, राजु क्षेत्री, कृष्णबहादुर मल्ल, वसन्त अर्याल, किशोर विश्वकर्मा, राजेन्द्र खनाल, मेघराज ढुङ्गेल, विष्णु पौडेल, राजेन्द्र रावत, जयराम खड्का, नरेन्द्रविक्रम शाह, दिपु भुसाल, गोपाल थापा, जोन थापा, गोविन्द श्रेष्ठ, वासुदेव घिमिरे, नीरमणि काराखेती, गोकुल पौड्याल, सङ्ग्रामसिंह हमाल, न्हुच्छे ढुङ्गेल, वासु ढकाल, डा. अनुप श्रीवास्तव, कमिका भण्डारी, वासुदेव पराजुली, अजित अधिकारी, ममता कर्माचार्य, काजी लामा, अभय ढुङ्गेल, शिवराज पौडेल, बाबु आचार्य, दीपक हुमागाईं, शेरबहादुर क्षेत्री, डिल्ली भट्टराई, लालगोपाल सुवेदी, हरिकृष्ण काफ्ले, प्रिन्स युवराज कार्की, यम थापा, सञ्जय अर्याल, गजेन्द्र अधिकारी, उमेश थापा, बद्री तिमिल्सिना, अनिल ढुङ्गेल, अग्निराजनाथ शर्मा, हरिराम शर्मा, सुमन न्यौपाने र दीपा पुन राईको चयन भएको छ ।

समितिको संरक्षणका रूपमा डा. दुर्गा पोखरेल तथा सल्लाहकारमा डा. दुर्गा दाहाल रहेकाछन् । गठित तदर्थ समितिले भविष्यमा सम्मेलन गरी कार्यसमिति बनाउने बताइएको छ । यसअघि छत्रबहादुर मैनालीको संयोजकत्वमा दक्षिण अमेरिका समिति गठन भएको छ ।

मातृभूमिले हामीलाई छोयो : शेखर

शेखर ढुङ्गेल मातृभूमिका लागि नेपालीको अमेरिका संयोजक हुनुहुन्छ । अमेरिकामा रहेर पनि नेपाल र नेपालीको हितप्रति सधैँ चिन्तित एवम् चिन्तनशील ढुङ्गेल नेपालमा लगानीको वातावरण नबनेकोमा दुःखी हुनुहुन्छ । नेपालको राष्ट्रियता, राष्ट्रिय एकता र सामाजिक सद्भाव खलबलिएको यो समयमा यहाँ राष्ट्रकै निम्ति भन्दै अनेकौँ सङ्घसंस्था सतहमा आएका छन्, राजनीतिक दलहरूले पनि राष्ट्र र जनताकै निम्ति केही गर्ने भनिरहेका छन्, तपाईं मातृभूमिका लागि नेपालीमै आबद्ध हुने निष्कर्षमा किन पुग्नुभयो भन्ने हाम्रो जिज्ञाशाको जवाफमा ढुङ्गेलले भन्नुभयो, ‘यो देशलाई माया गर्ने, देशको माटो छोएर चिन्ता गर्ने नेतृत्व वर्गको अभाव हामीले महसुस गर्दै आएका छौँ । यस्तो अवस्थामा अहिले देवप्रकाशजीबाट ‘मातृभूमिको लागि नेपाली’ भन्ने जुन अभियान शुरु भएको छ, जहाँ विश्वकै प्राचीनमध्ये सत्रौँ स्थानमा रहेको नेपाल राष्ट्रका सनातन धर्म–संस्कृति परम्पराहरू, मौलिक विशेषताहरू जो मानव सभ्यताकै पहिलो शृङ्खला हो, त्यसको संरक्षणसहित देशलाई समृद्ध बनाउनुपर्छ, विकृति–विसङ्गति, भ्रष्टाचार, अनियमितताको अन्त्य गर्नुपर्दछ भनेर अभियन्ताहरू लागिपर्नुभएको छ । यसले हामीलाई छोयो, विश्वास जाग्यो यो अभियानप्रति । हामीले टाढा बसेर मातृभूमिको लागि के गर्न सक्छौँ त भनी साथीभाइबीच छलफल हुँदा यो अभियान हाम्रा लागि आफ्नो राष्ट्र, आफ्नो माटोको सेवा गर्ने एक सुवर्ण अवसर हो भन्ने निचोडमा पुग्यौँ । यो अभियानको उद्देश्य या लक्ष्य राष्ट्रहितमा छ भन्ने अपेक्षा र विश्वास पनि भएकोले यस अभियानलाई सहयोग पुऱ्याउने र आफूहरू पनि सहभागी हुने अभीष्टका साथ हामीले अमेरिकामा पनि सङ्गठन निर्माण गरेका हौँ ।’

० देशबाट त्यति टाढा बस्नुहुन्छ, नेपालमा सञ्चालित यस अभियानलाई सहयोगचाहिँ कसरी पुऱ्याउँछौँ भन्ने लागेको छ त ?
– यसमा हामीले नेपालमा भएका विगतका आन्दोलनलाई पनि स्मरण गर्नुपर्ने हुन्छ । जस्तो कि, ०४६ सालको आन्दोलनमा पनि त्यहाँ (अमेरिका) संयुक्त राष्ट्रसङ्घको कार्यालयअगाडि भेला भएर हामीले तत्कालीन निरङ्कुश शासनविरुद्ध मानवाधिकारको पक्षमा आवाज उठाएका थियौँ । ह्वाइटहाउसअघिल्तिर भेला भएर आवाज उरालेका थियौँ । त्यसरी नै अहिले पनि राष्ट्रको लागि माटो छोएर जुन अभियान यहाँ शुरु भएको छ, यसको समर्थनमा हामी ब्यानर बोकेर ह्वाइटहाउसमा यो कुरा पुऱ्याउँछौँ । हाम्रो देशमा सुशासन र समृद्धिको लागि यस्तो अभियान शुरु भएको छ, यसमा समर्थन गर्नुपऱ्यो भन्ने सन्देश हामी यूएनमा पनि व्यानरका साथ पुऱ्याउँछौँ । टाढा बसेर हामीले प्रत्यक्ष रूपले गर्न सक्ने र गर्ने मूल सहयोग त यस्तै नै हो ।

० यस संस्थाले उद्देश्यप्राप्तिका लागि अबका दिनमा आफ्ना कार्यक्रम कसरी अगाडि बढाओस् भन्ने तपाईंको धारणा छ नि ?
– यस्ता सङ्गठनहरू नेपालमा सयौँ हामीले देखिरहेका छौँ । आ–आफ्नो उद्देश्य वा आदर्श सबैमा देखिन्छ । अनि ठुल्ठूला आन्दोलन विभिन्न कालखण्डमा भयो, तर आन्दोलनले जगाएको आशा–अपेक्षा वा सपनाचाहिँ चकनाचुर हुने गरेको छ । पञ्चायती व्यवस्था निरङ्कुश भएकोले बहुदलीय प्रजातान्त्रिक व्यवस्थामा सबै कुरा हुन्छ भनियो, त्यो पनि यसै धुलो भयो । त्यसपछि गणतन्त्र अनमोल व्यवस्था हो, त्यसका लागि राजसंस्था फ्याँक्नुपर्छ भनियो र फ्याँकियो पनि, तर अब त झन् देशको मौलिक विशेषता, पहिचान वा गुणहरू नै मेटाउने प्रयत्न हुँदै छ । एउटा मुलुक बाँच्नका लागि, उसको अस्तित्व रक्षाको लागि बचाइराख्नुपर्ने धर्म, संस्कृति, चाडबाड, भाषा, भेषजस्ता मौलिकता नै मास्न लागिएको छ । अब यी कुरा बचाउन आन्दोलनकै जरुरत छ । पब्लिकमा जानुपर्छ । राष्ट्र भनेको चारतिर फैलिएको भूगोलको सीमा मात्र होइन, यसका मौलिक विशेषताको रक्षा पनि हो, यसलाई जोगाउनुपर्छ भन्ने ‘मातृभूमिका लागि नेपाली’को मूल ध्येय छ । यसबाट विचलित नभईकन अभियान सञ्चालन गर्नु अपरिहार्य छ । सबै नागरिकलाई आफ्नो देशको माया हुन्छ र आफ्नो देशको अस्तित्व जोगाउन सबै लागिपर्छन् भन्ने लाग्छ । <