‘क्वारेन्टाइन षड्यन्त्र’मा प्रचण्ड !

‘क्वारेन्टाइन षड्यन्त्र’मा प्रचण्ड !


नेपालको राजनीतिक इतिहासमा षड्यन्त्र एउटा अभिन्न अङ्ग बनेर रहेको छ र, अहिलेसम्म पनि राजनीतिजीवीहरूले आफ्नो अभीष्ट पूरा गर्न षड्यन्त्रकै सहारा लिने गरेका छन् । हालै भारतबाट नेपालमा आयात हुने फलफूल तथा तरकारी नियन्त्रण प्रकरण पनि राजनीतिक षड्यन्त्रकै एउटा विषाक्त कडी भएको रहस्य उद्घाटित भएको छ ।

ज्ञातव्य छ, यतिबेला नेकपाका सहअध्यक्ष प्रचण्ड केपी ओली नेतृत्वको सरकारलाई विस्थापित गर्न सम्भव भएसम्मका हथकण्डा प्रयोग गर्दै छन् । केपी ओली र भारतबीच असमझदारी, आशङ्का र दूरी बढाउन पनि प्रचण्ड भित्रभित्रै क्रियाशील रहेको बुझिन्छ । यसै क्रममा तरकारी तथा फलफूल नियन्त्रण प्रकरण पनि प्रचण्डरचित एउटा षड्यन्त्र भएको जानकारी प्राप्त हुन आएको छ ।

नेपालमा विषादीयुक्त तरकारी र फलफूल एउटा विकराल समस्याको रूपमा रहेको छ । स्वदेशमा उत्पादित तथा विदेशबाट आयातीत विषादीयुक्त तरकारी र फलफूलका कारण आममानिसको स्वास्थ्यमा प्रतिकूल असर परिरहेको छ । त्यसैले विषादीयुक्त फलफूल र तरकारी उत्पादन तथा वितरणलाई नियन्त्रण्न गर्नका निम्ति सरकारले विशेष तत्परता लिन ढिला पनि भइसकेको छ ।

यसै सन्दर्भमा कृषिमन्त्री चन्द्रकान्त खनालले सिमानामा ‘क्वारेन्टाइन’को व्यवस्था गरी भारतबाट आयात हुने फलफूल र तरकारी परीक्षण गरेर मात्र नेपाल भित्र्याउन दिनुपर्ने प्रस्ताव मन्त्रिमण्डलको बैठकमा पुऱ्याए । मन्त्री खनालले क्वारेन्टाइनका निम्ति आवश्यक व्यवस्था भइसकेको जनाउँदै परीक्षण तत्काल शुरु गर्नुपर्ने भनी प्रस्ताव राखेपछि त्यसमा कसैको असहमति रहनुपर्ने अवस्था थिएन र प्रधानमन्त्री ओलीले पनि असहमति जनाएनन् । क्वारेन्टाइनको आवश्यक व्यवस्था भइसकेको हो भने नाकामा तरकारी र फलफूल परीक्षण गरेर मात्र भित्र्याउने निर्णय लिन प्रधानमन्त्री केपी तयार भए र, मन्त्रिमण्डलको बैठकले उक्त निर्णय पनि लियो । निर्णयपश्चात् भारतबाट फलफूल तथा तरकारी लिएर आएका ट्रकहरू परीक्षण गरेर मात्र नेपाल प्रवेश गर्न सक्ने भन्दै सीमा नाकामा रोकिए ।

यता कृषि मन्त्रालयले क्वारेन्टाइनका निम्ति आवश्यक कुनै व्यवस्था नै गरेको रहेनछ, उता क्याबिनेट निर्णयको कार्यान्वयन शुरु भइसक्यो । वीरगञ्जलगायत नेपाल–भारत सीमानाकामा हजारौं ट्रक लामबद्ध भए । ट्रकमै फलफूल र तरकारी कुहिन थाले, तर नेपालले परीक्षणको आवश्यक व्यवस्था गर्न सकेन । क्वारेन्टाइनको व्यवस्था नगर्ने, तर परीक्षण गर्नुपर्ने भन्दै सीमानाकामै ट्रक रोकिने क्रम शुरु भएपछि त्यसको दबाब भारत सरकारमाथि पर्नु स्वाभाविक थियो । अब केपी ओलीले अनावश्यक दुःख दिएको अर्थ लगाउन थालियो । दुई मुलुकबीच अचानक तनाव थपियो र भारतले पत्राचार नै गरेर नेपाललाई समस्याको समाधान गरिदिन आग्रह गऱ्यो ।

भारतले विषयलाई गम्भीरताका साथ लिएको पाइएपछि वास्तविकता बुझ्न प्रधानमन्त्री आफैँ अग्रसर भएका थिए । सीमानाकामा क्वारेन्टाइनको आवश्यक व्यवस्था नै नगरीकन कृषिमन्त्रीले ‘परीक्षण’को प्रस्ताव लगेको तथ्य प्रधानमन्त्रीले पत्ता लगाए । ‘माओवादी’तर्फका मन्त्री चन्द्रकान्त खनालले आफ्नै बुद्धिले ‘क्वारेन्टाइन षड्यन्त्र’ गरेको ठानिएको छैन । प्रचण्डको इच्छा र इसारामा चन्द्रकान्तले केपी ओली र भारतबीच तनाव र शङ्का बढाउन क्वारेन्टाइन प्रपञ्च रचेको पुष्टि हुन गएको छ ।

भारत चिढिँदा नेपालमा त्यसको राजनीतिक असर कुन स्तरसम्म पर्न सक्छ भन्ने बुझेका प्रचण्डले भारतसँग आफ्नो सम्बन्धलाई क्षति पुऱ्याउन नियोजित रूपमै लागिपरेको ठहर भएपछि केपी ओली कयाबिनेटको पूर्वनिर्णय सच्याउने निष्कर्षमा पुगेको बुझिएको छ । प्रचण्डको यस्तो षड्यन्त्रलाई प्रधानमन्त्री ओलीले गम्भीरतापूर्वक लिएको बताइन्छ । यस प्रकरणले प्रचण्ड आफ्नो सिद्धिका निम्ति केसम्म गर्न सक्छन् भन्ने सङ्केत दिएको छ ।