सचिवालयमा प्रचण्ड एक्लै

सचिवालयमा प्रचण्ड एक्लै


नेपाल कम्युनिस्ट पार्टीको उच्च तहमा तनाव शुरु भएसँगै पार्टीमा कुन नेता कसको पक्षमा छन् भन्ने अनुमान र विश्लेषण शुरु भएको छ । नेकपाको सर्वोच्च निकाय मानिएको सचिवालयका कुल नौ सदस्यमध्ये को कतातिर भन्ने चासो प्रकट भएको छ ।

केपी शर्मा ओली, माधवकुमार नेपाल र प्रचण्डले सचिवालय गठन गर्दा आ–आफूसँग दुई–दुई जना नेता साथ राखेका थिए । केपी शर्मा ओलीको पक्षमा ईश्वर पोखरेल र विष्णु पौडेल, माधवको पक्षमा वामदेव गौतम र झलनाथ तथा प्रचण्डको पक्षमा नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा रहेको स्पष्ट बुझिन्थ्यो ।

तर, अहिले सन्तुलन पूरै बदलिएको छ । नेताहरू झलनाथ खनाल। नारायणकाजी श्रेष्ठ, वामदेव गौतम र रामबहादुर थापा यतिबेला कुनै नेताविशेषको पक्षमा भएको बुझिँदैन । चारैजना पार्टी एकताका पक्षमा दृढतापूर्वक उभिने सोचका साथ रहेको बताइन्छ, जसका कारण प्रचण्डलाई सबैभन्दा ठूलो धक्का पुग्ने स्थिति उत्पन्न भएको छ । माधव नेपाल आफैँ कतापट्टि उभिने भन्नेमा स्पष्ट छैनन् । आफू प्रचण्डको पक्षमा सामेल हुँदा पार्टी विभाजनको स्थिति उत्पन्न हुने देखिएमा माधव केपीकै पक्षमा रहने या तटस्थ भूमिका निर्वाह गर्ने सम्भावना छ । माधव नेपाल आफ्नै पक्षमा वातावरण बनाउन सचेततापूर्वक लागेकोले उनी केपीलाई चिढ्याएर प्रचण्डलाई प्रसन्न बनाउनेतिर लाग्ने अवस्थामा छैनन् ।

त्यस्तै झलनाथ खनाल पनि आफैँप्रति सचेत रहेकोले प्रचण्डलाई नेता मानेर केपीलाई पूरै चिढ्याउने मानसिकतामा भएको बुझिँदैन । ईश्वर पोखरेल र विष्णु पौडेल केपी ओलीको साथमा दृढतापूर्वक उभिएका छन् । अहिले केपीसहित उनको पक्षमा तीनजना, पार्टी एकताको पक्षमा चार (नारायणकाजी श्रेष्ठ, वामदेव गौतम, झलनाथ खनाल र रामबहादुर थापा) तथा माधव नेपाल आफैँतिर भएकोले प्रचण्ड मात्र केपीविरोधी मोर्चाको एक्लो ‘सेनापति’जस्ता भएका छन् ।

प्रचण्डलाई भित्री मनदेखि नै समर्थन गर्ने कुनै पनि नेता यतिबेला नेकपाको सचिवालयमा देखिँदैनन् । झलनाथ र माधवले प्रचण्डलाई साथ दिएको भए पनि उनीसहित तीनजना एकातिर हुने थिए । केपी ओलीप्रति असन्तुष्टि भएकोले मात्र माधव र झलनाथ प्रचण्डसँग नजिकजस्तो देखिएका हुन् । वास्तवमा अहिले प्रचण्डलाई विश्वास गर्ने र उनलाई नेता स्वीकार गर्ने सचिवालयभित्र एकजना पनि छैनन् । त्यसैले प्रचण्ड पार्टीभित्र पूरै एक्लिएका छन् ।

केपीको कार्य–व्यवहारमा परिवर्तन आउने तथा सहकर्मीहरूसँग छलफल र परामर्श गरेर निर्णय लिने प्रक्रिया शुरु हुने हो भने प्रचण्डको स्थिति अझै प्रतिकूल र सङ्कटग्रस्त हुने निश्चित मानिन्छ । एक्लिएका प्रचण्डले अब कस्तो प्रकारको चाल चाल्ने हुन् सो भने प्रतीक्षा र जिज्ञाशाको विषय बनेको छ ।