देउवाको दाउ : आफू नभए शशाङ्क !

देउवाको दाउ : आफू नभए शशाङ्क !


नेपाली काङ्ग्रेसभित्र ‘महाधिवेशन राजनीति’ शुरु भएको छ । वर्तमान कार्यसमितिको कार्यकाल चार वर्ष पूरा हुन ६ महिना बाँकी रहँदा सभापति शेरबहादुर देउवाका आलोचक तथा विरोधीहरू तत्काल महाधिवेशनको तिथि निर्धारण गराउने पक्षमा देखिएका छन् ।

गत आइतबार (असार २२ गते) आयोजित काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा देउवाका विपक्षीहरूले चौधौँ महाधिवेशनको विषय नटुङ्ग्याएसम्म अन्य एजेन्डामा छलफल नगरिने अडान लिए । लामो माथापच्चीपश्चात् भ्रातृ संस्थाहरूको व्यवस्थापन गरी महाधिवेशनमा जान देउवा पक्ष सहमत भएको छ । नेविसङ्घ, तरुण दललगायत काङ्ग्रेसका अधिकांश भ्रातृसंस्था तदर्थ शैलीमा चलिरहेका छन्, महाधिवेशन गराउनेतर्फ काङ्ग्रेसले कुनै तत्परता लिएको छैन ।

अब असार २७ गते शुरु हुने कार्यसमितिको बैठकमा भ्रातृसंस्थाहरूलाई व्यवस्थित र सुचारु गर्ने विषयमा छलफल हुने बताइएको छ । बैठकमा पार्टीको नियमावली पारित गरिने, प्रदेश संरचना तथा समिति गठनबारे छलफल हुने र गाउँ, जिल्ला र नगर समिति विषयमा टुङ्गो लगाइने बुझिएको छ ।

गत महिना मात्र जागरण अभियान सञ्चालन गरेर ‘एकताबद्ध’ भएको काङ्ग्रेस आउँदो भदौपछि अर्को चरणको जागरण अभियान शुरु गर्ने योजनामा छ । संस्थापन पक्षले जागरण अभियानमै अल्झाउने र चौधौँ महाधिवेशन पछाडि धकेल्दै लैजाने षड्यन्त्र रचेको भन्ने देउवाविरोधी पक्षले ठानेको छ । आगामी माघमा काङ्ग्रेस महाधिवेशनको चार वर्ष पुग्दै छ । पार्टीभित्र देउवाका आलोचकहरू चार वर्र्ष पुगेलगत्तै चौधौँ महाधिवेशन गराउने पक्षमा छन् । खासगरी नेताहरू प्रकाशमान सिंह, डा. रामशरण महत, अर्जुननरसिंह केसी, कृष्णप्रसाद सिटौला, डा. शेखर कोइराला, डा. शशाङ्क कोइराला, दिलेन्द्रप्रसाद बडू र रामचन्द्र पौडेललगायतले तत्काल महाधिवेशनमा जान देउवामाथि दबाब दिइरहेका छन् । तर, कुनै कारण देखाएर पार्टीको महाधिवेशन अर्को एक वर्षपछि अर्थात् जम्मा पाँच वर्षपछि पनि गर्न सकिनेछ ।

देउवाले आगामी माघपछि अर्को एक वर्ष कार्यकाल थप गराउने सम्भावना छ । आगामी भदौ २७ गतेदेखि सतहत्तर वर्ष उमेरमा प्रवेश गर्ने शेरबहादुर बाँचिन्जेल सभापति पदमा रहिरहने मानसिकतामा देखिन्छन् । २०७७ को माघ–फागुनतिर चौधौँ महाधिवेशन गर्ने र उक्त महाधिवेशनमा अठहत्तर वर्षका हुने देउवाले पुनः सभापति बन्ने सोच बनाएको बुझिएको छ । तर, देउवाको यो इच्छा सजिलै पूरा हुने सम्भावना भने देखिँदैन ।

पार्टीमा देउवा अलोकप्रिय भएको र अबको महाधिवेशनमा देउवा विजयी बन्न नसक्ने ठम्याइ पार्टीका विपक्षी नेताहरूको छ । त्यसैले जतिसक्दो चाँडो महाधिवेशन गरेर काङ्ग्रेसलाई देउवाबाट मुक्त गर्ने योजना बनेको हो । तर, पार्टीभित्र देउवाको पक्ष अहिले पनि एकजुट रहेको र महाधिवेशनसम्ममा देउवाले हिन्दूराष्ट्रको एजेन्डा बोक्ने सम्भावना भएकोले फेरि पनि काङ्ग्रेसले नयाँ नेतृत्व नपाउने सङ्केत देखिँदै छ ।

देउवाविरोधीहरूमा डा. शेखर कोइराला, प्रकाशमानसिंह, डा. रामशरण महत, अर्जुननरसिंह केसी, कृष्णप्रसाद सिटौला, रामचन्द्र पौडेल र कुलबहादुर गुरुङ आदि सबै सभापति पदका दाबेदार नेता हुन् । यदि विवाद चर्किएर पार्टीभित्र तनावग्रस्त स्थिति बन्यो भने डा. शशाङ्क कोइरालालाई देउवाले साझा उम्मेदवारका रूपमा अघिसार्ने सोच बनाएको बुझिएको छ । शशाङ्कका विरुद्ध कोइराला पक्षले उम्मेदवारी नदिने विश्वास गरिन्छ । आफू सभापति बन्न नसक्ने अवस्था आएमा देउवा शशाङ्कलाई अघि सारेर पार्टीमा रमिता देखाउने मानसिकतामा भएको जानकारीमा आएको छ ।