मानिस एक्लो हुँदै छ





■ बबिता बस्नेत

०७६ साल जेठ महिनाको अन्तिम साता एउटा समारोहबाट फर्कंदै थियौँ, गाडीमा रहेका एक जोडीमध्ये पुरुष साथीको मोबाइलमा फोन आयो । फोनको बेवास्ता गरेझैँ गर्दै उनले श्रीमतीको अनुहार हेरे । ‘कसको फोन ?’ स्वाभाविक लवजमा उनले सोधिन् । नाजवाफ उनको अनुहार एक्कासि रातो भयो । ‘उठाउनुस् न’ उनको आग्रहको जवाफमा तिनले भने, ‘अन वान्टेट फोन हो ।’ ‘म उठाइदिऊँ ?’ जवाफमा उनी एक्कासि झर्किए । अनावश्यक शङ्का गर्नुहुन्न नि…वाइयात… सँगै बसेकी यो पङ्क्तिकारलाई अप्ठ्यारो लाग्यो । यस्ता घटनामा प्रायः पुरुष शान्त र महिला ‘इरिटेट’ देखिन्छन्, तर त्यहाँ महिला शान्त थिइन्, पुरुष घरी फोनमा घरी पत्नीको अनुहारमा हेर्दै थिए । वर्षौंदेखि चिनिरहेका, एक–अर्कामा राम्रो सम्बन्ध होला भन्ने ठानिएका दुईजनाको बारेमा सोच्दै गर्दा साँझमा एक–अर्काको हात समाइरहेको दुईजनाको फोटो महिलाले फेस बुकमा पोस्ट गरिन् । एकैछिनमा टन्नै लाइक र कमेन्टहरू आए । दिउँसोको घटनाको साक्षी भएर होला सबै कमेन्टहरू पढेँ, कस्तो राम्रो, सुन्दर, आहा…, अप्ठ्यारो मान्दै इनबक्समा म्यासेज लेखेँ, ‘फोटो राम्रो लाग्यो ।’

आफ्नो क्षेत्रका चर्चित ती मित्रले फेसबुकमा भेटिएकी एक महिलाले फोन गरेर हैरान लाएको, तर आफ्नोतर्फबाट त्यस्तो केही नभएको दिनै नपर्ने स्पष्टीकरण गाडीमै दिएका थिए । सोचेँ– सामाजिक सञ्जालले मानिसलाई हेर्दाहेर्दै कस्तो ‘फेक’ सम्बन्धतिर धकेलिरहेको छ । कम्तीमा यिनीहरूको त राम्रो छ भन्ठानेको सम्बन्ध देखावटी बनिसकेको रहेछ । अरूलाई देखाउनका लागि पत्नीले साँझ पोस्ट गरेको तस्बिरले झनै मन खिन्न बनायो । कमेन्ट, लाइकहरू मनबाट गरिएका थिए या देखावटी थाहा भएन, तर पहिलोपल्ट यो पङ्क्तिकारलाई मानिसले एक्लो महसुस गरेपछि साथ रहेका तस्बिरहरू सेयर गर्छन् कि के हो जस्तो लाग्यो । सबैमा यो कुरा लागू नहुन सक्छ ।

प्रविधिले आफ्नै वरिपरिको दुनियाँलाई फराकिलो बनाउँदै लाँदा मानिसको आफ्नोपन भने साँघुरिँदै जाँदै छ । सोसियल मिडियाका कारण मानिसको देखावटी संसार फैलिए जस्तो लागे पनि वास्तविक संसार खुम्चिरहेको छ । विगतमा अलि फुर्सद भयो कि आफन्तहरू भेटिन्थ्यो, साथीहरूसँग दुःखसुखका कुरा गरिन्थ्यो, घरबाट बाहिर हिँडिन्थ्यो । तर, अहिले अलि फुर्सद भयो कि मोबाइलमा ठूलै कुरा छुटिसक्योझैँ गरी टाउको घोप्ट्याएर बसेपछि समय बितेको थाहै हुँदैन । चाँडै बितेको त्यो समयले आफ्नो जिन्दगीमा के प्रभाव या असर छोड्यो भन्ने कुराको हिसाब गर्ने हो भने गुणा, भाग, जोड जे–जे गरे पनि हात लाग्यो शून्य निस्कन्छ । बिहान ब्युँझिएपछि घरपरिवारमा को उठो, को उठेन, कसैलाई केही भइरहेको छ कि भनी एक–अर्काको सोधीखोजी, दिनभरि गर्नुपर्ने कामका लागि ‘माइन्ड मेकअप’को ठाउँ सामाजिक सञ्जालले लिँदै छ ।

पति–पत्नी एउटै ओछ्यानमा दुईतिर फर्किएर अरूसँग कुरा गर्न थालेपछि शरीर खाटमा भावनाचाहिँ सामाजिक सञ्जालको ‘इन बक्स’मा भेटिनेहरूको सङ्ख्या बढ्दै छ ।

ओछ्यानमा राम्ररी आँखै नखोली तकिया वरिपरि रहेको मोबाइल हातमा लियो स्टेटस, लाइक, कमेन्ट, फोटो, साथमा अनलाइनका सामग्रीहरू हेऱ्यो । बाहिरको दुनियाँमा कस–कसले के–के गरे, को हिजो पार्टी गए, कसको आफन्तको निधन भयो, कसले नाँचे, विवाहमा कसले कस्तो लुगा लाएलगायतका अनेक जानकारीले भरिएर ओछ्यानबाट उठ्दा मानिसले आफूभित्र भने खाली–खाली महसुस गर्न थालेका छन् । आफ्नो शारीरिक अभ्यास, योग–ध्यान, चिन्तन–मनन सबैको समय सामाजिक सञ्जालले लिन थालेपछि अरूले हेर्दा भरिझैँ देखिने मानिस मनभरि रित्तोपन बोकेर दिनको सुरुवात गर्दै छ । सबैमा यही कुरा लागू हुन्छ भन्ने होइन, तर धेरैलाई सामाजिक सञ्जालले आफ्नो वशमा पार्दै लगेको छ । भन्ने बेलामा अहिलेका युवाहरू जतिबेला पनि इन्टरनेटमा झुन्डिरहन्छन् भने पनि अधबैंसेहरूको दिनचर्या युवाको भन्दा झन् नाजुक बन्दै छ ।

पहिला-पहिला पूर्ण समर्पित भएर भावनात्मक रूपमा गरिने रीतिरिवाज, चाडबाड सबै नै देखाउनका लागि झैँ भएका छन् । दशैँमा टीका लगाउँदा मानिसका हात निधारमा आँखाचाहिँ क्यामेरातिर देखिन्छन् । हुँदैहुँदै लासको छेउमा बसेर, लास बोकेर खिचिएका फोटोहरूसमेत मानिसहरू सोसियल मिडियामा सेयर गर्न थाले । लास उठाउँदाको भावना जुन हुनुपर्ने हो, दुःखद क्षणको त्यो गहिराइ आफ्नो तस्बिर कस्तो आउला भन्ने सोचमा मानिसले महसुस नै गर्न छोड्यो भन्ने कुरा तिनका मुहारमा झल्किएका भावले देखाइरहेका हुन्छन् । कसैको मृत्युमा श्रद्धाञ्जली दिन जाँदा लाससँग आफ्नो तस्बिर खिचेर अरूलाई देखाउन सक्नुबाट हामी कुन मनोदशाबाट गुज्रिरहेका छौँ भन्ने प्रस्ट हुन्छ ।

तीथि, वार्षिकी, श्राद्ध केही पनि अब आफ्नो श्रद्धा र भावनासँग मात्र सम्बन्धित रहेनन् । यति गरिसकियो, देखाइहालुँ न भन्ने मानसिकताबाट निर्देशित हुन थाले । घरपरिवार, आफन्त, साथीहरू जो हेरे पनि मोबाइलमा व्यस्त देखिन्छन् । बाबुआमा दुवै सामाजिक सञ्जालमा व्यस्त हुन थालेपछि अहिलेका सन्तानले बाबुआमाबाट पाउनुपर्ने न्यायो माया, आफ्नोपन र स्याहारसुसार पाउन सकेका छैनन् । बच्चाहरू अलमलिउन् भनेर उनीहरूलाई अभिभावक आफैँले हातमा मोबाइल थमाइदिन थालेको देखिन्छ । बच्चाहरूमाथि त्यसको असर केसम्म पर्न सक्छ भन्ने कुरामा सरोकारै छैन । बाहिर हुँदा त कुरै भएन, सबैजना घरमै हुँदा पनि पाँचजनाको परिवार छ भने पाँचैतिर फर्किएर मोबाइलमा व्यस्त देखिन्छन् । आफूसँगको साथ छुटाएर अनलाइन साथ खोज्दै अगाडि बढेको जीवन कहाँ पुगेर टुङ्गिएला, यसै भन्न सक्ने अवस्था छैन ।

बिरामी भएको खबर अस्पतालको बेडमा सुतेको फोटोसहित सामाजिक सञ्जालमार्फत आउँछ अनि ‘गेट वेल सुन’ भन्ने शुभच्छा पनि सामाजिक सञ्जालमार्फत नै जान्छ । न हेर्न जानु परोस्, न फलफूल, न भेटघाट । बेडमा पल्टिरहेको बिरामीले आफ्ना लागि लेखिएको शुभेच्छा हेरेर मुक्कुराउन नपाउँदै कोल्टे फेर्दा आफूलाई एक्लै पाउँछ ।

कसैले आहा…गज्जब…कस्तो राम्रो…भनिदियो भने दङ्ग पर्ने, नकारात्मक कमेन्ट आयो भने फ्रस्ट्रेट हुने । दुःख या खुसीका लागि जिन्दगीमा कुनै ठूलो उपलब्धि हुनै परेन । अहिले लुगा शरीर ढाक्नभन्दा बढी फोटो खिच्नका लागि लगाउन थालिएको छ । हामी सबै नै यस्ता कुराहरूमा रमाउन थालेका छौँ । पहिलापहिला चिनजानका मानिसले, आफन्तले गर्ने सकारात्मक–नकारात्मक टिप्पणीहरूले फरक पार्थ्यो, हिजोआज सामाजिक सञ्जालमा आएका टिप्पणीहरूले फरक पार्न थालेको छ । को हो, कहाँको हो, चिन्नु न जान्नुको मानिसले नकारात्मक टिप्पणी गऱ्यो भनेर मानिस त्यसैमा तनाव लिएर बाँच्न थालेको छ ।

जुन कुराको बारेमा टिप्पणी गर्ने मान्छेलाई जानकारीसम्म हुँदैन । हेर्दाहेर्दै परिवर्तन यति भयो कि मानिसहरू आफन्त, साथीहरू बिरामी भएर अस्पताल भर्ना हुँदा जानकारी पाएपछि फलफूल लिएर भेट्न जान्थे । अब त यस्ता कुरा पुराना संस्कृति, परम्पराझैँ बन्दै गएको छ । बिरामी भएको खबर अस्पतालको बेडमा सुतेको फोटोसहित सामाजिक सञ्जालमार्फत आउँछ अनि ‘गेट वेल सुन’ भन्ने शुभच्छा पनि सामाजिक सञ्जालमार्फत नै जान्छ । न हेर्न जानु परोस्, न फलफूल, न भेटघाट । बेडमा पल्टिरहेको बिरामीले आफ्ना लागि लेखिएको शुभेच्छा हेरेर मुक्कुराउन नपाउँदै कोल्टे फेर्दा आफूलाई एक्लै पाउँछ ।

पति, पत्नी, प्रेमी–प्रेमिकाको सम्बन्धदेखि लिएर आफन्त र नातेदारहरूका आफ्नोपनसमेत सामाजिक सञ्जालमै सीमित हुन थालेपछि मानिसमा ‘डिप्रेसन’ बढेको अध्ययनहरूले देखाएका छन् । व्यक्तिगत सम्बन्ध बन्ने पनि बिग्रने पनि सामाजिक सञ्जालमार्फत नै हुन थालेको छ । पति–पत्नी एउटै ओछ्यानमा दुईतिर फर्किएर अरूसँग कुरा गर्न थालेपछि शरीर खाटमा भावनाचाहिँ सामाजिक सञ्जालको ‘इन बक्स’मा भेटिनेहरूको सङ्ख्या बढ्दै छ । मोबाइल या कम्प्युटरमा मात्र होइन वास्तविक जीवनमै मानिस ‘अनलाइन’ ‘अफलाइन’ जीवन बाँच्न थालेका छन् । पहिलापहिला मानिसको संसार सानो थियो, आफू वरिपरि जीवन्त मानिस र सुरक्षित महसुस गर्न सक्ने वातावरण हुन्थ्यो । अहिले संसार फराकिलो भएको छ, तर देखावटी जीवन बाँचिरहेका ‘फेक’ मान्छेहरूको भिडमा असुरक्षित भावनासहित मानिस एक्लो बन्दै गएको छ ।

प्रतिक्रिया