तत्कालका लागि टऱ्यो सङ्कट ओलीको

तत्कालका लागि टऱ्यो सङ्कट ओलीको


नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र उत्कर्षमा पुगेको सत्ता–सङ्घर्षलाई प्रधानमन्त्री केपी शर्मा ओलीले मत्थर तुल्याइदिएका छन् ।

गुप्त सहमतिअनुसार केपीबाट प्रचण्डमा सत्ता हस्तान्तरण हुन अझै डेढ वर्ष बाँकी रहँदै प्रचण्डले केपी शर्मा ओलीको सत्ता पल्टाउने निर्णायक कदम चालेकोले नेकपामा सत्ता–सङ्घर्ष चर्किएको हो । पार्टीमा दुई अध्यक्ष रहने, केपीले तीन वर्ष प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने र पाँचवर्षे कार्यकालको पछिल्लो दुई वर्ष प्रचण्ड प्रधानमन्त्री बन्ने भन्ने सहमतिपश्चात् एमाले र माओवादीबीच गत वर्ष एकता (एकीकरण) भएको थियो । समान तहका दुई अध्यक्ष रहने भनिए पनि गत वर्षदेखि हालसम्म भएका हरेकस्तरको पार्टी बैठकमा केपी ओलीले एकलौटी अध्यक्षता गर्दै आएका छन् ।

प्रचण्डले पार्टी बैठकमा अहिलेसम्म केवल ‘उपाध्यक्ष’को भूमिका पाएका छन् । आलोपालो बैठकको अध्यक्षता गर्न पाइने अपेक्षामा बसेका प्रचण्डलाई केपीको व्यवहारले निराश बनाएको बताइन्छ । कुनै पनि बैठकमा आफूलाई केपीले अध्यक्ष भएको आभास नदिएपछि प्रचण्ड केही साता अघिदेखि नै केपीलाई विस्थापित गर्ने गुप्त योजनाका साथ सक्रिय भएका थिए ।

माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउने र आफू एकलौटी पार्टी अध्यक्ष बन्ने प्रचण्डको रणनीति हो । केपीलाई प्रधानमन्त्रीबाट हटाउन सबभन्दा पहिले संसदीय दलको नेता पदबाट विस्थापित गर्ने र प्रधानमन्त्रीबाट हटाइसकेपछि पार्टी अध्यक्षबाट पनि केपीलाई पन्छाउने प्रचण्डको योजना हो । प्रचण्डको यस्तो योजनामा घनश्याम भुसाल, योगेश भट्टराई, वामदेव गौतम, भीम रावल, वर्षमान पुन, जनार्दन शर्मा र झलनाथ खनालसम्मको साथ रहेको थियो ।

यसमा माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ र सुरेन्द्र पाण्डेसमेतको साथ रहने अपेक्षा प्रचण्डको भएको बुझिन्छ । तर, माधव नेपाल केपीका विरुद्ध जाइलाग्न तयार भएनन्, वामदेव, झलनाथ र नारायणकाजी श्रेष्ठ पनि पार्टीमा विग्रह र विभाजनको अवस्था बन्ने गरी कुनै गतिविधि गर्ने पक्षमा रहेनन् ।

प्रचण्डलाई आँखा चिम्लेर साथ दिनेमा अन्ततः भीम रावल, घनश्याम भुसाल, वर्षमान र जनार्दन शर्मा मात्र देखिए, जसका कारण माधवलाई प्रधानमन्त्री बनाएर आफू कार्यकारी अध्यक्ष बन्ने प्रचण्डको सपना तत्कालका निम्ति तुहिएको छ । माधव नेपाल र वामदेव गौतमको समेत बोली बदलिएपछि प्रचण्डले पनि तत्काल प्रधानमन्त्री बदल्ने र आफू कार्यकारी अध्यक्ष बन्ने इच्छा स्थगित गरेको बुझिएको छ ।

अब यथाशीघ्र मन्त्रिमण्डल पुनर्गठन गरी आफ्नो खास–खास मानिसलाई मन्त्रिमण्डलमा सामेल गर्ने, बहुदलीय जनवादको पक्षमा पार्टीभित्र वातावरण बन्न नदिने र केपीलाई विस्थापित गर्न भित्रभित्रै क्रियाशील रहने योजना प्रचण्डले बनाएको उनका निकटवर्तीहरूबाट थाहा भएको छ । उनको यस्तो योजना कुन हदसम्म कार्यान्वयन हुने हो सो प्रतीक्षाको विषय बनेको छ ।

केपी ओली तत्काल खतरामुक्त बनेको भए पनि उनी ढुक्क रहने स्थितिमा भने अझै पनि देखिंदैनन् । प्रधानमन्त्री ओलीले पार्टीको विभिन्नस्तरका नेताहरूसँग संवाद शुरु गरेको र मन्त्रिमण्डल पुनर्गठन गरी मिलाएर अघि बढ्न तत्पर भएकोले सरकारमाथि उत्पन्न सङ्कट हालका लागि टरेको छ । यद्यपि भीम रावल र घनश्याम भुसालहरूलाई साथ लिएर अगाडिको रणनीति तर्जुमा गर्न प्रचण्ड क्रियाशील भएको बुझिएको छ ।

प्रचण्डको स्वभाव–चरित्रअनुसार उनी एकपटक आफूले आँटेको काम पूरा गरिछाड्ने मानिसमा पर्दछन् । केपी ओलीबाट तीन वर्षपछि पनि सत्ता हस्तान्तरण हुने विश्वास प्रचण्ड गर्दैनन् । त्यसैले केपी अलोकप्रिय बनेको र पार्टीभित्र पनि उनको व्यापक आलोचना हुन थालेको मौका पारेर प्रचण्डले केपीलाई पन्छाउने योजना बनाएका थिए । समयमै सचेत भएकोले यसपटक केपी जोगिने अवस्थामा पुगेका छन् । तर, केपीको प्रतिकूलता पर्खेर बस्ने र ‘कुना पाए अचेट्ने, छेउ पाए घचेट्ने’ नीति अवलम्बन गर्ने मानसिकतामा प्रचण्ड रहेको बुझिन्छ । त्यसैले केपीको सङ्कट पूरै टरिसकेको भने छैन ।