आफैँ उत्पादन गरेर खाऔँ न, लफडा नै साफ !

आफैँ उत्पादन गरेर खाऔँ न, लफडा नै साफ !


० डाक्टरसा’प, सरकारका निर्णयहरूको प्रायः विरोध गरिरहनुहुन्छ, तपाईंं प्रधानमन्त्री केपी ओलीप्रति पूर्वाग्रह राख्नुहुन्छ हो ?
– पटक्कै होइन । म ओलीजीप्रति कुनै पूर्वाग्रह राख्दिनँ । ०४६ सालदेखि सँगै काम गरेको हुँ । व्यक्तिगत विरोध त गर्नै मिल्दैन भन्ने धारणा राख्छु म । तर, उहाँ देशको प्रधानमन्त्री हुनुहुन्छ । जब सरकारप्रमुखको रूपमा उहाँले गरेका निर्णयहरू गलत हुन्छन्, त्यसको त विरोध गर्नैपर्छ । उहाँले राम्रो गर्दा हामीले राम्रो भयो भनेकै छौँ, तर गलत कार्यको त विरोध हुनैपर्छ । विरोधभन्दा पनि खबरदारी गरेका हौँ, राम्रो गर्न चेतावनी दिएका हौँ । जस्तो कि, विप्लवले चालेका कदम सबै सही छैनन्, तर उनको पार्टीप्रति प्रतिबन्ध लगाउनु सरकारको गल्ती हो । यसमा सहमति दिनु प्रचण्डको गल्ती हो । कुनै बेला प्रचण्डको पार्टीलाई ‘आतङ्ककारी जत्था’ भन्ने आरोप लगाइएको थियो र पनि हामीले उनलाई शान्तिपूर्ण बाटोमा ल्याउन, राजनीतिक मूलधारमा हिँडाउन साथ दिएका थियौँ । तसर्थ, विप्लवहरू पनि नेपालका नागरिक हुन्, उनीहरू नेपाल र नेपालीको उत्थान, अमनचैन चाहन्छन् भन्ने सरकारमा भएकाहरूले महसुस गर्नुपर्छ । त्यसो नगरी उल्टो बाटो हिँड्न खोज्छन् भने औँल्याउनैपर्छ, सच्याउने प्रयत्न हामीले गर्नैपर्छ । नागरिक धर्म निर्वाह गर्नैपर्छ । अन्याय भएको देख्दादेख्दै नबोले त्यस पापको भागीदार हुनुपर्छ भन्ने भगवान् श्रीकृष्णको श्रीमद्भागवत गीतामा उद्धृत वचनबाट प्रेरित छु म ।

० तपाईंले त केपी ओली दोस्रोपटक प्रधानमन्त्री हुँदा ‘नेपालको इतिहासमा चन्द्रशमशेरपछिकै शक्तिशाली प्रधानमन्त्री’को रूपमा समेत चित्रित गर्नुभएको थियो, के अर्थमा त्यसो भन्नुभएको थियो ?
– हो, मैले भनेकै थिएँ । ओलीजीले जनतामा जगाएको आशा, उहाँले देखाएको सपनाकै कारण उहाँको दललाई प्रचण्ड बहुमत मिलेको हो । यसरी करिब दुईतिहाइको मत पाएर प्रधानमन्त्री बन्नुभएका ओलीलाई कुनै पनि शासकलाई विरलै हासिल हुने शक्ति प्राप्त भएको छ, अब उहाँले इमानदारीका साथ जनचाहनाअनुसार काम गर्न चाहेमा धेरै गर्न सक्नुहुन्छ भन्ने अर्थमा मैले त्यो भनेको थिएँ । तर, पावरमा पुगेपछि प्रायजसो शासकको मानसिकता पर्लक्कै पल्टिँदोरहेछ । पहिला पनि प्रधानमन्त्री बन्नुभएको हो उहाँ, त्यसबेला यस्तो उट्पट्याङ खासै महसुस गर्नुपरेको थिएन । तर, संसद्मा लगभग दुईतिहाइ शक्तिका साथ जब दोस्रोपटक प्रधानमन्त्री बन्नुभयो, उहाँलाई त्यो शक्तिले हान्यो । यहाँनेर एउटा उदाहरण जोडौँ । जतिबेला ज्ञानेन्द्र शाह ‘प्रिन्स’ ज्ञानेन्द्र हुनुहुन्थ्यो, उहाँ राजपरिवारका सदस्यमध्ये अत्यन्त बुद्धिमान व्यक्तिका रूपमा चिनिनुहुन्थ्यो । राजसंस्था र मुलुकप्रति उहाँजत्तिको वफादार मैले अरू पाएको थिइनँ । तर, राजा अर्थात् सर्वशक्तिमान हुनेबित्तिकै उहाँको पनि दिमाग त पर्लक्कै पल्टियो । अर्थात्, आफूलाई प्राप्त शक्तिमा उन्मादित नभई त्यसलाई सम्हालेर वा शक्ति धानेर अघि बढ्नु भनेको अत्यन्त महत्वपूर्ण कुरा हो । नेल्सन मण्डेलाले धाने, ली क्वान युले धाने, महात्मा गान्धीले धाने, बीपी कोइरालाले पनि धानेकै हो, पुष्पलालमा पनि त्यो क्षमता थियो होला, तर उनले चान्स पाएनन्, मदन भण्डारीको असामयिक मृत्यु नभएको भए उहाँमा पनि त्यो क्षमता थियो भन्ने लाग्छ । तर, ओलीजीले गल्तीमाथि गल्ती गर्दै जानुभयो । यी गल्तीका लागि खबरदारी नगरेर कसरी ‘वाह्…वाह्’ गर्ने त हामीले ?

० सत्ताको ‘पावर’का कारण गडबडी भएको हो भने व्यक्तिगत रूपमा ओलीको आलोचना त गर्न मिल्दैन होला नि, होइन ?
– ठीक हो, व्यक्तिलाई नभई पावरका कारण उत्पन्न विकृतिकै विरोध गर्ने हो । प्रवृत्तिको आलोचना गर्दा व्यक्तिको विरोध गरेको ठान्न भएन । पहिलोपटक प्रधानमन्त्री रहँदा उहाँ धेरै बिरामी पर्नुभयो । सायद त्यो सम्झिएर होला– पछिल्लोपटक उहाँले आफूसँग धेरै समय छैन त्यसैले देशको लागि गर्नुपर्ने काम फटाफट गरिहल्नुपर्छ भन्ने ठान्नुभयो । त्यो कुरा उहाँले सार्वजनिक रूपमा अभिव्यक्त पनि गर्नुभयो । तर, काम गर्ने चाहना र परिस्थितिबीच तालमेल मिलाउन सक्नुभएन । शक्तिमा बहकिनुभयो, प्रचण्ड बहुमतका कारण सिर्जित शक्तिलाई नियन्त्रण गर्दै संयमित रूपमा अघि बढ्न सक्नुभएन । त्यसमाथि उहाँलाई आफ्नै पार्टी एवम् शासकीय संरचनाहरूबाट पनि यथोचित साथ–सहयोग मिलेन । यहाँ त खुट्टा तान्ने प्रवृत्ति छ, कसैलाई सफल तुल्याउनेभन्दा असफल बनाएर थपडी मार्ने चलन छ । यसले पनि असर पारेको हुनुपर्छ । प्रचण्डसँग एकता गरेको भनिएको छ, तर दुई नेताबीच तारतम्य मिलिरहेको छैन, अनेक खटपट चलिरहेको छ । प्रधानमन्त्रीको कुर्सीमा तानातानी शुरु भएको छ । यस्तो अवस्थामा जथाभावी सपना बाँड्ने, गफ लडाउने, हुँदाहुँदा ‘मास्क लगाउनेहरू सरकारका विरोधी हुन्’ भनेर बोलिदिनेसम्मको ‘बचकाना’ उहाँमा देखापरेको छ । सत्ता उन्मादका कारण पन्पिएको यो प्रवृत्तिको विरोध गर्नु सामयिक नै छ ।

० सरकारले प्रस्ताव गरेका विभिन्न विधेयकहरूको चर्को विरोध भएको छ, यसमा के भन्नुहुन्छ नि ?
– यही त म भन्दै छु कि जनचाहना के छ, सरोकारवालाको राय कस्तो छ भनी बुझ्ने कुनै चेष्टा नगरी अन्धाधुन्ध यस्ता प्रत्युत्पादक विधेयक ल्याउनु सरासर गल्ती थियो । गुठी विधेयक, मिडिया विधेयक, मानवअधिकार आयोगसम्बन्धी कदमलगायत ओली सरकारले अघिसारेका यावत् यस्ता प्रस्ताव सरकार तथा व्यक्तिगत रूपमा ओलीजीका लागि घातक साबित भयो । मलाई के लाग्छ भने यति शक्ति पाएपछि अब काम गर्ने नै हो भन्ने भाव ओलीजीमा पैदा भएकै हो, तर उहाँको भावनाअनुकूलको सल्लाहकारहरू भएनन्, कर्मचारीतन्त्र भएन, पार्टीका साथीहरूबाट साथ–सहयोग मिलेन, उल्टै फसाइदिने गरेको देखियो, जसले गर्दा ओलीजीका पाइला नै लर्बरिन पुगे । ‘तपाईंले देखेको सपना अति राम्रा छन्, यो सपना पूरा गराउन हामी आ–आफ्नो तहबाट प्रयत्न गर्छौं, दर्बिलो आर्थिक आधार बनाइदिन्छौँ’ भनी साथ दिने व्यक्ति, समूह र संयन्त्र नै भएनन् उहाँका लागि । उहाँका बोलीमा लोली मिलाइदिनेहरू त जति पनि छन्, तर कर्ममा इमानदारीपूर्वक साथ दिनेको अभाव देखियो । राम्रो काम गर्न खबरदारी गर्नेहरूलाई विरोधीको रूपमा हेरियो, रमाइला तुक्कामिश्रित बोलीमा ताली बजाउनेहरूलाई मात्र शुभचिन्तक ठानियो । जहाँसम्म गुठीलगायतका विधेयकको सवाल छ, यसमा ओलीजीलाई पार्टीभित्रैकाले फसाए जस्तो लाग्छ । गुठी परम्परा खलबल्याउँदा हाम्रा मौलिक संस्कार–संस्कृति बिथोलिन्छ, जनता यस्तो चाहँदैनन् भन्ने ओलीजत्तिका व्यक्तिले नबुझ्ने होइनन्, तर ‘होली वाइन’सँग जोडिएका पात्र–प्रवृत्ति यसमा हाबी हुन पुग्यो र अपजश ओलीमाथि थोपरियो भन्ने लाग्छ ।

० यस्ता गल्ती गरेर सरकार अब कति समय अघि बढ्न सक्ला त ?
– बितेको डेढ वर्षलाई एउटा महत्वपूर्ण ‘लेसन’को रूपमा मनन गर्दै बाँकी साढे तीन वर्ष अवधि सच्चिएर काम गरी देखाउने अवसर अझै पनि छ केपी ओलीलाई । सपनाको खेती धेरै भइसक्यो, अब सपना बाँड्न छोडी नयाँ सोच–विचार र शैलीबाट ‘सर्ट टर्म’, ‘मिड टर्म’ र ‘लङ टर्म’ (अल्प, मध्यम र विस्तृत अवधिको) योजना बनाई फटाफट काम गर्न खोजे यो शक्तिशाली सरकारलाई अझै आफ्नो छवि सुधार गर्ने अवसर छ । प्रचण्ड र ओलीबीच भेटघाट हुने, कुरा नमिल्ने, खटपट पर्ने, फेरि भेट्ने, छलफल चल्दै छ भन्ने जस्तो अनुत्पादक अराजनीतिक खेतीले अब केही हुनेवाला छैन । संसद्को शक्तिअनुसार यो इतिहासकै स्थिर सरकार हो, त्यसैले ओलीजीले अब सपना बाँड्न छोडेर काम देखाउन थाल्नुपर्छ ।

० तपाईंको विचारमा के काम गऱ्यो भने ‘सरकारले काम गऱ्यो है’ भन्ने अवस्था आउला ?
– मेलम्ची आयोजना तत्काल पूरा गर्नेतिर सरकार लागिपरोस्, वाइडबडी प्रकरणमा को दोषी छ भनी आग्रहरहित ढङ्गले जाँच गरी जनतालाई तथ्य जानकारी गराइदिने र दोषीलाई कारबाही गर्ने कदम चालियोस्, निर्मला हत्याकाण्डले पनि नागरिकको मन–मस्तिष्क खलबल्याइदिएको छ– यसलाई पनि गम्भीरताका साथ छानबिन गरेर तथ्य सार्वजनिक गरियोस् । विवादित विधेयकहरू फिर्ता लिएर सरोकारवालासँग पूर्वाग्रहरहित भई स्वस्थ छलफल अघि बढाइयोस् । यत्ति दुई–चार कुरामा स्पष्ट नतिजा दिन सक्ने हो भने सरकारले पहिलो खुड्किलो पार गर्नेछ र जनता पनि सबै कुरा बिर्सेर निकै खुसी हुनेछन् । यसो भएपछि अगाडिको बाटो तय गर्न सरकारलाई जोस र आत्मविश्वास पैदा हुनेछ । विरोधीका स्वर स्वतः मत्थर हुनेछन् । सरकारप्रति उठेको विश्वास पुनः कायम हुनेछ । यहीँनेर म थप के पनि भन्न चाहन्छु भने विप्लवको पार्टीलाई ‘पार्टी’को मान्यता नदिएर प्रतिबन्ध लगाउने निर्णय पनि ओली सरकार स्वस्थ ढङ्गले अघि बढ्ने सवालमा बाधक बन्न सक्छ । विप्लवहरूप्रतिको रवैयामा पुनर्विचार गरेर राजनीतिक ढङ्गको व्यवहार गरिनुपर्छ ।

० विप्लव–नेतृत्वको पार्टीसम्बन्धी विषयलाई लिएर तपाईं र डा. सुरेन्द्र केसीले प्रधानमन्त्रीसँग भेट पनि गर्नुभयो, केपी ओलीबाट कस्तो प्रतिक्रिया पाउनुभयो ?
– यसबारे सबै कुरा त खुलस्त गर्न नमिल्ला, तर प्रधानमन्त्रीले हाम्रा कुरा धैर्यसाथ सुन्नुभयो । सरकारलाई विप्लवजीका गतिविधिबारे पर्याप्त जानकारी रहेको, उहाँहरू को कहाँ छन्, के गरिरहेछन् भन्ने सबै रिपोर्ट सुरक्षा निकायलाई प्राप्त भइरहेको दाबी गर्ने उहाँले सरकारसँग अविलम्ब वार्ता गर्न विप्लवहरूले अग्रसरता देखाउनुपर्ने तर्क गर्नुभयो । यही सन्देश पुऱ्याइदिन आग्रह गर्नुभयो । विप्लवको पार्टीका नेतृत्वमाथि कुनै किसिमको हानि नपुऱ्याउन आफूले सुरक्षा निकायलाई निर्देशन दिएको खुलासा पनि उहाँले गर्नुभयो र वार्तामा चाँडो नआउँदा विभिन्न दुर्घटना निम्तिन सक्ने आशङ्का पनि प्रकट गर्नुभयो । विस्फोटलगायतका विध्वंशात्मक गतिविधिचाहिँ पूरै बन्द गर्नुपर्ने आग्रह पनि ओलीजीको रह्यो ।

० केपी ओलीले आफ्नै पार्टीबाट आवश्यक साथ–सहयोग पाएनन्, यसले गर्दा सरकारको पर्फर्मेन्समा असर पारेको छ पनि भनिन्छ, तपाईंलाई के लाग्छ ?
– यो कुरा निकै हदसम्म तथ्यसङ्गत लाग्छ मलाई । पार्टी मिलेको भनिएको छ, तर प्रचण्डजीको आफ्नै लालसा छ, माधवकुमारलगायतका नेताहरू पनि आ–आफ्नै राजनीतिक चालमा देखिँदै छन् । त्यसो त केपी ओलीमाथि पनि महत्वपूर्ण मुद्दाहरूमा पार्टीका साथीहरूसँग सल्लाह नगर्ने गरेको, सबैलाई विश्वासमा लिएर अघि बढ्न जे–जति प्रयास गर्नुपर्ने थियो त्यो नगरेको भन्ने आक्षेप छ । यो पनि पूरै बढाइचढाई नभई केही न केही त सत्य नै हो भन्ने लाग्छ मलाई । नेकपाभित्रका नारायणकाजी श्रेष्ठजस्ता बुद्धि–विवेक भएका, बुझेका, शालीन, निस्वार्थी पात्र पनि छन्, यस्ता व्यक्तिको सल्लाह र साथ लिएर अघि बढ्ने सवालमा केपीजीले कमजोरी देखाइरहनुभएको मेरो बुझाइ छ । व्यक्तिकेन्द्रित कुरा भयो भन्ने नलागोस्– म के दाबी गर्न सक्छु भने नारायणकाजीको सुझाव–सल्लाहलाई गम्भीरताका साथ लिएर अघि बढ्ने हो भने ओलीजीको पार्टी र सरकारको पर्फर्मेन्समा निकै सकारात्मक बदलाव आउन सक्छ ।

० सरकारले गुठी विधेयक अघिसार्नुको तात्पर्य के होला भन्ने लाग्छ तपाईंलाई ?
– यो कुरा कहीँ न कहीँ ‘होली वाइन’ प्रकरणसँग जोडिन पुग्छ भन्ने मेरो बुझाइ र विश्वास छ । जानाजान गरेको नभई यसमा केपी ओलीलाई फसाइयो भन्ने लाग्छ । विश्वभर नै के पाइन्छ भने कम्युनिस्ट पार्टीभित्र इसाईहरू बडो गुप्त किसिमबाट प्रवेश गर्दारहेछन् । ‘वेस्टर्न पावर’हरूले त्यसैलाई माध्यम बनाएर भित्र छिर्दारहेछन् । धार्मिक आवरणमा छिर्ने र कामचाहिँ ‘राजनीतिक’ गर्ने । माओवादी आन्दोलनको बेला गाई काट्ने, मन्दिरहरूमा पिसाब फेर्ने, मठ–गुम्बा भत्काउने दुष्कर्म यस्तै तत्वका कारण भएको हो । पार्टीभित्रका केहीलाई प्रभावमा पारेर सबै नेतालाई थाहा नै नहुने गरी यस्ता कर्म गरिँदारहेछन् । एमाले, माओवादीमा पनि कैयन शीर्षस्थ नेताहरू त उहिल्यैदेखि ‘इसाई’ नै रहेछन् । बेला न कुबेला विचार नै नगरी गुठी विधेयक ल्याउनमा पनि त्यस्तैहरूले भूमिका निर्वाह गरेका हुन् । ढकालसँग साउथ कोरिया भ्रमण गर्ने नेताहरूको तार यसमा कहीँ न कहीँ जोडिएको हुनुपर्छ । कम्युनिस्टले त प्रवद्र्धन गर्नुपर्ने कुरा हो गुठी, तर मुलुकको धर्म, संस्कृति समूल नास गर्ने उद्देश्यबाट प्रेरित यस्तो कदममा ओलीजी कसरी सहमत हुन सक्नुभयो ? मलाई आश्चर्य लागिरहेको छ ।

० फलफूल र तरकारीमा विषादी परीक्षणको मामला यतिबेला चर्कोसँग उठेको छ, यसबारे तपाईंको धारणा के होला ?
– राष्ट्रवादी बन्न भारतको विरोध गर्नैपर्ने परम्परा जो छ, यसमा पनि यो कुरा लागू हुन्छ । यताबाट पठाइने सामानमा उताबाट चेक गरिन्छ भने उताबाट आउनेमा पनि आफूले गर्नुपऱ्योयो नि ! डफ्फाका डफ्फा लिई विदेश भ्रमण गरर लाखौँ खर्च गर्ने, उच्च ओहोदावालहरूलाई करोडौँको गाडी, हेलिकोप्टर किन्न सक्ने, कमिसनकै लागि अर्बौंको विमान किनेर रुट नपाई त्यसै थन्क्याउन सक्ने, तर दुई–चार करोड खर्च गरेर विषादी परीक्षणको ल्याब्रोटरी खोल्न नसक्ने, अनि फलानोले विष पठायो, मार्न लाग्यो भनेर गाली गर्ने ? त्यो मोदी या कुनै लालुप्रसादले पठाएको त होइन नि ! व्यवसायीले उत्पादन गर्छ, व्यापारीले पठाउँछ, यताका व्यापारीले खरिद गरेर ल्याउँछन् । यो व्यापारको कुरा हो । नाकामा रोकिदिएपछि दुवैतर्फका व्यापारीले दुवैतिर दबाब दिए । रोकिएको सामान पुनः चालू भयो । छोटोमा बुझ्नुपर्दा कुरा यत्ति हो । यसमा विरोध गर्नेहरू आफ्नै अर्गानिक खेतीतर्फ लाग्नुपऱ्यो, खेतीयोग्य जमिनमा प्लटिङ गर्न छोड्नुपऱ्यो । यसका लागि सरकारले पनि स्पष्ट नीति लागू गर्नुपऱ्यो । भारतबाट खाद्य–सामग्री, तरकारी र फलफूल झिकाउने ? आफ्नै उत्पादन गरेर खाऔँ न ! त्यताको खरिद नगरेर त्यतै सडाइदिऔँ र हाम्रो शक्ति देखाइदिऊँ न ! लफडा नै साफ !