सकिनँ शुभकामना दिन

सकिनँ शुभकामना दिन


■ स्वयम्भुनाथ कार्की

तिमी राजा म जनता
शक्ति प्रवाह हुने तिम्रो र मेरो मिलनले
विजुलीको दुई ध्रुव जस्तै
चुम्बकको उत्तर र दक्षिण जस्तै
झरनाको शिर र तलाउ जस्तै

जब तिम्रो र मेरो मिलन हुन्छ
यो राष्ट्रले शिर ठाडो पार्छ
चन्द्रसूर्य झण्डाले विश्व जगमगाउँछ

तर

तिमी त्यहीँ थाकेर पाकेर बस्यौ
म यहाँबाट उफ्रँदा पनि तिमीलाई भेटिनँ
मवेगर तिमी निरर्थक छौ
तिमीवेगर मेरो बल छैन
अनि हामीविना राष्ट्रको रोदन
लाग्छ अब त आँसु पनि सुक्यो

त्यसैले,

मैले तिमीलाई शुभकामना दिन सकिनँ
बुढो हुँदै गएको तिम्रो शरिरको जन्मदिन
दुई शब्द मंगलचरण बोल्न कञ्जुसी गरेँ
किनभने, तिम्रो मेरो संगम नभए
न तिम्रो जन्मको अर्थ छ, न मेर‍ो जन्मको
जब हामीले मातृभूमिको आँसु पुछ्न सकेनौँ भने
के अर्थ रह्यो ओठे शुभकामनाको
जीवन रहे अर्कोपल्ट हाम्रो मिलन होला
शुभकामना भनौँला
हाम्री मातृभूमि हर्षविभोर होलिन् !

सपना नै सही
यही सपनाले आशा जगाउनेछ
त्यसैले यो जन्मदिन
मेरो शुभकामनावेगर
एक्लै मनाउ, मेरो राजा

सकिनँ मैले शुभकामना दिन