जलविद्युत आयोजनामा मौलायो गुण्डाराज, स्थानीयले गरे तोडफोड

जलविद्युत आयोजनामा मौलायो गुण्डाराज, स्थानीयले गरे तोडफोड


स्थानीयबासीेले जलविद्युत आयोजनाको संरचना तोडफोड गरेका छन् । सुदूरपश्चिम प्रदेशमा निर्माणाधीन तीन जलविद्युत आयोजनामा स्थानीयले तोडफोड गरेका हुन् ।

स्थानीय एक व्यक्तिको मृत्युमा आयोजनाको कामदार संलग्न रहेको आरोप लगाउँदै उत्तेजित भीड तोडफोडमा उत्रिएको आयोजनाले जनाएको छ । बझाङको बुंगल नगरपालिकामा गत असार १६ गते ललिता धामीको मृत्यु भएको थियो । सोही मृत्युमा सानिगाड हाइड्रो डोजर चलाउने एक कर्मचारी संलग्न रहेको स्थानीयले आरोप लगाएका छन् । यसैलाई कारण बनाएर निर्माणाधीन माथिल्लो कालंगागाड, कालंगा र सानीगाडमा तोडफोड गरिएको आयोजनाले जनाएको छ ।

धामीको मृत्युलाई लिएर असार २० गते बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म आयोजनास्थलमा रहेका गाडीहरू, निर्माण सामग्री, गोदाम, स्टोर, आवासगृहमा तोडफोड गरिएको बताइएको छ । ठेकेदार सुनाम इन्फ्रास्ट्रक्चरका निर्माण सामग्री तथा आयोजनाका भौतिक संरचना, कार्यालय, उपकरण, क्याम्पलगायतमा क्षति पुगेको जनाइएको छ ।

जलविद्युत विकासमा गलत मनसाय राखी तोडफोड गरिएको भन्दै सानिगाड, कालंगा र बुंगल हाइड्रो प्रालिले विज्ञप्ति निकालेर आपत्ति जनाएका छन् । गलत क्रियाकलापमा संलग्नलाई हदैसम्मको कारबाही गरी तोडफोडको क्षतिपूर्ति माग गरिएको छ । जिल्लाको बुंगल नगरपालिका तथा बित्थडचिर गाउँपालिकामा ३८.४६ मेगावाटको माथिल्लो कालंगागाड, १५.३३ मेगावाटको कालंगा र १०.७० मेगावाटको सानिगाड निर्माण भइरहेका छन् । स्थानीयले तोडफोड गर्दा ३ वटै आयोजनामा १५ करोड रुपैयाँबराबरको क्षति पुगेको प्रवद्र्धकहरूको दाबी छ ।
[gview file=”https://ghatanarabichar.com/wp-content/uploads/2019/07/Press-Release.pdf”]