प्रवासी नेपालीहरूको चित्त यसरी दुखायो जात्रै जात्राले





■ राजन घिमिरे

कुनै समय ‘सपना’सरह थियो, प्रवासमा नेपाली सिनेमाको प्रदर्शन । प्रवासमा नेपाली सिनेमा प्रदर्शनका लागि कुनै समय प्रवासीहरू समेत अनवरत लागिपरेका थिए । नेपालका सीमित दर्शक र सीमित पहुँचमा रूमल्लीरहेको नेपाली सिनेमाको पहुँच र उपस्थिति विदेशमा पुऱ्याउन सक्नुमा प्रवासमा रहेका नेपाली चलचित्र प्रदर्शक वा वितरकहरूको योगदानलाई नेपाली चलचित्रका निर्माता, निर्देशक र कलाकारहरूले भुल्नु मिल्दैन ।

नेपाली चलचित्रको प्रवास–प्रदर्शनलाई यतिबेला नेपाली चलचित्र निर्माताहरूले बलियो कमाई र आयस्रोतको रूपमा लिन थालेका छन् । विदेशी भूमिमा नेपाली सिनेमाको प्रदर्शनलाई सफलताको चुलीमा पुऱ्याउन प्रवासमा रहेर लागिपरेका नेपालीहरूको लगा, मिहेनत र संलग्नताले आज साँच्चै विदेशबाट राम्रो चलचित्रले नेपाली एक करोड़भन्दा माथिको ब्यापार गर्ने गरेको छ । प्रवासमा नेपाली सिनेमाको यो हैसियत बनाएका हुन् प्रवासी नेपाली दर्शक र त्यहाँ रहेका नेपाली चलचित्रका वितरकहरूले । करोड रकम भनेको हालको हिसाबले लगभग एउटा नेपाली सिनेमाको लगानी हो ।

लगानी नै उठ्ने गरी ब्यापार हुने नेपाली सिनेमाको प्रवासको यस तहको ब्यापार गर्न सक्ने दक्षता बोकेका प्रवासी चलचित्र वितरकहरूलाई अवमूल्यन गर्न मिल्छ ? कुनैबेलाको सपना आज विपनामा परिणत भएपछि विगत चट्क्कै बिर्सने ? जोखिम उठाई–उठाई, काम छोडी–छोडी प्रवासमा नेपाली सिनेमाको बजार विस्तार गर्न र धेरथोर रकम निर्मातालाई पठाउन महत्वपूर्ण भूमिका खेल्ने वितरक र दर्शकहरूको कुनै कÞदर नै नगर्ने ?

नेपालमा सिनेमा नै निर्माण नभइकन, चर्चा र ओजनबिना नै जोखिम उठाएर प्रवासमा रहेका चलचित्र वितरकहरूले सिनेमा किन्ने गरेका छन् । यो विसुद्ध नेपाली सिनेमाप्रति उनीहरूले दर्शाएको सदभाव, माया र साथ नै हो । नेपाली सिनेमा विदेशमा चलाएर प्रवासी वितरकहरूले लाखौँ–करोडौँ कमाउने सपना पनि देखेका छैनन् र देख्दैनन् पनि । प्रवासमा नेपाली सिनेमा चलाउने भनेको सम्बन्ध, नेपाली सिनेमाको माया र साथ नै कारण हुन् । प्रवासमा जोखिम उठाई–उठाई फिल्म चलाउने कसलेचाहिँ कमाएको छ र ? बरू घाटा खाई–खाई भए पनि प्रवासबाट नेपालमा निर्मातालाई रकम पठाएका छन् उनीहरूले । लाखौंको जोखिम उठाई–उठाई प्रवासमा फिल्म किन्नु भनेको नेपाली सिनेमाप्रतिको माया र साथ नै हो ।

प्रवासमा नेपाली सिनेमाको लागि यसरी लागि पर्ने र मरिमेट्ने प्रवासी नेपालीहरूको भावना र हृदयमा त्यतिबेला चोट पर्न जान्छ, जब नेपालमा त्यो चलचित्रले सफलताको खुशी साट्दा र कार्यक्रमको आयोजना गर्दा आयोजकले प्रवासी दर्शक र चलचित्र वितरकको नाम लिनसम्म कन्जुस्याइँ गर्छन् । खोला तरेपछि लौरो बिर्सने ? बाढी त अर्कों वर्ष पनि आउँछ नि होइन र ? नेपालमा दुई लाख ब्यापार गर्ने हल सञ्चालकलाई स्टेजमा बोलाएर सम्मान दिन सक्नेले प्रवासबाट करोडौँ पठाउनेको नामसम्म पनि लिन आवश्यक नठानेको सन्दर्भ यतिबेला सम्बन्धित क्षेत्रमा चर्चामा छ, र यो विषय उठाइएको हो ।

प्रसङ्ग, विषय र सन्दर्भ चलचित्र जात्रै जात्राको हो । यो चलचित्रले काठमाडौंको सोल्टी होटलमा सफलताको ५१औं दिन मनाएर खुशी बाँडिरहँदा उता अष्ट्रेलियामा चलचित्र जात्रै जात्रा हेर्नका लागि दर्शकहरूलाई आग्रह गर्दै यो चलचित्रको अष्ट्रेलिया वितरक ‘हो र होइन होला इभेन्टस’ र ‘पप अप इन्टरटेनमेन्ट‘ दौडधुप गरिरहेका थिए । नेपालमा रक्सीको सिसी चियर्स गरेर ठोक्किँदा अष्ट्रेलियामा यो चलचित्र वितरकहरू टिकट बेचिरहेका थिए । अष्ट्रेलियामा ऐतिहासिक सफलता, यति शो चल्यो, उती शो चल्यो भनेर त्यही कुरा भजाउँदै अन्य मुलुकतिर पनि यो सिनेमाले आफ्नो बजार बिस्तार गर्ने मौका पायो ।

यसरी अष्ट्रेलियामा दुःख गर्दै वितरकहरूले उक्त सिनेमाको ऊचाई बढ़ाए तर विडम्बना ! त्यत्रो खुशीको क्षणमा जात्रै जात्राको समूहले न त अष्ट्रेलियाका वितरकहरूको नाम लिए न अन्य देशका वितरक र प्रवासी दर्शकहरूलाई धन्यवाद नै दिए । नेपालका वितरकप्रति नतमस्तक हुनेहरूले प्रवासका वितरकको नाम लिनु पर्दैन ? उनीहरूको मिहेनत र दुःखको चर्चा गर्नु पर्दैन ? यत्रो उत्कृष्ट सिनेमा बनाएर वाहवाही पाएको जात्रै जात्राको समूहबाट यस्तो ब्यवहार सुहाउँछ ? नेपालमा कार्यक्रम गर्दा प्रवासमा बस्ने उहाँहरू आउन सक्नुहुन्न, रात्रीभोज र कक्टेलको लोभ पनि छैन उहाँहरूलाई । उहाँहरूलाई आश छ त सम्मान र सम्बोधनको अनि मूल्याङ्कनको । एउटा अविष्मरणीय र उल्लेखनीय कार्यक्रममा नाम समेत उच्चारण नगर्दा साँच्चै प्रवासी दर्शक र प्रवासी चलचित्र वितरकहरूको मन कुँडिएको छ ।

प्रतिक्रिया