नेपाली उपभोक्ता विष मिसाइएको तरकारी खान बाध्य, सरकार बेखबर

नेपाली उपभोक्ता विष मिसाइएको तरकारी खान बाध्य, सरकार बेखबर


–छविलाल बगाले
नेपाली बजारमा भारतीय तरकारीको विगबिगी छ । सफा र आकर्षक देखेपछि उपभोक्ताको रोजाईमा तिनै तरकारी पर्ने गरेको छ । जुन स्वास्थ्यका लागि हानिकारक भएको कृषि विज्ञ बताउँछन् । तर यसप्रति सरकार गम्भिर नभएको उपभोक्ताको गुनासो छ ।

भारतबाट नेपाल भित्रिने ९० प्रतिशत तरकारीमा विषादी रहेको विभिन्न अनुसन्धानले देखाएको छ । विषादीयुक्त तरकारी अत्याधिक मात्रमा रासायनिक मल र विषादी हालेर उत्पादन गरिन्छ । कृषि विज्ञहरु पनि भान्सामा विषादी लगेर परिवारलाई सिधै नखुवाउन गृहणीहरुलाई सुझाव दिन्छन् । हेर्दा आकर्षक र स्वच्छ देखिएपनि त्यस्ता तरकारीमा विषादीको प्रयोग बढि हुने प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख डा. डिल्लीराम शर्मा बताउँछन् । उनका अनुसार कालिमाटी तरकारी बजारमा आउने अधिकांश तरकारी भारतबाटै आउने गर्दछन् । ‘भारतबाट आउने तरकारी सस्तो हुने भएपछि उपभोक्ताको रोजाइँमा पनि भारतीय तरकारी नै पर्ने गरेको छ ।’ उनले भने, ‘विशेषगरी गोलभेंडा, भेन्टा, काँक्रो, करेला र घिरौला, लामो बोडीमा बढि विषादीको प्रयोग हुन्छ ।’

कालिमाटी तरकारी बजारका व्यापारी पनि भारतबाट आउने तरकारी एकैदिनमा कुहिने बताउँछन् । एकै दिनमा ढुसी आउने, पानी बग्ने समस्या देखिएमा त्यसता तरकारीमा विषादी प्रयोग भएको अनुमान लगाउन सकिने व्यापारीको तर्क छ । नकुहिएको, सर्लक्क परेको र चिल्लो फलफूल तथा तरकारीमा बढि विषादी भएकोले धारामा पखालेर, नुनपानीमा डुबाएर र बोक्रा तासेर सेवन गर्नुपर्ने सुृझाव कृषि विज्ञ समेत रहेका डा. शर्माको भनाई छ ।

अहिले मुलुकभर ७ स्थानमा विषादी व्यवस्थापन केन्द्रको स्थापना गरिएको छ । तर केन्द्रले काम नगर्दा उपभोक्ता विष सेवन गर्न बाध्य छन् । कृषि क्षेत्रका प्राविधिक पनि फलफूल र तरकारी सेवन गर्दा केही समय नुन पानीमा डुबाएर सेवन गर्न सल्लाह दिन्छन् । कालिमाटी तरकारी बजारमा रहेको विषादी परीक्षण केन्द्रका जागेश्वर शर्मा पनि तरकारी र फलफूलमा विषादी प्रयोग भएको स्विकार गर्छन् । उनका अनुसार किसानले ख्यालै नगरी विषादी छर्किदाँ ग्याष्ट्रिक, अल्सर, बाँझोपन, ब्लड प्रेसर, मधुमेहदेखि ‘जिन क्यान्सर’को जोखिम बढि हुने गर्छ । सरकारले मानव स्वास्थ्यका विषयमा खेलबाड गर्दा उपभोक्ताको स्वास्थ्य गम्भिर बन्दै गएको छ ।

विगत लामो समयदेखि भारतबाट अत्याधिक विषादी मिसाइएको तरकारी आइरहे पनि सरकारले विषादी परीक्षण गर्ने निर्णय गरेको थियो । तर सरकारको त्यो निर्णय लामो समयसम्म भने टिक्न नसकेको कृषि विज्ञहरु बताउँछन् । भारतको दबाबपछि शुक्रबार पूर्वाधार नपुगेको भन्दै सरकारले विषादी परीक्षणको काम स्थगित गरिदियो । जसका कारण आम उपभोक्ताले त्यसको खुलेर विरोध गरिरहेका छन् । सुरुमा सरकारको साहसिक कदम भन्ने सरोकारवाला निकाय सरकारको पछिल्लो निर्णयप्रति भने सन्तुष्ट छैनन् । कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयको ‘साहसिक कदम’लाई कार्यान्वयन गर्न नसक्नुले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार पुन: आलोचनाको शिकार बन्न पुगेको छ ।

प्रधानमन्त्री ओलीको असक्षमताप्रति सत्तापक्षका साँसदहरु नै विरोधमा उत्रिएका छन् । उनिहरुले ओली नेतृत्वको सरकार विदेशीको इशारामा चलेको आरोप लगाउन थालेका छन् । नेकपाका बैठकमा सांसद घनश्याम भुसालले सरकारले पछिल्लो समयमा सीमा नाकामा राखेको विषादी परीक्षण गर्ने निर्णय फिर्ता लिएको विषयमा ध्यानाकर्षण गराइएको जानकारी दिए । यस्तै, नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले नाका क्षेत्रमा जाँच गर्ने यन्त्र, दक्ष जनशक्तिसहित सरकारले व्यवस्था गर्नुपर्ने बताए । उनले कसैको दबाबसामु झुक्नुपर्ने जरुरी नरहेको भन्दै उनले हतारमा निणर्य गरेर फिर्ता लिनुभन्दा सोचविचार गरेर मात्र निणर्य गर्न आग्रह गरे ।