काङ्ग्रेसले शेरबहादुरको विकल्प खोजेको छ : वरिष्ठ नेता पौडेल

काङ्ग्रेसले शेरबहादुरको विकल्प खोजेको छ : वरिष्ठ नेता पौडेल


नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई जीवन्त बनाउन अहिलेको नेतृत्वको विकल्प खोज्नुपर्ने बताएका छन् । नेपाल शिक्षक सङ्घ प्रदेश नं ३ प्रथम प्रदेश प्रतिनिधिसभाको रत्ननगरमा उद्घाटन गर्दै उहाँले पार्टी सभापति शेरबहादुर देउवाको विकल्प काङ्ग्रेसले खोजेको बताए ।

पौडेलले अहिले आम नागरिकले सरकारको नेतृत्वको र काङ्ग्रेसले पार्टीको नेतृत्वको विकल्प खोजेको बताए । पार्टीभित्र समयमा नै निर्वाचन गरेर पार्टीलाई जीवन्त बनाउन नेतृत्वको खोजी गर्नुपर्ने समय आएको पौडेलको भनाइ थियो । पार्टीका कार्यकर्तामा नैरस्यता छाएको भन्दै उनले समयमै महाधिवेशन गरेर नेतृत्व परिवर्तनको आवश्यकता भएको प्रष्ट्याए ।

नेपालमा समृद्धि काङ्ग्रेसले नै दिनसक्ने भएकाले आम जनताको चाहना काङ्ग्रेसको नेतृत्व देख्ने रहेको पौडेलको भनाइ थियो । उनले शैक्षिक पाठ्यक्रममा सुधारको आवश्यकता रहेको धारणा राखे । देश बनाउने जिम्मेवारी शिक्षा क्षेत्रबाट शुरु हुने भन्दै अहिलेको पाठ्यक्रममा सुधारको आवश्यकता छ भने ।

प्रदेश नं ३ का सामाजिक विकासमन्त्री युवराज दुलाल, नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डे, शिव हुमागाईँ, सङ्घका सङ्घीय अध्यक्ष राजेन्द्रराज पौडेल, महासचिव सोमनाथ गिरी, संस्थापक अध्यक्ष देवेन्द्रप्रसाद उपाध्याय, पूर्वअध्यक्ष मोहन ज्ञवाली, नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठलगायतले धारणा राखेका थिए ।

शनिबारसम्म चल्ने सभामा सङ्घको प्रदेश नं ३ का १३ जिल्लाका जिल्ला कार्यसमिति पदाधिकारी, प्रदेश तथा सङ्घीय प्रतिनिधि, पूर्व तथा निवर्तमान अध्यक्ष तथा जिल्लाका स्थानीय तहमा प्रतिनिधिको सहभागिता रहेको सङ्घका जिल्ला अध्यक्ष डा हरि कँडेलले जानकारी दिए ।